नदी कटानको जोखिममा सीमास्तम्भ
टीकापुर : वैशाखमै उर्लिएको कर्णाली नदीले कैलालीको दक्षिणी सिमावर्ती टीकापुर नगरपालिका ८ श्रीलंकामा तीव्र कटान गरेको छ । कर्णालीको कटानले दुई देशका सीमास्तम्भ कटानको जोखिममा परेका छन् ।
नदीमा पानीको सतह बढ्दै जाँदा कटान सुरु भएको हो । कटानका कारण नेपाल- भारत सीमास्तम्भ समेत जोखिममा परेका छन् । कर्णाली नदीले दुई देशको दशजगा क्षेत्रमै कटान गरेको छ ।
नदीले कटान गर्न थालेपछि श्रीलंका टापुमा रहेको ७०१/१ नम्बरको सहायक सीमास्तम्भ बग्न दुई मिटर मात्र बाँकी छ । सीमा स्तम्भ रहेको ठाउँबाट झण्डै दुई मिटरको दूरीमा कटान भइरहेको छ ।
टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले कर्णाली नदीको कटानले दुई देशका सीमास्तम्भ कटानको जोखिममा रहेको बताए । '७०१/१ नम्बरको सहायक सीमा स्तम्भसम्म कटान पुगिसकेको छ, यो स्तम्भ जतिबेला पनि बग्छ,' नगर प्रमुख रावलले भने, 'वर्षायाम नलाग्दै कटान हुन थालेपछि जोगाउने अवस्था छैन ।'
रावलले नदीले सीमास्तम्भ कटान गरिरहेको बारे दुबै देशका अधिकारीलाई जानकारी गराएको बताए । यसअघि कर्णाली र मोहना नदीले टीकापुर नगरपालिकाअन्तर्गत पर्ने सहायक पिल्लर ७०२, ७०३ र ७०४ बगाएको थियो ।
'यसअघि हाम्रो सीमानामा पर्ने तीनवटा सहायक पिल्लर नदीले बगाएको थियो,' रावलले भने । 'यसपाली वर्षा नलाग्दै नदीले कटान गर्न थालेपछि सीमास्तम्भ मात्रै नभएर श्रीलंकाको सयौं विघा उर्बर जमिन समेत नदीमा परिणत हुनेछ।'
अहिलेसम्म टीकापुर नगरपालिका भित्रका ४ मुख्य र १० सहायक सीमास्तम्भ नदीले बगाएको छ । ती मध्ये धेरैजसो मोहना नदीको कटानले बगाएको हो । सीमा सुरक्षा बल खक्रौलाका इञ्चार्ज चन्द्रदेव भट्टले नदी कटानका कारण सीमास्तम्भ हराई रहेको बताए ।
नगरपालिका भित्रका मुख्य सीमास्तम्भ ७०१, ७०३, ७०४ र ७०६ हराएका छन् । त्यस्तै सहायक सीमास्तम्भहरु ७०२÷२ देखि ७०२÷७ सम्म, ७०४÷३, ७०४÷४, ७०४÷६ र ७०५÷३ समेत हराई रहेको दुई देशको सीमा सर्भे टोलीको रिपोर्टमा उल्लेख छ ।
नदीले नेपालको थुप्रै जमिन बगाइसकेको छ । स्थानीयका अनुसार अहिले नदी बगिरहेको ठाउँमा स्थानीयको बस्ती थियो । २०४० सालमा नदीले धार परिवर्तन गरेर कैलालीतर्फ कटान सुरु गरेको थियो ।
दुई देशको सीमास्तम्भ नै जोखिममा पर्ने गरी नदीले कटान गर्न थालेपछि सीमा विवाद उत्पन्न हुने भएकाले तत्काल नियन्त्रणको प्रयास गर्नुपर्ने सुदूरपश्चिम प्रदेश प्रतिपक्ष दलका नेता डाक्टर रणबहादुर रावलले बताए ।
'नदीले सीमास्तम्भ नै कटान गरिरहेको छ, यो गम्भीर विषय हो, ' सोमबार सीमा क्षेत्रको अवलोकन गर्न पुगेका डा.रावलले भने, 'समयमा यसको रोकथान गर्न सकिएन भने भोलि दुई देशको सीमा सम्बन्धी विवाद हुन्छ ।'
उर्बरभूमि नदी कटानको चपेटामा परिरहेका बेला तत्काल स्थानीय, प्रदेश र संघीय सरकारले तदारुकताका साथ नदी नियन्त्रणका लागि पहल गर्नुपर्ने रावलले बताए । 'तीन तहकै सरकार मिलेर युद्धस्तरमा नदी नियन्त्रणको प्रयास गर्न जरुरी छ,' रावलले भने, 'सीमा मात्र नभएर यहाँका बासिन्दाको उठीबास लाग्न सक्छ ।'
हरेक वर्षायाममा तीब्र कटान हुँदै आएपनि यस वर्ष नदीले वर्षाभन्दा दुई महिना अघिदेखि नै कटान गरिरहेको स्थानीय बताउँछन् । दुई महिना अघिदेखि नै कर्णाली नदीले श्रीलंकामा कटान सुरु गरेको स्थानीय भोला चौहानले बताए । उनका अनुसार यस वर्ष मात्रै कर्णाली नदीले दश विघा बढी नेपाली भूमि कटान गरिसकेको छ ।
'यो कटान सुरु भएको दुई महिना भयो, पहिले थोरै थियो, केही दिन यता कटान तीव्र भएको छ,' चौहान भने, 'स्थानीयले खेती गरेको दश विघा भन्दा बढी जमिन कटान भइसक्यो, हामी चिन्तामा छौं ।'
बर्षेनि कर्णाली नदीले श्रीलंकामा सयौं विघा जमिन कटान गर्दै आएको छ । कटान नियन्त्रणका लागि ठोस पहल नहुँदा उर्बर भूमि नदीमा परिणत भइरहेको छ भने श्रीलंकामा रहेको बस्ती समेत जोमिखमा परेको छ । श्रीलंकामा झण्डै ३ शय स्थानीयहरु बसोबास गर्दै आइरहेका छन् ।