भोकभोकै बसेकालाई खाना आकासे फल
जनकपुरधाम : केही दिन अघिसम्म भारत विहार मधुबन्नीका सञ्जय गुप्तालाई दिन बितेको पत्तो हुँदैनथ्यो। दिनभरी ठेलामा सामान ओसार्यो, साँझ खाना खायो, थपक्कै सुत्यो। एकै निद्रामा बिहान झिसमिसे हुन्थ्यो। दिनभरीको कामको थकानले राति सुत्यो अनि बिहान उठ्यो। फेरि बिहान जुरुक्क उठेर नित्यकर्म पछि काम सुरु भइहाल्थ्यो।
दैनिक गुजाराका लागि भारी बोक्दै जनकपुरमा भौतारिएको धेरै भइसक्यो तर उनलाई अहिलेको जस्तो सकस कहिल्यै परेको थिएन। ‘लकडाउनले केही गर्न पाएको छैन, एक महिना भयो। दुईचार पैसा कमाई पनि छैन। विकल्प केही नभएपछि केही दिन चिउरा, चाउचाउ र बिस्कुट खाएर गुजारा गर्नु पर्यो’, जनकपुरस्थित पुरानो बसपार्कमा भेटिएका गुप्ताले मलिन स्वरमा दुःख पोखे। गुप्ता थोत्रो सर्ट, हप्तौंदेखि नुहाउन नपाएको शरीर, ठाडो कपाल र थोत्रो चप्पलमा देखिन्छन्। उनीसँगै उनीजस्तै आधा दर्जन साथी एकैठाउँमा व्यथा पोख्दै थिए। सबैको समस्या उही थियो, घर जान नपाएको र भोकभोकै बस्नु परेको पीडा। कसरी दिन काट्ने, अझै कति दिन बन्द रहला भन्ने पीर। तर व्याहुत कलवार सेवा समिति र मारवाडी सेवा समितिले नियमित खाना खुवाउन थालेपछि भने अनुहारमा चमक छाएको छ।
‘केही दिनदेखि निःशुल्क खाना खुवाउन थालेपछि बिहान साँझ खायो, बस्यो, सुत्यो, यसरी नै चल्दैछ हाम्रो दिन’, वीरगञ्जका सदाक साफीले लकडाउनको सुरुमा भोकै बस्नुपरेको सम्झिँदै भने, ‘कति दिन त एक छाक खाएर टार्यौं, कहिले चाउचाउ र बिस्कुटको सहारा अनि कति दिन भोकै बस्नु परेको पीडा भुल्न नसकिने रहेछ।’ पछिल्लो केही दिनयता खान पाए पनि मन मानेको छैन। उनीहरू घर जान चाहन्छन्, काम चाहन्छन्। साफीले भने, ‘हामी यहाँको बासिन्दा होइनौं, अस्ति दुई घन्टा लाइनमा बसें तर राहत पाइएन। हाम्रो नाम लिष्टमा छैन रे ! प्रहरी लगाएर खाली हात फर्काइदिए।’
साफीले भने, ‘रोग लागेर त पछि मरिन्छ होला तर भोक सहन नसक्दा चाँडै मरिने भयो।’ लकडाउनका बेला खाना खुवाउन लागेका सम्पूर्ण संघसंस्थाले भोकाएका मजदुरलाई खाना खुवाएकोमा राष्ट्रिय मानव अधिकार आयोगका प्रादेशिक निर्देशक वीर मगरले प्रशंसा गरे। उनले भने, ‘पकाउने चुलो नभएकालाई चामल दिँदा बेचेर खाने अवस्था आउँछ, त्योभन्दा खाना खान दिनु नै उत्तम विकल्प हो।’ जनकपुरका युवा रोकशविक्रम साहले लकडाउनको सुरु दिनमा खाद्यान्न राहत उपलब्ध गराए पनि सडकमा मजदुर भोकै बसेको फेला परेपछि खानाको व्यवस्था गरेको बताए।
साहले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर खानामा भात, दाल, तरकारी, सलाद गरी पाँच सय जनालाई दैनिक खाना खुवाउने गरेको जनाए। लकडाउनमा विशेषगरी भारतीय नागरिक, बाहिरी जिल्लाका बासिन्दा, ज्याला मजदुरी गरी खाने विपन्नलाई सास्ती छ। लकडाउनले सिर्जित परिस्थितिमा अलपत्र परेका र भोकै रहेकालाई खाना खुवाउन धेरैतिर सहयोगी हात अघि बढेका छन्। मारवाडी समाजका अध्यक्ष ललित बजाजले दीनदुःखी, गरिब, विपन्न र अप्ठ्यारोमा परेकालाई सहयोग गर्नु सामाजिक दायित्व भएको बताए। प्रत्येक दिन ६ सयभन्दा बढीलाई निःशुल्क खाना खुवाउँदै आएको उनको भनाइ छ।