रेडियोबाट पढाइ, रेडियोबाटै नतिजा

रेडियोबाट पढाइ,  रेडियोबाटै नतिजा

धादिङ : शैक्षिक सत्र २०७६ को अन्त्य हुनैलाग्दा कोरोना भाइरस संक्रमणको त्रास बढेपछि देशभर लकडाउन घोषणा गरियो। लकडाउन घोषणाअघि हतार–हतारमा कक्षा १ देखि ९ सम्मको परीक्षा सकाइयो भने एसईई परीक्षा स्थगित भयो। एसईई कहिले सञ्चालन हुने हो टुंगो छैन।

परीक्षा सकिनासाथ बन्द भएका कतिपय विद्यालयहरूले गत शैक्षिकसत्रको नतिजा पनि प्रकाशन गर्न सकेका छैनन्। यहीबीचमा धादिङका केही स्थानीय तह र सामुदायिक रेडियोहरूले भने रेडियोबाटै परीक्षा तयारी कक्षा सञ्चालन तथा गत शैक्षिक सत्रको नजिता प्रकाशन गर्न थालेका छन्। सरकारले लकडाउन गरेसँगै भीडभाड हुने कुनै पनि क्रियाकलाप गर्न प्रतिबन्ध लगाएपछि ठप्प भएको शैक्षिक गतिविधिहरू भने हिजोआज फाट्टफुट्ट रूपमा रेडियोमार्फत हुने थालेको छ।

धादिङको थाक्रे गाउँपालिकाले स्थानीय सामुदायिक रेडियोमार्फत एसईई तयारी कक्षा सञ्चालन गरिरहेको छ। त्यस्तै जिल्ला सदरमुकाम धादिङवेशीमा रहेको सामुदायिक रेडियो ‘रेडियो धादिङ’ले पनि आफ्नै पहलमा दिनमा ५ घण्टासम्म रेडियोबाट परीक्षालाई उपयोगी हुने खालको कक्षा सञ्चालन गरिरहेको छ। एसईई परीक्षाको तयारीलाई निरन्तरता दिँदै लकडाउनको समयमा पनि अध्ययन गर्ने बानीलाई थप प्रोत्साहित गर्न, परीक्षाको मिति कुरेर बसेका विद्यार्थीको पढाइलाई फाइदा पुगोस भन्ने उद्देश्यले परीक्षा तयारी कक्षा सञ्चालन गरेको रेडियो धादिङका स्टेसन म्यानेजर राजाराम शर्माले बताए।

रेडियो धादिङबाट अनिवार्य तथा ऐच्छिक गणित, अंग्रेजी, विज्ञान, नेपाली र सामाजिक विषयको कक्षा १० मा अध्यापनरत शिक्षकहरूबाट बिहान र बेलुकाको समयमा पढाइ भइरहेको छ। रेडियोबाट विद्यालयमा पढाएजस्तै गरी नभइ परीक्षाको तयारी गर्दा ध्यान दिनुपर्ने कुराहरू, सम्भावित प्रश्नहरूको विषयमा कक्षा सञ्चालन भइरहेको। ऐच्छिक गणित अध्यापन गराइरहेका शिक्षक उत्तम भट्टले भने, ‘हामीले आफ्नो कुराहरू मात्र राख्ने नभइ पाठ्यपुस्तकका लेखकहरू तथा विज्ञ शिक्षकहरूसँग रेडियो कक्षामै प्रत्यक्ष कुराकानी गरी परीक्षा उपयोगी टिप्सहरू दिइरहेका छौं। विद्यार्थीले कक्षामा एकपटक पढिसकेका विषयवस्तुको रिभिजन गराउने तथा सम्भावित प्रश्नका विषयमा जानकारी दिइरहेका छौं।’

रेडियो धादिङको फेसबुक पेज र अनलाइनबाट पनि एसईई तयारी कक्षा कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालयलाई रेडियोले अनुरोध गरेको छ। विद्यार्थीहरूले नबुझेका कुरा फोन तथा एसएमएस मार्फत सोध्न सक्ने र शिक्षकहरूबाट समाधानमा सहयोग गर्ने व्यवस्था समेत रेडियोले मिलाएको छ। ‘अहिले सबै विद्यार्थीहरू सहर छाडेर गाउँ फर्किएका छन्। जो विद्यार्थीहरू घरमै बसेर पनि परीक्षाको तयारी गरिरहेका छन् उनीहरूलाइ लक्षित गरेर रेडियोबाट कक्षा चलाइरहेका हौँ’, स्टेशन म्यानेजर शर्माले भने, ‘अभिभावकबाट उत्साहजनक प्रतिक्रिया आएको छ।’

त्यस्तै जिल्लाका अधिकांश विद्यालयहरूले अनलाइनमार्फत नै गत शैक्षिक सत्रको नजिता सार्वजनिक गरेका छन्। समाचार साइट तथा फेसवुक पेजमार्फत आफ्ना विद्यालयमा अध्ययरत विद्यार्थीहरूको आगामी शैक्षिक सत्रको लागि कक्षा चढाउने नतिजा सार्वजनिक गरिएको हो। केही विद्यालयहरूले भने रेडियोको समय खरिद गरेर रेडियोबाटै नजिता सार्वजनिक गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.