म्याग्दीमा डेंगुको जोखिम
बेनी : हिमाली जिल्ला म्याग्दीमा डेंगु रोगको जोखिम बढेको छ । पछिल्लो ५ दिन यता जिल्लामा तीनजना डेंगुका बिरामी भेटिएका छन् । ग्रामिण क्षेत्रबाट आएका बिरामीमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु भेटिएको अस्पतालका मेडिकल कोअर्डीनेटर डाक्टर नवराज बस्ताकोटीले बताए । 'बिरामी बाहिरी जिल्लाबाट नआएर यही बस्दै आएका हुन्, 'उनले भने, 'यही बस्दै आएकामा डेंगु देखिनुले जोखिम बढाएको छ ।'
वैशाख १८ गते बेनी नगरपालिका-९ घतानका ३० वर्षीय पुरुष, १९ गते बेनी-६ छापकी ५८ वर्षीया महिला र २१ गते पर्वत घर भइ बेनी-५ भिरमुनी बस्ने ३६ वर्षीया महिलामा डेंगु पोजेटिभ भेटिएको बेनी अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीका अनुसार यसअघि वैशाख ९ गते मंगला-५ अर्मनका १७ वर्षका पुरुषलाई एकैपटक स्क्रब टाइफस र डेंगु भेटिएको थियो । माघ २ गते अन्नपूर्ण-६ घारकी ६५ वर्षीया महिलामा डेंगु भेटिएको थियो ।
वैशाख १९ र २१ गते भर्ना भएका बिरामीको बेनी अस्पतालमा उपचार भइरहेको छ । अरु निको भएर घर फर्किएका छन् । डेंगु भेटिएका बिरामी गाउँमै खेति किसानी र घाँस दाउरा गर्ने व्यक्ति हुन् ।
म्याग्दीमा डेंगुको महामारी फैलन सक्ने चिकित्सकको विष्लेषण छ । गत वर्ष १३ जना डेंगु संक्रमितको बेनी अस्पतालमा उपचार भएको थियो । मेडिकलमा परीक्षण गराएका केही बिरामी पोखरा गएर उपचार गरेका थिए ।
बेनी बजारको गणेशटोल, मंगलाघाट, बसपार्क, पारीबेनी र भिरमुनीलाई डेंगुको जोखिमयुक्त क्षेत्र मानिएको थियो । यो वर्ष अन्य ठाउँमा समेत विस्तार भएको छ । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु सरुवा रोग हो । बर्खा र गर्मी मौसममा देखिने यो रोगबाट वर्षेनी पाँच करोड मानिस प्रभावित हुने तथ्याङ्क छ । नेपालमा गत वर्ष केही डेंगु संक्रमितको ज्यान समेत गएको थियो ।
५ देखि ७ दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग दुख्ने शरीरमा बिमिरा आउने, हाड जोर्नी तथा मांसपेसी दुख्ने डेगुको मुख्य लक्षण हुन् । टिन, रंगका खाली डब्बा, टायर ट्युब, खाली ड्महरुमा पानी जम्न नदिने, घर, कौसीको गमला, फुलदानी, एयर कण्डिसन, कुलर, पानीको ट्याकीमा डेंगु सार्ने लामखुट्टेले फुल पार्छ।
डेंगु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्छ।बर्खा सुरु नहुदै दैनिकजसो डेंगुका बिरामी आउन थालेपछि स्वास्थ्य कार्यालय र स्थानीय तह मार्फत सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए।