भक्तपुरको बोझिनी तलाउ तेब्बर ठूलो बनाइँदै
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित बोझिनी खोलामा बाँध निर्माण गरेर बनेको कृत्रिम तलाउ तेब्बर ठूलो बनाउने कार्य धमाधम भइरहेको छ।कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न देशव्यापी लकडाउनकै बीच उक्त तलाउको क्षेत्रफल बढाउने काम भइरहेको हो।
करिब ८० लाख लिटर क्षमताको कृत्रिम तलाउलाई दुई करोड लिटर पानी अट्ने बनाउने कार्य अघि बढाइएको छ। कृत्रिम तलाउ रहेको महामञ्जुश्री सामुदायिक वन उपभोक्ता समूहले उक्त कार्य गरिरहेको हो। समूहलाई चाँगुनारायण नगरपालिकाले आर्थिक सहयोग गरेको छ।समूहका अध्यक्ष राजेन्द्र तिमिल्सिनाले करिब ३१ लाख रुपैयाँको लगत इस्टिमेटअनुसार काम भइरहेको जानकारी दिए।
तलाउको सतहमा हिलो माटो पुरिँदै आएकाले सफा गर्ने र क्षेत्रफल बढाउने काम भइरहेको उनले बताए।‘सतहमा माटो जमेर तलाउ साँघुरिएकाले पानी सबै खोलेर सफा गर्ने र क्षेत्रफल बढाउने काम भइरहेको हो’, अध्यक्ष तिमिल्सिनाले भने, ‘क्षेत्रफल बढाएका ठाउँमा सुरक्षा पर्खाल पनि लगाउँछौं।’तलाउको सतह र उत्तर तथा पश्चिमतिरको डिल फोरेपछि निस्किएको माटो सोर्न र फाल्न अहिले बोझिनी बाँधस्थलमा स्क्याभेटर र ट्रिपरहरुलाई भ्याईनभ्याई भइरहेको छ।
अध्यक्ष तिमिल्सिनाले तलाउको सहत माटोले पुरिँदै आउँदा तलाउमा पानीको मात्रा घट्दै आएको र त्यसले कम क्षेत्रफलमा मात्रै सिंचाइ पुगेको सुनाए। तत्कालीन सुडाल गाउँ विकास समितिको वडा नं ६ र ७ को सिमानामा पर्ने बोझिनी खोलामा वर्षाको पानी संकलन गरी सुख्खा याममा सिँचाइ सुविधा पु¥याउन सरकारले करिब एक करोड ६५ लाख रुपैयाँ लागतमा बाँध निर्माण गरेको थियो। २०७२ सालमा निर्माण पूरा भएको बाँध ४५ मिटर लामो छ। त्यस्तै बाँध जगसहित साढे पाँच मिटर अग्लो रहेको छ। ५.६ मिटर चौडाइ जग भएको बाँध माथि आएर १.१५ मिटरमा टुंग्याइएको छ।
यस कृत्रिम तलाउ निर्माणसँगै साविक सुडालका वडा नं. ६, ७ र ८ सम्म सिँचाइको लागि पाइपलाइन बिछ्याइएको छ। बेमौसमी तरकारी खेतीका लागि आवश्यक सिँचाइको लागि कृत्रिम तलाउ निर्माण गरिएको थियो। स्थानीयका अनुसार बोझिनी खोलामा बाह्रै महिना पानी बग्छ। अहिले तलाउको क्षेत्रफल बढेपछि सुडालका करिब दुई हजार रोपनी जमिनमा सिँचाइ गर्न पानी पुग्ने अध्यक्ष तिमिल्सिनाले दाबी गरे।
उनका अनुसार लकडाउनका कारण सिँचाई विभाग तथा पर्यटन विभागबाट छुट्याइएको ३०÷३० लाख रुपैयाँको योजनासम्बन्धी सम्झौता गर्न सकिएको छैन। सिंचाइ विभागले कृत्रिम तलाउ तथा पाइपलाइन स्तरोन्नति र पर्यटन विभागबाट वातावरण संरक्षण गर्न उक्त रकम उपलब्ध गराउने भएको उनले बताए।
यो कृत्रिम तलाउ पछिल्लो समय आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बनेको थियो। पर्यटकीयस्थल नगरकोटबाट सुडाल भएर भक्तपुर फर्कने बाटोमै रहेकोले नगरकोट जाने तथा फर्कने आन्तरिक पर्यटक उक्त कृत्रिम तलाउ पनि पुग्ने गर्दै आएका थिए।
गर्मीको मौसममा यस तलाउमा पौडी खेल्न जानेहरुको संख्या पनि कम थिएन। आन्तरिक पर्यटकहरुको घुइँचो बढ्न थालेपछि उक्त कृत्रिम तलाउमा डुंगा सयरको व्यवस्था गर्नुपर्ने माग समेत भएको छ।