वालिङमा भेटिए डेङ्गुका विरामी
स्याङ्जा : वालिङमा डेङ्गुका एक विरामी भेटिएका छन्। वालिङ ८ घर भएका ७० वर्षीय एक पुरुषको पोखरास्थित गण्डकी मेडिकल कलेजमा रगत परिक्षणका क्रममा डेंगु भएको पुष्टि गरिएको हो।
पोखरामा उपचाररत विरामीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। पोखरामा उपचाररत विरामी वालिङको भएको हुँदा वालिङ नगरपालिकाले डेङ्गु रोग नियन्त्रणका लागि छिट्टै ‘लार्भाको खोजी र नष्ट गर्ने अभियान’ थाल्ने तयारीमा रहेको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए।
डेङ्गु भाईरसद्वारा संक्रमित ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाईबाट सर्छ। नगरपालिकाले चेतनामूलक कार्यक्रमसँगै डेङ्गु नियन्त्रणका लागि यसका वासस्थानहरु नष्ट गर्ने तथा अन्य आवश्यक प्रक्रियाहरु अगाडि बढाउने स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डे भन्छन्।
एक्कासी उच्च ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु, ढाड जोर्नी तथा मांसपेशीहरु दुख्नु, शरीरमा विविराहरु आउनु, वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोस हुने जस्ता लक्षणहरु देखिएमा डेङ्गु रोगको संक्रमण हुन सक्ने चिकित्सकले जनाएका छन्।