महोत्तरीमा मृतकको संख्या १३ पुग्यो
बर्दिबास : महोत्तरीको भंगहा नगरपालिका-७ मझौलियाकी ७० वर्षीया गर्भी देवीको ज्यान गएको छ। यसैसँगै वैशाख १० यता महोत्तरीको बर्दिबास र भंगहा नगरपालिकामा मृत्यु हुनेको संख्या १३ पुगेको जनस्वास्थ्य निरीक्षक गिरेन्द्र कुमार झाले जनकारी दिए।
‘खोकी लागेको थियो। श्वासप्रवासमा समस्या आएपछि गर्भीलाई अस्पताल ल्याइएको थियो। बेढमा सुताउन नपाउँदैं उनले दम तोडिन्,’ उनले भने, ‘उनलाई मझौलिया स्वास्थ्य चौकीमा उपचार गर्न ल्याइदैं थियो।’ उपचार गर्न स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर नभएको उनले बताए।
१० जनाको विषाक्त मदिरा पिएर मृत्यु भएको खुलेको छ, एक जानको औलोले ज्यान गएको बताइएको छ। तर, दुई जानको मृत्युको कारण अझै खुल्न सकेको छैन। गर्भीको दम रोगको कारण मृत्यु भएको भंगहा नगरपालिका मेयर संजीवकुमार साहको भनाइ छ।
यसैबीच प्रदेश सरकार र स्थानीय सरकार गम्भीर नबन्दा बिषात मदिरा नागरिकका लागि काल बन्दै गएको प्रदेशसभा सदस्य सारदा देवी थापाले बताएकी छन्। महोत्तरीको भंगहामा विष मिसिएको मदिरा पिएर ज्यान गुमाएका पीडित परिवारलाई भेट्न गएकी प्रदेशसभा सदस्य थापाले धनुषामा केही महिना पहिले मात्रै २० जनाको ज्यान गएको घटनाबाट सरकारले पाठ नसिकेको बताइन्।