धानको बीउ अभाव
भक्तपुर : भक्तपुरमा धानको बीउ अभाव देखिएको छ । लकडाउनको कारण बजारमा प्रशस्त धानको बीउ नआउँदा किसानहरुले अभाव झेलेका हुन् । किसानहरु लकडाउनको पर्वाह नगरी यहाँका एग्रोभेटहरुमा धाउने किसानहरुको संख्या दिनानुदिन बढिरहेको छ ।
यहाँका बजारमा स्थानीय टाइचिन धानको मात्रै बीउ उपलब्ध छ तर किसानहरुले करिब नौ वर्षअघिदेखि चिनियाँ हाइब्रिड धान लगाउँदै आएका छन् । स्थानीय टाइचिन धानभन्दा चिनियाँ धानको उत्पादन बढी हुन्छ । साथै यो धान रोप्न र गोडमेल गर्न सजिलो भएपछि यस किसानहरु चिनियाँ हाइब्रिड धानतर्फ आकर्षित हुँदै आएका छन् ।
यहाँका एग्रोभेट सञ्चालकहरुले पनि चिनियाँ हाइब्रिड धानको बीउ नेपालमै भित्रिएको छैन । विश्वभर नै कोरोना भाइरस संक्रमणको महामारीले गर्दा चीनबाट नेपालमा धानको बीउ नभित्रिएको भक्तपुरस्थित छुमा गणेश एग्रो सेन्टरका सञ्चालक सूर्यराम सुवाल बताउँछन् ।
उनले चिनियाँ हाइब्रिड बीउ खोज्दै आफ्नो पसलमा दैनिक ३० जनाभन्दा बढी किसानहरु आउने जानकारी दिए । उनले बिहान र बेलुका केही घन्टामात्रै पसल खोल्दै आएका छन् । तैपनि चिनियाँ हाइब्रिड जातको बीउ खोज्न आउने किसानहरुको संख्या दिनानुदिन बढिरहेको उनको भनाइ थियो ।
‘अघिल्लो वर्ष बैशाख १२ गतेदेखि नै चिनियाँ हाइब्रिड धान बिक्री वितरण गरेको थिएँ’, व्यवसायी सुवालले भने, ‘तर यस वर्ष अहिलेसम्म धानको बीउ नै ल्याउन पाएको छैन ।’उनका अनुसार वैशाख २८ गतेसम्म धानको बीउ नेपाल भित्रिने जानकारी आएको छ ।
तर लकडाउन लम्बिने सम्भावना बढेपछि किसानहरुमा बीउ नपाउने चिन्ता बढेको छ । त्यसैले अहिले किसानहरु दैनिकजसो एग्रोभेट सेन्टर धाइरहेका छन् । किसानका खेतमा अहिले गहुँ पहेलिँदै आएको छ । कतिले आलु खनिसकेका छन् । कसैले तरकारी खेती लगाएका छन् । धानको बीउ राख्ने बेला भने अझै भएको छैन । असार पहिलो हप्ता नै धान रोप्ने भए त्यसको २०–२५ दिनअघि मात्रै बीउ राखे पनि हुने कृषि प्राविधिकहरु बताउँछन् ।
तर यस वर्ष लकडाउनको कारण बजारमा बीउ नपाउन सक्ने चिन्ताले नै किसानहरुले बीउको जोहो गर्न हतार मानेको वरिष्ठ कृषि प्राविधिक शिव यन्द्यो बताउँछन् । ‘जेठको १५ गतेसम्म धानको बीउ हाल्दा रोपाइँ प्रभावित हुँदैन’, उनले भने, ‘धेरै बुढो बीउ लगाउँदा पनि उत्पादन घट्छ ।’ उनले करिब १९ देखि २२ दिनसम्मको धानको बीउ रोप्नु सबै दृष्टिले राम्रो हुने स्पष्ट पारे ।
अघिल्लो वर्ष जेठको पहिलो सातामै धानको बीउ बजारमा उपलब्ध नभएपछि यस वर्ष बैशाखको आधाआधीमै धानको बीउको खोजी गरेको भक्तपुर चाँगुनारायण वागेश्वरीका किसान नरबहादुर श्रेष्ठले जानकारी दिए ।
आठनौ वर्षदेखि चिनियाँ हाइब्रिड धान लगाएकाले घरपरिवारले त्यहीं धानको बीउ ल्याउन भनेकाले आफू दिनहुँजसो एग्रोभेट धाइरहेको उनको भनाइ थियो ।
उनका अनुसार चिनियाँ हाइब्रिड धानको बीउ लगाएपछि उनको घरको भण्डारमा अन्न खाली भएको छैन । तैपनि चिनियाँ हाइब्रिड धान नपाउने चिन्तामा भक्तपुर कमलविनायकस्थित सिद्धि कृषि सहकारी संस्थाबाट दुईपाथी स्थानीय टाइचिन धानको बीउ लगेको उनले जानकारी दिए ।
सिद्धि कृषि सहकारीले मात्रै शनिबारसम्म करिब ३० हजार किलो टाइचिन धानको बीउ बिक्री वितरण गरेको संस्थाका अध्यक्ष पुण्यराम दुमरुले जानकारी दिए ।
उनले बजारमा धानको बीउ अभाव भए यसवर्ष खाद्यान्न संकट हुनसक्ने औंल्याए । लोकल टाइचिन धानभन्दा चिनियाँ हाइब्रिड धानको उत्पादन बढी छ । लोकल टाइचिन धानको धेरै मेहनत गरेमा बढीमा प्रतिरोपनी सातमुरीसम्म उत्पादन गर्न सकिन्छ तर एकै रोपनीमा चिनियाँ हाइब्रिड धानबाट कम्तीमा आठमुरी उत्पादन लिन सकिन्छ ।
जिल्ला कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार भक्तपुरमा कूल चार हजार तीन सय ४८ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । उक्त क्षेत्रफलमा धान खेती गर्न भक्तपुरका किसानलाई करिब २० टन धानको बीउ आवश्यक पर्ने केन्द्रले जनाएको छ । जसमा करिब १२ टन चिनियाँ हाइब्रिड धानको बीउ खपत हुँदै आएको यहाँका बीउ व्यवसायीहरु बताउँछन् । भक्तपुरमा चिनियाँ हाइब्रिडतर्फ डीवाई २८ नामको मोटो बासमती, डीवाई ६८ नामको मसिनो मन्सुली र डीवाई ६९ नामको लोकल टाइचिन जस्तो धानको बीउ सर्वाधिक प्रयोग हुँदै आएको छुमा गणेश एग्रो सेन्टरका सञ्चालक सुवाल बताउँछन् ।
वि.सं. २०६७ सालमै डीवाई ६९ जातको चिनियाँ हाइब्रिड धानमा रोगकीराले उत्पादन प्रभावित भएपछि यसको प्रयोग भने कम हुँदै आएको उनको भनाइ थियो ।
बजारमा धानको बीउ अभाव भएपछि यहाँका दुई नगरपालिका भक्तपुर र चाँगुनारायणले आफ्ना नगरवासी किसानलाई धानको बीउ उपलब्ध गराएका छन् ।
भक्तपुर नपाले अघिल्लो वर्षजस्तै यस वर्ष पनि आफ्ना नगरवासीलाई प्रतिघरधुरी साढे दुईकिलो धानको बीउ निःशुल्क वितरण गरेको छ । पाँच हजार नौसय ९ जना नगरवासी किसानलाई उक्त धानको बीउ वितरण गरेको नपाले जनाएको छ ।
त्यस्तै चाँगुनारायण नपाले ५० प्रतिशत छुटमा आफ्नो नगरवासी किसानलाई धानको बीउ उपलब्ध गराउन सूचना जारी गरेको छ । दुईटै नपाले वडा कार्यालयमार्फत किसानलाई धानको बीउ वितरणको व्यवस्था गरेका छन् ।