आईटाको भुक्तानी लकडाउनपछि

आईटाको भुक्तानी लकडाउनपछि

काठमाडौं : अन्तर्राष्ट्रिय हवाई यातायात संगठन(आईटा) लाई बुझाउनुपर्ने अन्तर्राष्ट्रिय हवाई टिकेटिङबापतको शुल्क लकडाउनपछि मात्रै बुझाइने भएकोे छ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट(नाटा)का अध्यक्ष अच्युत गुरागाईले कोभिड १९ को प्रकोप र लकडाउनका कारण कतिपय एजेन्टले रकम बुझाउन नसक्ने भएपछि लकडाउन समाप्तिपछि मात्रै बुझाइने अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए। यस सम्बन्धमा आईटालाई पनि जानकारी गराइएको छ।

 हरेक ७ दिनमा हवाई टिकेटिङबापतका रकम आईटालाई बुझाउनुपर्ने हुन्छ। यदि तोकिएको समयमा रकम भुक्तानी नगरे आईटाले कालोसूचीमा राख्ने, जरिवाना लिनेलगायत सजायको व्यवस्था गरेको छ। तर, डेढ महिनाभन्दा बढी समयदेखि आईटालाई बुझाउनुपर्ने रकम समयमा नै बुझाउन सकिएको छैन। गुरागाईंले रकम बुझाउन ढिला भएको अवधिमा कुनै जरिवाना नलिन आईटालाई आग्रह गरिएको बताए।

विश्व समुदायमा कोरोना संक्रमण बढ्न थालेपछि हवाई उडान प्रभावित बन्दै गएका कारण मार्च १६बाट आईटालाई तिनुपर्ने रकम बुझाउन ढिलाइ हुँदै गएको हो। त्यो समयमा आईटालाई नेपाली एजेन्टले करिब ३ अर्ब रुपैयाँ बुझाउन बाँकिरहेको नाटाको तथ्यांक छ। तर, पछिल्लो तथ्यांकअनुसार करिब १ अर्ब रुपैयाँ मात्र आईटालाई बुझाउन बाँकी छ। विषम परिस्थितिका कारण केही नेपाली एजेन्टले आईटालाई रकम भुक्तानी गर्दै आएका कारण अब १ अर्ब रुपैयाँ मात्र भुक्तानी गर्न बाँकी रहेको अध्यक्ष गुरागार्इंले जानकारी दिए।

नाटामा करिब २२२ वटा आईटा एजेन्ट छन्। तीमध्ये ४० देखि ४५ वटा एजेन्टले मात्रै अहिले आईटालाई रकम बुझाएका छैनन्। लकडाउनका कारण कार्यालय पनि बन्द भएको, कर्मचारी उपलब्ध नहुनु, बैंकसम्म पुग्न नसक्नु र आईटालाई बुझाउने रकम नै जोहो गर्न नसकेका कारण समस्या भइरहेको अध्यक्षको भनाइ छ।

नेपाली एजेन्टमार्फत अन्तर्राष्ट्रिय हवाई टिकटबापत मासिक करिब साढे २ अर्ब रुपैयाँ आईटालाई बुझाउने गरिएको नाटाका महासचिव समिर उपाध्यायले बताए। तर, कोरोनाका कारण हवाई टिकट रद्दबापतको फिर्ती(रिफन्ड) रकम दिन भने आईटाले सधैं नै ढिला गर्ने गरेको छ। हवाई टिकट रद्दबापतको शुल्क एजेन्टले यात्रुलाई बुझाइसकेको बताइएको छ। रद्द हवाई टिकटबापतको रकम फिर्ता आईटाले टिकट एजेन्टलाई गर्नुपर्दछ। ‘हामीले बुझाउने रकममा ढिला हुन नपाउने आईटाको नियम छ, तर रिफन्डबापतको रकम दिन भने ३०÷३५ दिन लगाउँछ। अझ एयरलाइन्स कम्पनीलाई रकम बुझाइसकेकाले उक्त कम्पनीमा नै भन्नुपर्ने भन्छ। यो गैरजिम्मेवारी पूर्ण व्यवहारले एजेन्ट कम्पनीलाई गाह्रो भएको छ’, उपाध्याय भन्छन्।

एजेन्टले बुझाएको रकम आईटाले ३ दिनभित्र सम्बन्धित एयरलाइन्स कम्पनीलाई बुझाउने गर्छ। कोरोनाका कारण अन्तर्राष्ट्रिय जहाज पनि भूमिगत भएका छन् भने एयरलाइन्स कम्पनीलाई सञ्चालन व्ययभार थेग्न नै धौधो परिसकेकाले रिफन्डबापतको रकम डुब्न सक्ने खतरा बढेको महासचिव उपाध्यायले बताए। एजेन्टले सिधा नै आईटालाई रकम बुझाउँछन् तर रिफन्डको पैसा माग्दा ग्लोबल डिस्ट्रिबुसन सिस्टम(जीडीएस) मार्फत आउने भन्ने गरेको उनको गुनासो छ।

अहिलेको अवस्थामा रिफन्डबापतको करिब डेढ अर्ब रुपैयाँ नेपाली एजेन्टलाई बुझाउन बाँकीे छ। कोरोनाका कारण कतिपय अन्तर्राष्ट्रिय हवाई कम्पनी टाट पल्टिने अवस्था सिर्जना भएका कारण उक्त रकम जोखिममा रहेको उनी भन्छन्। यसका लागि नाटाले राष्ट्र बैंक, पर्यटन मन्त्रालय र पर्यटन विभागलाई जानकारी गराएको बताइएको छ। पैसा फिर्तामा समस्या देखिएका कारण आईटालाई नेपाली एजेन्टले बुझाउनुपर्ने रकम तत्काल बुझाउन उपयुक्त नहुने नाटाको निष्कर्ष छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.