लकडाउन विस्तारसँगै पीसीआरको दायरा बढाउन माग
काठमाडौं : कोरोना भाइरसबाट संक्रमणको जोखिम न्युनिकरण गर्न लकडाउनका साथै पोलिमरेज चेन रियाक्सन( पीसीआर) विधिको परीक्षणको दायरा विस्तार गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन । पीसीआर परीक्षण विस्तार नगरी लक डाउनमात्र घोषणाले जनतामा नैरास्यता आउने विरोध सिर्जना हुने उनीहरुको सुझाव छ ।
कोरोनाको संक्रमण सुरु भएयता पीसीआर विधिबाट हालसम्म १३ हजार ८ सय ५० नमुना परीक्षण गरिएको छ। त्यस्तैगरी दु्त परीक्षण किट (आरडीटी)बाट गरिएका परीक्षण विधि ५२ हजार २ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
दु्त परीक्षण भन्दा पीसीआर भरपर्दो र विश्वसनीय भएकोले दायरा विस्तार गर्नुपर्ने विज्ञहरुको सुझाव छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले अहिले आरडीटीभन्दा पीसीआर विधिलाई बढी महत्व दिनुपर्ने बताए । उनले भने, 'लक डाउनको घोषणा गर्ने हो भने पीसीआर जाँचको दायरालाई पनि विस्तार गर्नुपर्छ । लक डाउनको निरन्तरता मात्र समाधानको उपयुक्त विकल्प होइन ।'
मुलुकमा हालसम्म मुलुकभर १८ वटा विभिन्न प्रयोगशालाबाट पीसीआरबाट नमुना परीक्षण भइरहेको छ । मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पनि सोमबारदेखि पीसीआर विधिबाट परीक्षण सुरु गरिएको हो ।
बाँकेको नेपालगन्जमा लक्षणविहीन संक्रमितको संख्या वृद्धि भएसँगै पीसीआरको दायरा विस्तारको खाँचो झन बढेको पाइएको छ । नेपालगन्ज-८ का २२ जना र नेपालगन्ज-१५का एकजना गरी २३ जनामा संक्रमण पाइएको छ । स्थानीयले सामाजिक तथा व्यक्तिगत दुरी कायम नगरेको पाइएकोले यसको जाँचलाई यथाशीघ्र अघि बढाउनु पर्ने विज्ञहरुको सुझाव छ । समुदायको क्लोज टेस्टिङ गर्नुपर्ने आवश्यकता रहेको छ ।
डा. प्याकुरेल भन्छन, 'लक डाउन कहिलेसम्म निरन्तरता दिने भन्ने कुराको टुंगो पीसीआर विधिबाट गरिने जाँचपछि टुंगो लगाउन सकिन्छ । पीसीआरको दायरा नबढाउने तर लक डाउन मात्र लम्ब्याइरहँदा जनतामा धैर्यताको बाँध फुटन सक्छ ।'
हरेक परिवारमा पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने डा. प्याकुरेलको सुझाव छ ।आरडीटी परीक्षणको गुणस्तरमा पनि विज्ञहरुले शंका गरेका छन्। पीसीआर किट उपलब्धता समेत हुन सकेको छैन । बरिष्ठ आइसीयु विशेषज्ञ डा. अर्जुन कार्की पनि पीसीआर विधिबाट गरिने परीक्षणको विस्तार गर्नुपर्ने बताउँछन् ।
डा. कार्की भन्छन, 'अहिलेसम्म जति संक्रमित फेला परेकै कारण परीक्षणको दायरा विस्तार गरेका कारणले हो । परीक्षण बढाउने हो भने अन्य संक्रमित पनि भेटिने संभावना हुन्छ । संक्रमण फैलनबाट जोगाउन सकिनछ ।'
नेपालगन्जबाट प्रकाशित कालपृष्ठ दैनिकका सम्पादक हेमन्त कर्माचार्यका अनुसार स्थानीयलाई विचलित बनाउने कार्यले असहज अवस्थाको सिर्जना हुन सक्छ । उनी भन्छन, 'संघीय सरकारले पीसीआर विधिबाट समुदायमा जाँच गर्न नसके प्रदेश वा स्थानीय तहबाट हुनु पथ्र्यो । सांसदले पनि वैकल्पिक स्रोतको खोजी गरी पीसीआर जाँचबाट घर घरमा परीक्षण गर्ने व्यवस्था मिलाउनु पथ्र्यो । सबैतिरबाट मन विचलित गराउने कार्य भइरहेको छ ।'
कर्माचार्यले कोरोना भाइरसको नियन्त्रण, रोकथाम र उपचारमा प्रदेश र स्थानीय तहको कार्य प्रभावकारी हुन नसकेको बताए । क्लोज ट्रेसिङ र पीसीआर परीक्षणलाई यथाशीघ्र विस्तार गर्नुपर्ने खाँचो रहेको उनको भनाइ छ ।
मुलुकमा २१ हजार ९९ जना अहिले पनि क्वारेन्टाइनमा बसिरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाकाले जानकारी दिए । जसमध्ये प्रदेश नं १मा दुई हजार १ सय २४ , पदेश नं मा एक हजार ९०, बाग्मतीमा २सय ५८ , गण्डकीमा ७ सय २६ , प्रदेश नं ५मा ८ हजार ९ सय २२ र कर्णाली प्रदेशमा ३ हजार ७ सय ५४ र सुदूरपश्चिम प्रदेशमा ४ हजार २५ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन ।
कोराना संक्रमणको संभावित व्यक्ति १ सय २० जना आइसोलेसनमा छन । जसमध्ये काठमाडौं उपत्यकामा दुई जना र बाँकी काठमाडौं बाहिर १ सय १८ जना छन । रेड जोनमा परेका ३ सय ३० जनाको खोजी भइरहेको मन्त्रालयले जनाएको छ । ‘यी व्यक्तिहरु सम्भावित संक्रमित हुन सक्ने भएकोले खोजी गरिरहेका छौं,' डा. देवकोटाले भने । हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । जसमध्ये ६१ पुरुष र महिला २१ जना महिला छन्।