कार्ल मार्क्सको मानमर्दन
काठमाडौं : मंगलबार कार्ल मार्क्सले यो संसारमा टेकेको दुई सय दुई वर्ष पूरा भयो। सन् १८१८, ५ मेमा पर्सिया (हालको जर्मन) मा उनको जन्म भएको थियो। मार्क्सवादी अध्ययन विधिकै कारण पछिल्ला मार्क्सवादीहरूले ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ गरेर क्रान्ति डोर्याए।
तर मार्क्स अहिले कम्युनिस्टबीच नै ओझेलमा छन्। कोरोना कहरमा जनताका क्रन्दनमा मल्हम लगाउन छाडेर नेपालका मार्क्सवादी सत्ताकै छिनाझप्टीमा छन्। गरिब वर्गभन्दा पुँजीपति वर्गकै पृष्ठपोषण भइरहेको छ। मार्क्सको मानमर्दन भइरहेको छ। त्यसैले त कवि संगीत श्रोता झलकमान गन्धर्वले गाउने कर्खा शैलीमा मार्क्सलाई जोडेर व्यंग्य कविता लेख्छन्ः
मार्क्सले सोध्लान् नि
खोइ वर्ग भन्लान् ?
हवाईजाज चढ्यो भन्दिए...
लेनिनले सोध्लान् नि
खोइ क्रान्ति भन्लान् ?
भ्रान्ति भयो भन्दिए...।
साहित्यकार एमपी खरेलका अनुसार आधुनिक मानविकी तथा सामाजिक शास्त्रका विभिन्न ज्ञानका शाखामा मार्क्सको विचार प्रभाव व्यापक छ। यी ज्ञान शास्त्रका जुनसुकै विद्यार्थीले उनको विचार धेरै थोरै पढेकै हुन्छन्। उनका विचारले विशेष गरी दर्शनशास्त्र, अर्थशास्त्र, समाजशास्त्र, इतिहास, राजनीतिशास्त्र, संस्कृति, साहित्यिक सिद्धान्तजस्ता ज्ञानका शाखाहरूमा प्रभाव पारेको देखिन्छ। खरेलका विचारमा मार्क्सलाई कस्ले कसरी पढ्यो, कसरी बुझ्यो त्यो छलफलको अर्को पाटो हो। तर उनको सबैभन्दा शक्तिशाली पाटो भनेको ज्ञानको विकासमा आलोचनात्मक चिन्तनमा जोड दिनु हो।
वास्तवमा मार्क्सको विचार र सिद्धान्तको आधारमा वर्तमान साम्यवाद (कम्युनिज्म) को जन्म भएको हो। उनी र फ्रेडरिक एंगेल्सले सन् १८४८ मा प्रकाशित कम्युनिस्ट घोषणापत्रको प्रथम अध्यायको पहिलो पंक्तिमा आफ्नो दृष्टिकोणको सारमा ‘अहिलेसम्मको सम्पूर्ण समाजको इतिहास वर्ग संघर्षको इतिहास हो’ भन्ने लेखेका थिए।
मार्क्सले सन् १८४२ मा ब्रुनो बुयरसँग मिलेर ‘रेन्चे जाइतुङ’ नामक पत्रिका प्रकाशन गरे। पत्रिकामा किसानमाथि गरिएको विभेदविरुद्ध लेखिएपछि सरकारले प्रतिबन्ध लगायो र उनलाई देश निकाला गरियो। उनी पेरिस पुगे। पर्सियन सरकार (हालको जर्मन) सरकारले दबाब दिएपछि मार्क्सलाई पेरिस बस्न पनि प्रतिबन्ध लाग्यो र उनी ब्रसेल्समा पुगे।। सोही वर्ष एंगेल्सको ‘कन्डिसन्स अफ दी वर्किङ क्लास इन इंग्ल्यान्ड’ प्रकाशित भएको थियो। एंगेल्ससँगै मार्क्स इंग्ल्यान्ड पुगे।
मार्क्स र एंगेल्सले सन् १८४८ मा कम्युनिस्ट पार्टीको घोषणापत्र तयार पारे। यसले युरोपमा ठूलो तहल्का पिट्यो। ब्रसेल्सबाट पनि निस्कासनमा परेपछि मार्क्स फेरि पेरिस फर्किए, त्यसपछि कोलोन पुगे। त्यहाँ उनले, क्लास स्ट्रगल इन फ्रान्स, दी एटिन्थ ब्रुमेएर अफ लुई बोनापार्ट, ‘रिभ्योलुसन एन्ड काउन्टर रिभ्योलुसन इन फ्रान्स’ लेखे। जर्मन र फ्रान्सबाट पुनः लखेटिएपछि १८४९ मा लन्डनमा बस्न थाले र जीवनभर त्यहीँ रहे । १८८३ मार्च १४ मार्क्सको देहान्त भयो।