सेयर बजार खोल्न माग

सेयर बजार खोल्न माग

काठमाडौं : सरकारले बन्दाबन्दी घोषणा गरेपछि तुरुन्तै सेयर बजार बन्द गराउन दवाव दिएका लगानीकर्ताले अब भने खुलाउन दवाव बढाएका छन्। लगानीकर्ताका नाममा खुलेका विभिन्न संघसंस्थाका प्रतिनिधि र ठूला सेयर ब्यापारीले अब बजार खुलाउनुपर्ने भन्दै विभिन्न निकायका अधिकारीसँग छलफल थालेका हुन्।

पछिल्लो समय विदेशी सेयर बजार उच्च गिरावटपछि क्रमशः पुरानै लयमा फर्किन थालेका छन्। कोरोना संक्रमणयता ऐतिहासिक गिरावट भोगेका विश्वका प्रमुख सेयर बजार अहिले २० देखि ५० प्रतिशतसम्म पुनरभरण भइसकेका छन्। यसले नेपाली सेयर ब्यापारीलाई लोभ्याएको एक ब्रोकर बताउँछन्। ‘उतिबेला बन्द गर्नु पर्छ भनेर दवाव दिनेहरू नै अहिलेसम्म ठूलो कमाइ भइसक्ने रहेछ भन्न थालेका छन्’, एक ब्र्रोकर भन्छन्।

चैत दोस्रो सातादेखि मानिसलाई घरबाहिर ननिस्कन भन्दै सरकारले बन्दाबन्दी घोषणा गरेपछि नेपाल धितोपत्र बोर्डले १० चैतबाट सेयर बजार बन्द गर्न निर्देशन दिएको थियो। त्यसै अनुसार बन्द भएको सेयर बजारमा ९ चैतमा कारोबार भएको सेयरको राफसाफ अहिलेसम्म हुन सकेको छैन। तर, यसबीचमा सेयर बजार उकालो लाग्नसक्ने स्वभाविक संकेत देखिएको लगानीकर्ता बताउँछन्।

पछिल्लो समय बैंकहरूले धमाधम ब्याजदर घटाउन थालेका छन्। सस्तोमा ऋण दिने व्यवस्था हुन लागेपछि पनि तत्कालै उत्पादनशील परियोजनामा लगानी गर्ने सम्भावना भने लगभग शून्य भएको व्यवसायी बताउँछन्। धेरैजसो ठूला व्यवसायी अहिले पर्यटन पूर्वाधारमा लगानी गर्न थालेका थिए। त्यसमा समस्या भएपछि ठूला ब्यापारिक संगठन नै अहिले कृषिको नाममा सस्तो ब्याजको पैसा पाउनुपर्ने लबिङ गर्न थालेका छन्।

यसरी ब्याजदर सस्तिएको र लगानी गर्ने अन्य विकल्प साँघुरिएको बेला सेयर बजार निकै आकर्षक गन्तब्य हुनसक्ने देखिएको लगानीकर्ता बताउँछन्। ‘अहिले ठूला ब्यापारी कालो धनलाई बैंकिङ प्रणालीमा भिœयाउन प्रयत्न गरिरहेका छन्’, एक ब्र्रोकर भन्छन्, ‘त्यसका लागि पनि सेयर बजार खुलाउँदा सजिलो पर्ने उनीहरूको अनुमान हुनसक्छ।’

उनले व्यवसायीले संस्थागत रूपमै सम्पत्ती शुद्घिकरणसम्बन्धी विद्यमान कानुनी व्यवस्था खुकुलो पार्न सरकारलाई आग्रह गर्न थालेका घटनासँग सेयर बजारलाई पनि जोडेर हेर्नुपर्ने बताए। केही दिनअघि बैंक तथा वित्तीय संस्थाका सञ्चालकको एउटा संस्थाले सम्पत्ती शुद्घिकरणका व्यवस्था खुकुल्याउन माग गर्दै प्रेषित गरेको विज्ञप्तिमा सेयर बजारसम्बन्धी विषय पनि उल्लेख थियो।

ब्रोकरहरू पनि यति लामो अवधिसम्म बजार बन्द गर्नु पर्छ भन्ने सोचिएको भए सुरुमै वैकल्पिक बाटो अपनाउने तिर लागिने बताउँछन्। ‘उतिबेला १० दिनपछि खुलिहाल्छ, अहिले किन जोखिम लिने भन्ने बुझाइ भयो’, स्टक ब्रोकर्स एसोसिएसन अध्यक्ष भरत रानाभाट भन्छन्। उनले आगामी २५ गतेपछि भने बजार खोल्नेबारे छलफल गर्ने बताए।

सम्भवतः आइतबार सरोकारवाला पक्षको बैठक बसेर २५ गतेपछि बजार खोल्ने कि नखोल्ने भन्ने छलफल हुने रानाभाट बताउँछन्। ‘ब्रोकरहरूलाई ३३ जिल्लाबाट कम्तीमा ७० जना कर्मचारी काठमाडौं ल्याउनुपर्नेछ। हामीले (गत) शुक्रबार नै ती कर्मचारीको विवरण नेप्सेमा बुझाइसकेका छौं’, उनले भने, ‘उपत्यकामा एउटा ब्रोकरका ५ जना कर्मचारीको दरले पासको व्यवस्था भए हामी काम गर्न सक्छौं।’

त्यस्तै नेप्सेमा ८ देखि १० जना र सीडीएससीमा ७ जना कर्मचारीलाई पास उपलब्ध गराएमा बजार सञ्चालन हुनसक्छ। बन्दाबन्दी सुरु हुनुअघि नै दैनिक ब्यापारको ४५ प्रतिशत अनलाइन कारोबार हुने भएकाले अब सरकारले आंशिक खुलापन अघि सारेमा सेयर बजार खोल्न सकिने सरोकारवालाहरू बताउँछन्।

जोगिए लगानीकर्ता

डेढ महिनाअघि ठूला लगानीकर्ताले नै भारी मात्रामा सम्पत्ती घट्नसक्ने जोखिम औंल्याउँदै दवाव दिएपछि बन्द गरिएको सेयर बजारमा साना लगानीकर्तालाई पनि फाइदा पुगेको छ। ‘त्यसबेला बजार बन्द नगरिएको भए सोझासिधा लगानीकर्ताले ठूलो घाटा व्यहोर्नु पथ्र्यो,’ नेप्सेका एक अधिकारी भन्छन्, ‘तर, अब सबैले सेयर बजारप्रति आशा गर्न थालिसकेका छन्।’

विगतमा पनि केही ठूला र संस्थागत लगानीकर्ताले बजारमा त्रास फैलाएर सबै सेयरको भाउ घटाउने र आफूले किन्ने गरेको नेप्सेका ती अधिकारी सुनाउँछन्। ‘यस्तो सट्टेबाजीको खेल संसारभर नै हुने गर्छ,’ उनले भने, ‘नेपालमा पनि ८० प्रतिशत सेयरको ब्यापार त्यस्तै प्रवृत्तिमा हुने गरेको थियो।’ तर, अब सामान्य मानिसले पनि बाह्य बजारको प्रवृत्ति, नेपालमा लगानीको सम्भावना, घट्दो ब्याजदरजस्ता पक्षलाई केलाउन थालिसकेका छन्। यसले गर्दा अबका दिन बजार खोल्दा पनि साना लगानीकर्तामा अत्यधिक ‘पेनिकनेस’ नहुने उनी बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.