कोरोना कहर : ई-लर्निङमा पछि नपर्न विज्ञहरुको सुझाव
भक्तपुर : कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल (सीफ्यान) ले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा 'कोभिड १९ अघि र पछि नेपालको शिक्षा र कम्प्युटर शिक्षकको भूमिका' विषयमा अनलाइन अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
अनलाइन अन्तरक्रियामा पूर्वशिक्षामन्त्री गंगालाल तुलाधर, नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगनकुमार थापा, नेपाल खुल्ला विश्वविद्यालयका उपकुलपति प्रा. डा. लेखनाथ शर्मा, काठमाडौं विश्वविद्यालयका पूर्वडीन प्रा.डा. मनप्रसाद वाग्ले, त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानका प्रा. डा. सुवर्ण शाक्य, वरिष्ठ जनस्वास्थ्यविद् एवं युनिभर्सिटी अफ हडर्सफिल्ड बेलायतका प्रा. डा. पदम सिम्खडा र सामाजिक-राजनीतिक विश्लेषक प्रेमराज रिमाल सहभागी भएका थिए ।
उनीहरुले नेपाल अहिले ई-लर्निङको लागि नीति निर्माण तथा पूर्वाधार विकासमा रहेको स्पष्ट पारे । तर नीति निर्माण र पूर्वाधार विकासको अभावको कारण ई-लर्निङको अभ्यास गर्दै अघि बढ्न ढिलो गर्न नहुने उनीहरुको जोड थियो ।
कार्यक्रममा पूर्वशिक्षामन्त्री तुलाधरले विपद्मा शैक्षिक गतिविधि सञ्चालन गर्न सहज नभए पनि भविष्यका निम्ति आवश्यक नीति तर्जुमा गरी अघि बढ्नुपर्ने सुझाव दिए । यसको लागि आवश्यक नीति तर्जुमा तथा पूर्वाधार विकासको लागि कम्प्युटर प्राध्यापक तथा शिक्षकको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।
नेपाली कांग्रेसका युवा नेता एवं सांसद थापाले शिक्षाका विविध आयामअन्तर्गत डिजिटल लर्निंङ नै अबको विकल्प भएको चर्चा गरे । उनले डिजिटल लर्निङको सफल कार्यान्वयनका लागि कम्प्युटर प्राध्यापक तथा शिक्षकहरुले नीतिगत तथा प्राविधिक तयारी गर्नुपर्नेमा जोड दिए ।
अनलाइन शिक्षा बन्द नै गर्ने पोखरा महानगरपालिकाले चालेको कदम गलत भएको सांसद थापाको भनाइ थियो । 'आवश्यक पूर्वाधार विकास गरी ई-लर्निङभ सबैको पहुँचमा पुर्याउनुपर्छ,' सांसद थापाले भने ।
नेपाल खुल्ला विश्वविद्यालयका उपकुलपति प्रा. डा. शर्माले खुल्ला विश्वविद्यालयमा भइरहेको ई-लर्निङको अभ्यासबारे प्रकाश पारे । ई-लर्निङको सफल कार्यान्वयनको लागि विश्वविद्यालयको अनुभव प्रस्थान विन्दु हुनसक्ने उनको भनाइ थियो ।
वरिष्ठ शिक्षाविद् प्रा. डा. वाग्लेले अहिले सञ्चालनमा रहेको अनलाइन शिक्षाको प्रयोग तयारी नपुगेकोजस्तो देखिएको विचार राखे । 'अहिलेको अनलाइन शिक्षाको प्रयोग बलपूर्वक गरिएको जस्तो देखिएको छ, उनले भने, 'तर एक्काइसौं शताब्दीमा अनलाइनविना शिक्षाको परिकल्पना गर्न सकिन्न।'
त्रिवि इञ्जिनियरिङ अध्ययन संस्थानका प्रा. डा. शाक्यले शिक्षामात्र नभएर राज्यले प्रदान गर्ने सम्पूर्ण सेवा अनलाइनमार्फत प्रदान गर्ने गरी अघि बढ्नेपर्नेमा जोड दिए ।सन् २००६ देखि चर्चामा आएको ई-गभर्नेन्सको सफल कार्यान्वयन हुन नसक्दा अहिले ई-लर्निङमा समस्या आएको उनले स्पष्ट पारे ।
'त्यसैले अहिले पनि संवेदनशील भएर पूर्वाधार विकासमा नलाग्ने हो भने भविष्यमा अझ ठूलो समस्या आउन सक्छ,' प्रा.डा. शाक्यले भने ।बेलायतले अभ्यास गर्दै आएको ई-लर्निङका बारेमा चर्चा गर्दै वरिष्ठ जनस्वास्थ्यविद् प्रा. डा. सिम्खडाले भने, 'पूर्वाधार छैन, डिजिटल भिन्नता छ भनेर चुप लागेर बस्न हुन्न ।'
कोभिड १९ को महामारीको समयमा स्वास्थ्यलाई नै पहिलो प्राथमिकता दिइए पनि आवश्यक पूर्वाधार भएकोले बेलायतमा विद्यालय र विश्वविद्यालयमा शैक्षिक गतिविधि सुचारु गर्न सजिलो भएको उनको भनाइ थियो ।
सामाजिक-राजनीतिक विश्लेषक रिमालले नेपालमा डिजिटल भिन्नता रहकोले विद्यार्थीमा मानसिक समस्यासमेत ल्याउन सक्नेतर्फ सचेत हुनुपर्ने आवश्यकता औंल्याए । 'सरकार तथा विभिन्न संघसंस्थाको राहतको भरमा आधा पेट खाइरहेका परिवारका विद्यार्थी कसरी अनलाइन कक्षामा आउन सक्छन् भन्ने प्रश्न अह्म हुन्छ, उनले भने, 'तैपनि सूचना प्रविधि शिक्षा अपरिहार्य छ । सबै वर्गका विद्यार्थीको पहुँचमा पुग्ने गरी पूर्वाधार विकास गर्नुपर्छ । यसका लागि काम गर्न ढिलो भैसकेको छ ।'
कार्यक्रममा सीफ्यानका अध्यक्ष प्रचन्द्रराम श्रेष्ठले अन्तरक्रियाको औचित्यबारे चर्चा गर्दै कोभिड १९ को महामारीको क्रममा ई-लर्निङलाई सरकारले जोड दिनुपर्ने र त्यसको लागि आफ्नो संस्था सहयोग गर्न तयार रहेको स्पष्ट पारेका थिए ।