रेडियोबाटै एसईई तयारी कक्षा
पाल्पा : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रासका कारण माध्यमिक शिक्षा परीक्षा(एसईई) अश्चित भएको छ। विद्यार्थी पूर्ण तयारी अवस्थामा रहेका बेला सुरु हुने अघिल्लो दिन परीक्षा स्थगित भयो।
यसैबीच विद्यार्थीको ध्यान अन्त नमोडियो र पढाई नबिग्रियोस भनेर पाल्पाको रेडियो मदनपोखराले एसईई तयारी पाठशाला सञ्चालन गरिरहेको छ। स्थानीय शिक्षाविद्हरुसँग परामर्श लिएर नगरपालिकाको सहयोगमा रेडियोले एसईई तयारी पाठशाला सुरु गरेको हो।
अन्तिम समयमा परीक्षा सार्ने निर्णय गरेपछि एसईईको तयारीमा रहेका लाखौ विद्यार्थी अलमलमा परे। परीक्षा कहिले हुने अझै निश्चित छैन। यस अवस्थामा रेडियो मदनपोखराको एसईई पाठशाला कार्यक्रम प्रभावकारी बनिरहेको छ।
सामुदायिक रेडियो मदनपोखराबाट हरेक दिन बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म ७ वटा विषयको पढाई भइरहेको छ। तानसेन नगरपालिकाको आर्थिक सहयोग र रेडियो मदनपोखराको उत्पादनमा यो कार्यक्रम गरिएको हो।
विद्यार्थीले रेडियोको नजिक बसेर पढ्न सक्छन्। नबुझेको कुरा तत्कालै फोन गरेर बुझ्न सक्छन्। रेडियोको फेसबुक पेजबाट समेत लाइभ हुने यो कार्यक्रममा मेसेन्जरमार्फत शिक्षकहरुसँग कुराकानी गर्न सक्ने व्यवस्था गरिएको छ।। शिक्षकले रेडियोबाटै उनीहरुलाई गृहकार्य दिने, विद्यार्थीका प्रश्नहरुमाथि छलफल गर्ने गर्छन्।
रेडियो मदनपोखराको यो कार्यक्रम पाल्पा, गुल्मी अर्घाखाँची, बाग्लुङ, पर्वत, दाङ, प्युठान, जुम्ला लगायत विभिन्न जिल्लाका २० वटा रेडियोबाट समेत रिले गरी प्रशारण हुने गर्छ। कार्यक्रममा ३५ भन्दा बढी जिल्लामा सुनिन्छ। रेडियोलाई अनलाइनमा पनि सुन्न सकिने हुँदा यो कार्यक्रम बढी प्रभावकारी भइरहेको छ।
एसईईको संघारमा रहेका धेरै विद्यार्थी कोरोनाको सन्त्रासका कारण अन्योलमा परेका बेला बेला रेडियोबाटै पढाई हुने एसइई पाठशाला विद्यार्थीहरुका लागी सहयोगी बनेको शिक्षक तथा विद्यार्थीहरु बताउछन्। रेडियो पाठशालामा अंग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन, नेपाली, स्वास्थ्य, जनसंख्या तथा वातावरण र कम्यूटर विषयको पठनपाठन गरिएको छ। कार्यक्रममा हरेक विषयमा दैनिक ४५ मिनेट पढाई हुन्छ।
गत चैत २० गतेदेदि सुरु गरिएको यो कार्यक्रम एसईईसञ्चालन नहुदासम्म प्रशारण गरिने रेडियोले जनाएको छ। २०५५ सालमा खुलेको यो रेडियोलाई दक्षिण एसियाकै पटक गाउँमा खुलेको पहिलो सामुदायिक रेडियो मानिन्छ। यसले स्थानीय स्तरमा जनचेतना जगाउने, स्वस्थ्य सूचना पुर्याउने लगायतका काम गरिरहेको छ।
द्वन्द्व कालको समयमा पनि एसएससी परीक्षालाई लक्षित गर्दै स्कुल पाठशाला नामक दूरशिक्षा कार्यक्रम सञ्चालनमा ल्याएको थियो। त्यो बेला। रेडियो कार्यक्रमम सुनेकै भरमा एसएलसी दिनेहरु प्रशस्तै थिए।
तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले विद्यार्थीहरुको ध्यानबाहिरी कुरामा नजाओस् र परीक्षाको तयारीमा ध्यान पुगोस् भन्ने उद्देश्यले रेडियोबाट पढाउन थालिएको बताए।
रेडियो मदनपोखराका स्टेसन म्यानेजर राजेश कुमार अर्यालले अनलाइन कक्षा सबैका लागि पहुँचमा नहुने भएकाले रेडियोका माध्यमबाट दिइएको शिक्षा प्रभावकारी हुने दाबी गरे।
उनका अनुसार लकडाउनपछि जनप्रतिनिधि, पदाधिकारी, शिक्षक तथा पत्रकारहरूसँग रेडियोले अनलाइमार्फत भिडियो बैठक गरेको थियो। त्यो बैठकमा दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन गर्दा विद्यार्थीलाई फाइदा पुग्ने निष्कर्ष निकालेपछि एसइई पाठशाला सुरु भएको हो।
विद्यार्थीले जानेका कुरा पुनः दोहोर्याउने र नजानेका कुरा सिक्ने अवसर कार्यक्रममार्फत मिलाइएको छ। घरमै बसेर सिक्न पाइने, फुर्सदको समय उपयोग गर्न मिल्ने, शिक्षकसँग भेट नहुँदापनि पढ्न पाइने, रेकर्ड गरेर चाहिएका बेला सुन्नपाइने भएकाले दूरशिक्षा रेडियो कार्यक्रम प्रभावकारी बनेको विद्यार्थीहरु भनाइ छ। अभिभावको प्रत्यक्ष निगरानीमा बालबालिकाले पढ्ने भएकाले सिकाई उपलब्धी राम्रो भइरहेको अभिभावकहरु बताउँछन्।