'रेड जोन' मै छैन भौतिक दूरी कायम
महेन्द्रनगर : सरकारले कोरोनाभाइरस महामारीको 'रेड जोन' अर्थात् खतरनाक क्षेत्रका रूपमा सुदूरपश्चिमका चारवटा जिल्ला समेटेको छ। देशभर २९ वटा जिल्लालाई 'रेड जोन' क्षेत्रका रूपमा वर्गीकृत गरिएको छ।
कञ्चनपुर, कैलाली, बैतडी र दार्चुला गरी सुदूरपश्चिमका चारवटा जिल्ला रेड जोनमा छन्। तर, रेड जोनमा परेको कञ्चनपुरमा भने सामाजिक दूरी वेवास्ता गरी सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ।
स्थानीय प्रशासनले लकडाउनलाई थप कडाइका साथ लागू गरिरहेका बेला मंगलबार बिहान बेदकोट नगरपालिकामा भने वृद्धभत्ता वितरणमा भीडभाड देखियो । वृद्धभत्ता वितरण गर्दा सामाजिक दूरी कायम गरेर वितरण गनुपर्ने भएपनि कञ्चनपुरको बेदकोट नगरपालिका वडा-७ मा बाक्लो भीडभाडमा वृद्धभत्ता वितरण गरिएको छ ।
सेवाग्राहीले भने वडा कार्यालयले व्यवस्थापन नगर्दा समस्या भएको बताएका छन् । 'वडा कार्यालयले लाइनमा दूरी कायम गरी राख्नुपर्ने हो, कसैले नियम नै मान्दैनन,' स्थानीय दिल कुमारी पाण्डेयले भनिन्।
वडा कार्यालयले दूरी कायम गरी बस्न भनेपनि सेवाग्राहीले नमानेको जनाएको छ । बेदकोट नगरपालिका-७ का वडा अध्यक्ष वीरबहादुर डगौराले सेवाग्राहीलाई दूरी कायम गरी बस्न आग्रह गर्दा नमानेको बताए ।
'हामी जनप्रतिनिधि कोही राहत वितरणमा त कोही भत्ता वितरणमा व्यस्त हुँदा व्यवस्थापन गर्न नसकिएको हो,' उनले भने,' सेवाग्राहीलाई दूरी कायम गर्न भन्दा मान्दै मान्दैनन् एक्लै व्यवस्थापन गर्न सकिएन ।' यसअघि भारतको उत्तराखण्डबाट नेपाल आएका बेदकोटका एकजनामा कोरोना संक्रमण देखिएको थियो ।