अस्पतालबाट लकडाउन नियाल्दा

अस्पतालबाट लकडाउन नियाल्दा

काठमाडौं : टिचिङ अस्पताल महाराजगन्ज । न्युरो मेडिसिन वार्डको वेड नं ४५ । दोलखाकी २१ वर्षीया सुस्मा श्रेष्ठ अचेत भएर निदारहेकी छन् । उनको लामो कपाल चिटिक्क बाटिएको छ । अनुहार उज्यालो देखिन्छ । निधारमा सानो टिका लगाएकी छन् । हेर्दा बोल्छिन् होला, गफ गर्छिन् होला जस्तो देखिने उनी नबोलेकै ६ महिना बढी भयो । उनी बस्न सक्दिनन् । घाँटीमा पाइप राखिएको छ । युरो, युरिन लगायतका धेरै समस्यासँग उनी लडिरहेकी छन् । कसैलाई थाहा छैन यो लडाइमा उनी हार्छिन् या जित्छिन् । ६ महिनाको दौडानमा उनी पाँचौ अस्पताल स्वरुप अघिल्लो महिना टिचिङ आइपुगिन् । २४ सै घण्टा उनको सेवामा खटिने उनका श्रीमानलाई उनी पहिलेकै अवस्थामा आइपुग्ने झिनो आशा मात्रै बाँकी छ ।

दोलखाकै स्थानीय अस्पतालमा ६ महिनाअघि सुत्केरी भएकी सुस्मा बच्चा जन्मनासाथ बिरामी परिन । बच्चा गाउँमै छ । प्रसुती गृह, किष्ट मेडिकल हुँदै उनलाई टिचिङ अस्पताल पुर्याइयो । उपचार राम्रै पाएकी छन् तैपनि स्वास्थ्यमा बिसको उन्नाइस परिवर्तन छैन । अस्पताल बाहिर लकडाउन छ । आवत जावत ठप्प प्राय छ । तर उनका श्रीमानलाई लकडाउनको प्रवाह नै छैन । कोरोना संक्रमणबारे हल्ला खल्ला सुने पनि खासै जानकारी छैन । उनलाई त श्रीमतीलाई बचाएर आमा बच्चालाई भेटाउन पाए हुन्थ्यो भन्ने छ ।

झापाकी अमृता खड्का पनि २५ दिनदेखि अस्पतालमै छिन् । उनका बुवा एक्कासी अचेत भएर लडे । हतार हतारमा टिचिङ पुर्‍याइयो । प्रेसरका रोगी उनका बुवा आइसियुमा उपचाररत छन् । अमृतासँगै उनकी आमा पनि छन् । घरिघरि डाक्टरहरुले बोलाइरहन्छन् । कहिले औषधी किन्न दौड्नुपर्छ त कहिले बिरामीलाई आवश्यक चिजबिज यसैले पनि उनीहरु टाढा बस्न मिल्दैन ।

वार्डको अगाडि रहेको कुर्सिमै रात काट्छन् आमाछोरी । आइसियुमा रहेका बिरामीको कुरुवा वार्डमा बस्न पाउँदैनन् त्यसैले वार्ड अगाडिको गल्ली नै उनीहरुको रात काट्ने ठाउँ भएको छ । सिन्धुलीबाट मृगौलाको डाइलाइसिस गराउन आएकी पार्वती हुन् या एक्कासी फेन्ट भएर ७ दिनदेखि होसमा नआएका बुढानिलकण्ठका साजन । या प्रेसरले ब्रेनमा हानेर प्यारलाइसिस भएर इमरजेन्सीमा आएका मकवानपुरका हेमबहादुर हु्न ।  अनेकौँ बिरामीसंगै कुरुवा पनि अस्पतालमै छन् । अस्पतालमा लकडाउन छैन । हरेक वार्डमा भरिभराउ बिरामी छन् । इमरजेन्सीमा त झन नयाँ बिरामीले बेड नै पाउँदैनन् । एकछिन कुर्सीमा बसिसकेपछि कोही बिरामी डिस्चार्ज भए वा वार्डमा सारियो भने मात्रै बेड मिल्छ ।

संसारभर कोरोनाको त्रास भैरहँदा यहाँका डाक्टर एप्रोन र मास्ककै भरमा रातदिन सेवा दिइरहेका छन् । उनीहरुलाई पनि कोरोना भाइरसको डर हुँदो हो । अन्य पेशामा लागेका जस्तो घरमा बस्न संभव नै छैन । नाम नबताउने शर्तमा एक डाक्टर भन्छन्, ‘अहिलेको महामारी नै यस्तो छ, हरेकले हरेकसँग संका गर्नुपर्ने ठाउँ छ । घरबाट निस्कने बेला बुवाआमाले मलिन मुख लाउँदै हेनुहुन्छ । साँझ फर्कंदा छोराछोरी र श्रीमती सशंकित नजरले घेर्छन् । ड्युटी इमर्जेन्सीमा पर्छ प्राय । यहाँ बिरामी आउने जाने भइरहन्छ । गाह्रो भएर आउने हुँदा तुरुन्तै उपचारमा लाग्नुपर्छ । कहाँ कता  के हो सोध्नै पाइँदैन । घरमा गएर सामान्य खोकी लायो, ज्वरो आयो भने पनि कतै कोरोना पो हो कि भनेर डर लाग्छ ।'

कोरोना सन्त्रासले मुलुकमा लकडाउन भएको ४० औँ दिन पुगिसकेको छ । यसबीच अनेकौं कामदारले काम गुमाए, हजारौं मजदुरहरु हप्तौं हिँडेर घर गए । खाना र पैसाको अभावमा हजारौँ गरिवहरु छट्पटिएका छन् । धेरै बेसहारा बनेका छन् ।

चैत १० बाट देशभर लकडाउन भएलगतै शहरमा बस्ने धेरैले आफ्नो गाउँको यात्रा सुरु गरे । काम गर्ने अफिसमा पनि घरबाटै काम प्रणली लागु भएपछि म पनि  पाल्पा पुगेँ । करिव दुई हप्ताअघि कान्छी बहिनीको आँखामा समस्या देखियो । अर्को दिन नै तानसेनमा रहेको पाल्पा लायन्स लाकौल आँखा अस्पताल पुगियो । अस्पतालको गेटबाटै छिर्ने दिएनन्। गेटमा बस्ने सेक्युरिटी दाइलाई बिरामी भित्र नपठाउने आदेश थियो क्यार उनले कसैगर्दा अस्पतालमा छिर्न दिएनन् । प्रेस कार्ड देखाएँ, समस्या सुनाएँ टसको मस भएनन् । केही सीप नलागेपछि त्यहीँ काम गर्ने चिनेको मान्छेलाई फोन लगाएपछि मात्रै अस्पताल छिर्न पाइयो । डा गौचनले आँखाको नसा सुन्निएको र छिटो उपचार नगरे आँखाको दृष्टि गुम्न सक्ने बताउँदै तत्कालै भैरहवा आँखा अस्पताल जाने सल्लाह दिइन् । अस्पतालले रिफर पेपर तयार गरिदियो ।

हताहतार घर आएर भैरहवा जाने निर्णय गर्यौं । चिनेजानेको गाडीले पासको समस्या देखाउँदै जान मानेनन् । लकडाउनले गर्दा एम्बुलेन्स पनि उपलब्ध भएन । गाडीको फर्कंदाको जिम्मा पनि हामीले नै लिन्छौँ भनेसी गाउँकै दाइले भैरहवा लगीदिने भए । संसारभर कोरोनाले आतंक फैलाइरहँदा भैरहवा जानु यसै पनि जोखिम थियो । 

भैरहवा गएर आँखाको नसा हेर्ने डाक्टरलाई भेट्न पठाएकी थिइन् डा गौचनले । करिव २ घण्टामा भैरहवा आँखा अस्पताल पुगियो । डा भेट्न त के गेटबाट  भित्र पस्न पनि गाह्रो पर्यो हामीलाई । रिफर लेटर देखाएपछि इमरजेन्सीमा लगियो । गाउँबाट गएका हामीसँग मेडिकल मास्क थिएन । मास्कविना डाक्टरले जाँचै गरेनन् । नजिकै मेडिकलमा गएर कपडाको मास्क लगाएपछि सामान्य चेकजाच गरेपछि औषधी राखीदिए आँखामा र केहि खाने औषधी लेखिदिए । आवस्यक ल्याव परीक्षणको लागी भैरहवा मेडिकल कलेज पठाए ।

आँखा अस्पतालमा औषधी राखेपछि बहिनीको आँखामा झन समस्या भयो । उसले मोबाइलको किबोर्ड र एटिएमको कोडसमेत देख्न नसक्ने भइ । पछि बुझ्दा थाहा भयो आँखा नानी फुलाएर हेर्ने औषधीले दृष्टीमा केहिबेर समस्या पर्ने रहेछ । सरकारले अस्पताललाई पनि कोरोनाको जोखिम क्षेत्र मानेकाले मनभित्र भोल्टको डर उम्लिरहेको थियो । कोही नजिक पर्ना साथ अलि पर भाग्थेँ म । साच्ची मान्छेलाई बाँच्न कति धेरै रहर लाग्छ यस्तै परिस्थितिमा थाहा हुँदोरहेछ ।

रातको समय ओपीडि बन्द भएकाले इमजेन्सीमा भर्ना गरिदियो । सिनियर डाक्टर कोहि थिएनन् । तीनदिनसम्म आँखा अस्पताल र भैरहवा मेडिकल आउने जाने गर्यौं हामी । समस्या पटक्कै कम भएन । औषधीले साइड इफेक्ट गरेछ सायद बैनी झन आत्तिन थाली । भैरहवामै सिनियर डाक्टर भेट्न अनेक कोशिस गरियो तर संभव भएन ।

बिरामी भएसी कोरोना नै लाग्यो होला भनेर शंका गर्ने समय हो यो । कसैलाई केहि भन्न पनि डर लाग्ने । आफन्त छिमेकीलाई सुनाउदा परपर हुने । लकडाउनमा बिरामी हुनु भनेको अपराध नै गर्नु सरह रहेछ । एक त बजार पुरै ठप्प छ यताउता गर्न अटोसमेत नपाइने । हरेक मान्छेसँग शंका । भीडदेखेपछि कोरोना सर्छ भन्ने तनाव ।

घरपरिवारमा सल्लाह गरी काठमाडौं लैजाने निधो भयो । लकडाउनको बेलामा काठमाडौं आउनु चानचुने कुरा थिएन । सितिमिती एम्बुलेन्स काठमाडौं आउनै नमान्ने । निजी गाडी पास नभइ नजाने । बिरामी भन्नासाथ ७ पुस्ता खोतल्ने रहेछन् । हामीसँग अस्पतालको रिपोर्ट थियो, रिफर पेपर पनि थियो तर काठमाडौं आउन निकै सास्ती भयो । चिनेजानेका सबैलाई पास दिलाइदिन आग्रह गर्यौं, अफिसकै प्रदेश व्युरोमा समेत सहयोग मागियो । अहँ कसैको क्षमताले पास मिलेन ।

अन्तिममा रुपन्देहीका सिडियोलाई सम्पर्क गरी काठमाडौं बस्ने एक सहयोगीले मोबाइलमा अनलाइन पास पठाए । राती १२ बजे काठमाडौं पुग्यौं ।
काठमाडौं आउनु झन अफ्ठारो थियो । घरबेटीले किन आएको भनेर सोधिखोजी गर्ने । बिरामी भनौँ क्वारेन्टाइनमा पठाउलान भन्ने डर । बिरामीलाई कोठाबाट निकालेका घटना सुन्दै आएकी थिएँ मैले । यसैले पनि बढी डर लाग्यो । केहि असहजताका साथ टिचिङ पुगियो । भैरहवा मेडिकल कलेजमै तर्सिएको यो मन टिचिङको इमर्जेन्सी पुग्दा झनै आत्तियो । डाक्टरको निगरानीमा केहि दिन भर्ना भएर बस्नुपर्ने भयो । अस्पतालमा छौँ भनेर कसैलाई सुनाउन पनि नमिल्ने । आफन्तलाई बोलाउन पनि नहुने निकै पट्यारलाग्दो तरिकाले ४ दिन अस्पतालमै बस्यौँ । आश लागेका साथीहरु र आफन्तको व्यवहार देख्दा नमिठो लायो । डाक्टरले शंका गरेका सबै चेकजाच नर्मल देखिएपछि सामान्य औषधी लेखिदिए र  हस्पिटलले डिस्चार्ज गरिदियो।
  
अस्पताल त अरु बेलामा पनि बसेकै हो । तर लकडाउनमा ४ दिने अस्पताल बसाइले धेरै कुरा सिकायो । अस्पताल बाहिर कोरोनाको त्रास फैलिरहेको बेलामा अस्पताल आउने बिरामी र कुरुवा भने निर्धक्क देखिन्थे । उनीहरुलाई लाग्दो हो बाँचियो भने त नाथे कोरोनालाई सजिलै जितौंला । डराएर पो के हुन्थ्यो र आफन्त आफ्नै अगाडि छट्पटिएको कसले हेर्न सक्ने ?  यस्तो महामारीमा कर्तव्य सम्झेर अहोरात्र खट्ने स्वास्थ्यकर्मीको आत्मवलले हौसला थप्यो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.