दोलखामा ब्याज छुटदेखि महशुल मिनाहासम्म
चरिकोट : लकडाउनले जनजीवन आक्रान्त भएका बेला दोलखाका सहकारीदेखि उपभोक्ता समितिसम्मले बचतमा ब्याज थपदेखि पानी उपभोगको महशुल मिनाहासम्मका योजना सार्वजनिक गरेका छन् ।
सदरमुकाम चरिकोटस्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी (साकोस) र हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी (साकोस)ले ब्याज थप तथा कर्जाको ब्याज छुट र दोलखाबजार खानेपानी उपभोक्ता समितिले महशुल मिनाहा गर्ने योजना सार्वजनिक गरेका हुन् ।
जिल्लाकै सबैभन्दा ठूलो मिलिजुली कालिञ्चोक साकोसले आफ्नो सबै सदस्यलाई आधा प्रतिशत व्याज थप गरिदिने भएको छ । सञ्चालक समितिले निर्णय गरेर सेयर सदस्य तथा बाल बचतकर्ताको बचतमा जेठ र असार महिनामा गरिएको बचतमा शुन्य दशमलव ५ प्रतिशत ब्याज थप गर्ने निर्णय गरेको मिलिजुली कालिञ्चोक साकोसका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले जानकारी दिए । त्यसको लागि करिब ७ लाख खर्च हुने सहकारीको अनुमान छ ।
लकडाउनले परेको असहज परिस्थितिका कारण करिब २२ हजार सेयर र ८ हजार ५ सय बालबचत गरी ३० हजार ५ सय बचतकर्ताहरुलाई सो ब्याज थप गरिने व्यवस्था गरेको उनले बताए ।
३७५१ जना कर्जा लिएका सदस्यहरुले बैशाख मसान्त भित्र किस्ता वा ब्याज बुझाएमा बुझाएको ब्याजमा १० प्रतिशत, जेठ मसान्त भित्र किस्ता वा ब्याज बुझाएमा बुझाएको ब्याजमा ७ प्रतिशत र असार २० गतेसम्म किस्ता वा ब्याज बुझाएमा बुझाएको ब्याजमा ५ प्रतिशत छुट गरेको सीइओ न्यौपानेले बताए ।
हाम्रो जनकल्याण साकोसले लकडाउन अघि, लकडाउन अवधिभर र लकडाउन सकिएपछि सहित गरी ५ देखि १२ प्रतिशतसम्म कर्जाको व्याज छुट दिने निर्णय भएको हाम्रो जनकल्याण साकोसका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए । लकडाउन अघिको व्याज बुझाएमा ५ प्रतिशत तथा हर्जनामा ५० प्रतिशत, लकडाउन अवधिभरको व्याज बुझाएमा १२ प्रतिशत तथा हर्जना मिनाहा र लकडाउन खुलेपछि ब्याज बुझाएमा ७ प्रतिशत तथा हर्जनामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको सहकारीका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी दिए ।
दोलखाबजार खानेपानी तथा सरसफाई समितिले विज्ञहरुको सल्लाह अनुसार समयसमयमा साबुन पानीले हात धोएर सरसफाई गर्नुपर्ने भएकोले आफ्नो करिब २ सय उपभोक्ताहरुलाई लकडाउन अवधिभरको पानीको महशुल मिनाहा गरेको समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । मासिक न्युनतम सय रुपैयाँको दरले प्रतिउपभोक्ता करिब दुई सयका दरले महशुल छुट गरिएको अध्यक्ष श्रेष्ठले बताए ।