‘कथा खरर, मन हरर’
काठमाडौं : कोरोना महामारीका कारण लगाइएको लकडाउन खुकुलो भइहाले पनि विद्यालय तुरुन्त खोलिने अवस्था छैन। यस्तो अवस्थालाई मध्यनजर गर्दै थिएटर मल कीर्तिपुर रंगमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले क्वारेन्टाइन अभियानअन्तर्गत बालबालिका केन्द्रित कार्यक्रम ‘कथा खरर, मन हरर...’ सोमबारबाट सुरु गर्दैछ।
‘बालबालिकाहरू पनि देख्न, सुन्न, महसुस गर्न र कल्पना गर्न सक्छन् भन्ने भावका साथ उनीहरूले सुनाएका कथाहरूको कार्यक्रम गर्न लागिएको कार्यक्रम निर्माता केदार श्रेष्ठले बताए। ‘कथा सुन्ने र सुनाउने हाम्रो प्राचीन संस्कृति हो। हजुरबा–हजुरआमाबाट कथा सुन्ने परम्परा संयुक्त परिवारको संरचना खुकुलो भएपछि छुट्दै गयो’ संयोजक श्रेष्ठले भने, ‘त्यसैले, हामी अभिभावकलाई आफ्ना छोराछोरी र कथाको सम्बन्ध बलियो बनाउन अनुरोध गर्छौ।’
‘कथा खरर, मन हरर’ नानीबाबुको युट्युब च्यानलमा सोमबारदेखि हरेक बिहान ११ बजे प्रिमियर हुनेछ। कार्यक्रममा तीन वर्षदेखि १६ वर्षसम्मका बालबालिका सहभागी हुँदैछन्। श्रेष्ठले भने, ‘लकडाउन नलम्बिए पनि कार्यक्रम कम्तीमा १२ दिन सञ्चालन गरिनेछ। बालबालिकाका कथा धमाधम प्राप्त भइरहेका छन्।’ कार्यक्रमका सहनिर्माता प्रसुन सिन्धुलीयले बालबालिकाले कथा सुनाएको भिडियो बालकोसेली नेपाल एट द रेट जिमेल डटकममा पठाउन पनि अनुरोध गरेका छन्।
थिएटर मल कीर्तिपुर रंगमञ्चले लकडाउनको सुरुआती १६ दिनसम्म ‘क्वारेन्टाइन अभियान भर्चुअल थिएटर फेस्टिभल’ आयोजना गरेको थियो।