महोत्तरीको रहस्यमयी मृत्यु प्रकरण : १२ मध्ये १० विषाक्ता मदिराको सिकार
महोत्तरी : महोत्तरीमा मृत्यु भएका १२ जनामध्ये १० जनाको विषाक्ता मदिरा सेवनले र एक जनाको औलोको कारण मृत्यु भएको रिपोर्टमा उल्लेख गरिएको छ । पहिलो पटक मृत्यु भएका अर्का एक जनाको भने पोस्टर्माटम रिपोर्ट आउन बाँकी छ ।
इपीडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. अमृत पोखरेलको टोलीले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदन अनुसार कारोना भाइरसले कसैको मृत्यु नभएको जनाएको छ । कोरोनाको कारण भटाभट मानिसहरुको मृत्यु भएको आशंकामा महोत्तरीमा त्रास फैलिएको थियो ।
‘बैशाख १० गते यता महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर—१२ का ४ जना र भंगहा नगरपालिकाको वडा नम्बर—६, ७ मा ८ जना गरी १२ जनाको मृत्यु भएको थियो,’स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक गिरेन्द्र कुमा झाले भने ।
‘मृतकको घरघरमा पुगियो । त्यहाँको अवस्था हृदयविदारक थियो । धेरै कठिनाइले हामीले प्रारम्भिक रिपोर्ट सार्वजनिक गरेका हौं,’ डा. अमृतले भने,‘मृत्यु भएका सबैको पोस्टमार्टम गर्न सकिएको छैन । परीक्षण गरिएको दुई जनाको श्वासको रिपोर्टले कोरोना नभएको पुष्टि भएको छ । ’पोस्टमार्टमको रिपोर्ट आएपछि मृत्युको थप कारण खुल्ने उनले जनाए ।
‘परिवारजन, मृत्यु भएकाहरुसँग सगै रक्सी खाएकाहरु तथा मृतकको पृष्ठभूमी केलाउँदा मृत्युको कारण विषात मदिरा रहेको हामीले फेला परेका छौं,’ घटनाको अध्ययन गरिरहेका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठना धरानका सह—प्रध्यापक डा. खेमराज शर्माले भने, ‘मृतकहरुले कुन ठाउँको रक्सी भट्टीमा मदिरा खाएका थिए, भन्ने कुराको अझै खुलेको छैन । त्यस भट्टीको मदिरा खाएर अरु पनि बिरामी परेका हुन सक्छन् । त्यसैले रक्सी भट्टीको श्रोत पत्ता लगाउनु र हालै क—कसले लोकल मदिरा खाएको भन्ने कुरा खोजविन गर्न जरुरी छ ।’
यसैबीच प्रदेश २ सरकारले पीडित परिवारलाई क्रियाकर्म खर्चबाप्त प्रति परिवार १-१ लाख दिने घोषणा गरेको छ । घटनाको अवस्था बुझ्न गाउँ पुगेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले तत्कालै पीडित परिवारलाई घोषणा गरिएको रकम दिइने बताए । समाजिक विकास मन्त्री नवल किशोर साह, प्रदेश सभा सदस्य सारदा देवी थापा, सुरिता साह, जैलुन राइन पनि पीडित परिवारलाई शान्तावना दिन भंगहा पुगेका थिए ।