नवजात शिशुप्रति गाउँपालिकाको चासो
दैलेख : मानसिक सन्तुलन गुमाएकी दैलेखको एक महिलाले शिशुको (छोरा) जन्म दिएकी छन्। जिल्लाको भैरवी गाउँपालिका-४ की अन्दाजी ४६ वर्षीया ती महिलाले शनिबार राति शिशुको जन्म दिएपछि नवजात शिशुको रेखदेखमा समस्या देखिएको छ।
बाबुको पहिचानबिना जन्मिएको शिशुको भविष्यसमेत बेवारिसे बन्ने देखिएको छ। ती महिला झन्डै ४ वर्षदेखि मानसिक सन्तुलन गुमाएको स्थानीयले बताए। यसअघि ती महिलालाई कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको मानव सेवा आ श्रममा पठाइएको थियो। उनी त्यहाँबाट भागेर आएको बताइएको छ। ती महिलाले मध्यरातमा गोरेटो बाटोको एक छेउमा शिशुको जन्म दिएको स्थानीयले बताएका छन्। नवजात शिशु अहिले ती महिलाको बहिनी नाता पर्ने लक्ष्मी विकको संरक्षणमा छन्। लक्ष्मीका ६ सन्तान छन्। उनीहरूको आर्थिक अवस्थासमेत नाजुक नभएका कारण शिशुको लालनपालनमा झनै समस्या देखिएको छ।
‘आफ्नै सन्तानको पालनपोषणमा समेत मुस्किल परेको छ, अब झनै समस्या हुने देखिएको छ, शिशुको पालनपोषणमा सरकारले सहयोग गरिदिएको भए सजिलो हुन्थ्यो’, लक्ष्मीले भनिन्। शिशुलाई जन्म दिए पनि रेखदेख नगरेपछि लत्ताकपडा तथा पोषणयुक्त खानाको व्यवस्था गरिदिन आफन्तले स्थानीय सरकारसँग माग गरेका छन्। मानसिक अवस्था ठीक नभएपछि घरबाट बेवारिसे बनेकी उनलाई गर्भवती बनाउने व्यक्तिको खोजी गरिनुपर्ने अधिकारकर्मीले माग गरेका छन्। शिशुको बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने अधिकारकर्मीको भनाइ छ।
शिशुको पालनपोषणमा सहयोग गर्ने भैरवी गाउँपालिकाले बताएको छ। भैरवीका प्रमुख प्रशासकीय अधिकृत हीरासिंह थापा भन्छन्, ‘बच्चा संरक्षणमा रहेको घरमै पुगेर शिशुको अवस्थाबारे जानकारी लिएको छु, शिशुको संरक्षणका साथ साथै उसको भविष्य निर्माणमा सहयोग गर्नेछौं।’ मानसिक सन्तुनल ठीक नभएकी सुत्केरी महिलाको रेखदेखका लागि पहल गरिरहेको उनको भनाइ छ।