लकडाउनमा बस फुटाएर टेलिभिजन चोर्ने गिरोह पक्राउ
धादिङ : लकडाउनमा बसपार्क तथा अन्य ठाउँमा थन्किएका गाडी फुटाइ एल इ डी टेलिभिजन चोर्ने समूहलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । ६ वटा बस फुटाएर त्यसभित्र जडान गरिएका एलइडी टेलिभिजन सेट र म्युजिक प्लेयरलगायतका सामान चोरी गर्ने कार्यमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिद्धलेक गाउँपालिका ५ बस्ने अभिषेक श्रेष्ठ, श्याम श्रेष्ठ र अजय श्रेष्ठ रहेका छन् । टीभी चोर्ने समूहमा रहेका एकजना भने फरार छन् । फरार व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए ।
लकडाउनपछि धादिङवेसीका विभिन्न स्थानमा पार्किङ गरी राखिएको धादिङ मण्डली यातायात प्रालिद्वारा संचालित बा ४ ख ७३८०, ना ४ ख २८९१, ना ६ख ९१३० र लु २ ख १९५४ नम्बरका तीनवटा बसबाट टेलिभिजन र म्युजिक प्लेयर चोरी भएको बारे धादिङ प्रहरीमा उजुरी परेको थियो ।
उजुरीपछि छानविन अनुसन्धान गर्दै जाँदा चोरी भएको एलइडी टेलिभिजन र म्यूजिक प्लेयरसहित उनीहरुलाई धादिङको सिद्धलेक गाउँपालिकाबाट पक्राउ गरिएको सुचना अधिकारी खड्काले जानकारी दिए ।
पक्राउ परेकाहरुको साथबाट चोरी गरिएका एलइडी टेलिभिजन ६ थान, म्यूजिक प्लेयर ३ थान, स्पिकर २ थान, चोरी गर्न प्रयोग भएका औजारहरु ४ थान बरामद भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाइ चोरी मुद्दामा धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ ।