अवैध मदिरासहित खाद्यान्न बोकेर जीप चलाएपछि...
स्याङ्जा : अवैध मदिरासहित बिल नभएका खाद्यान्न बोकेर स्याङजाबाट पर्वततर्फ जाँदै गरेको जीप प्रहरीले नियन्त्रणमा लिएको छ। मदिरा सहित बिल नभएका दाल, चामल लगायतका खाद्यान्न सामाग्री प्रहरीले पक्राउ गरेको हो।
साँझको करिब ९ बजेतिर स्याङ्जाबाट पर्वततर्फ जाँदै गरेको ग २ च ६८६३ नम्बरको जीप अर्जुनचौपारीमा प्रहरीले नियन्त्रणमा लिएको हो। जीप चालकसँग चैत २७ गतेको सवारी पास रहेको जनाइएको छ। पुरानो मितिका पास बोक्दै लकडाउनको उल्लंघन गर्दै रातारात जीप चालक र सहचालकलाई प्रहरीले कारवाही गरेको छ।
बिल बिनाको अवैध मदिरा सहितको खाद्यान्न बोकेको जीप पर्वततर्फ जाँदै गरेको छ भन्ने सूचनाका आधारमा प्रहरीले अर्जुनचौपारी गाउँपालिका-१ स्थित कच्ची सडकबाट सो जीपलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको हो। जीपमा सफर नामको अवैध मदिरा र चामल, दाल, चाउचाउलगायत बिल नभएका खाद्यान्न रहेको र एक लाख ७१ हजार ८ सय ३५ रुपैयाँ मुल्य बराबरका सामान रहेको प्रहरीले जनाएको छ। जीप चालक पर्वत महाशिला गाउँपालिका बस्ने बिनय गुरूङ र उक्त जीपका सहचालक रूपेन्द्र गुरूङलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय पोखरा पठाईएको प्रहरी उपरीक्षक विमलराज कडेंलले जानकारी दिए।