सीमामा थप कडाइ गरिने
काठमाडौं : कोरोना भाइरस संक्रमण थप फैलने आशंकामा सरकारले अधिकांश जिल्लाका सीमामा थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ। भारतीय सीमासँग जोडिएका नेपालगन्ज, धनुषा, सर्लाही, सुनसरी, बारा, पर्सा, रौतहट, सप्तरी, धनगढी, दार्चुलालगायत जिल्लामा कोरोना संक्रमण थप फैलने आशंकामा सीमा क्षेत्रमा चेक प्वाइन्ट कडा पार्न प्रहरीसमेत परिचालन गर्ने भएको हो।
कारागार, विकास निर्माण आयोजनालगायत महत्वपूर्ण संरचना सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमामा पठाइने जानकारी गृहले दिएको छ। कारागारमा यसअघि प्रहरी र सशस्त्रले सुरक्षा दिँदै आएका थिए। आइतबार गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा मन्त्रालयमा बसेको बैठकले तत्काल प्रहरी खटाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको छ।
गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईका अनुसार सीमाबाट लुकीछिपी प्रवेश गर्ने क्रम नरोकिएकाले त्यसरी प्रवेश गर्नेलाई कडा कानुनी कारबाही गर्नुपर्ने निष्कर्ष बैठकले गरेको छ। बैठकले भारतमा रहेका नेपालीलाई कोरोनाबाट सुरक्षित राख्न आवश्यक पहल तथा सीमा सुरक्षाका विषयमा भारत सरकारसँग छलफललाई तीव्रता दिने निर्णय गरेको छ।
गृहमन्त्री थापाले कोरोना संक्रमणको केन्द्र चीन, युरोप अमेरिका हुँदै अब दक्षिण एसियातर्फ बढ्न लागेको भन्दै खुला सीमा रहेको कारण नेपालले अब विशेष सावधानी अपनाउन आवश्यक रहेको बताएका थिए। उनले सीमामा कडाइ गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। उनले सीमावर्ती जिल्लामा सुरक्षाकर्मीको समन्वयमा सबै वडास्तरमा समुदायको सहयोगमा स्वयंसेवक परिचालन कमिटी गठन गरी सीमाबाट हुने अवैध प्रवेशलाई समेत नियन्त्रण गर्न निर्देशन दिएका छन्।
सीमामा खटिएका सुरक्षाकर्मीका लागि आवश्यक स्रोत साधनको व्यवस्थापनका लागि गृहले प्रक्रिया अगाडि बढाएको जानकारी थापाले बैठकमा गराएका थिए। गृहमन्त्री थापाले दुई दिनभित्र सीमामा पठाएका सुरक्षाकर्मीको अभिलेख तयार गरी पठाउन प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशन दिएका थिए। गृहमन्त्री थापाको भनाइ उद्धृत गर्दै प्रेस संयोजक भट्टराईले भने, ‘सीमामा कडाइ हुनुपर्यो, हामीले सीमालाई खुकुलो पार्यौं भने कोरोना संक्रमण फैलने सम्भावना उच्च देखियो। प्रहरी र सशस्त्र प्रहरीको भूमिका अहं छ। ’
बैठकमा गृहसचिव, परराष्ट्र सचिव, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका प्रतिनिधिलगायत सहभागी थिए।०००