हिउँमा बेपत्ता मजदुरको उद्धार
नुवाकोट : निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा काम गर्ने एक मजदुरलाई सूर्यकुण्ड फेदीबाट उद्धार गरिएको छ। गोसाइँकुण्डतर्फको पैदलमार्ग हुँदै गृह जिल्ला सिन्धुपाल्चोकतर्फ हिँडेर हिमपातमा फसेका ३० वर्षीय सुरज लामाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको हो।
आयोजनास्थल रसुवाको टिमुरेबाट वैशाख ६ गते हिँडेका लामा लामो समयसम्म गन्तव्यमा नपुगेको प्रहरीले जानकारी पाएपछि खोजी गर्दा फेदीमा फेला परेको जिल्ला प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीले बताए। उनका अनुसार लकडाउनका कारण सडकमार्गको सवारी आवागमन बन्द भएपछि लामाले गोसाइँकुण्डको उच्च भूभागको बाटो रोजेको हुन सक्छ।
काम गरिरहेको चिनियाँ हाइड्रो सिडब्ल्युई कम्पनीलाई सूचना नदिई हिँडेका लामाको खोज उद्धारमा सहयोग पुर्याउन हेलिकप्टर उपलब्ध गराएको रसुवागढी हाइड्रोका आयोजना प्रमुख छवि गैरेले जानकारी दिए। हिमपात भइरहेका अवस्थामा निकै दिन उच्चभागमा रहेका लामाको स्वास्थ्य परीक्षणका लागि काठमाडौंस्थित सिभिल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।फोटो छ।