रोग प्रतिरोधात्मक शक्ति बढाउन क्वारेन्टाइनमा योगा
भैरहवा : रुपन्देहीको एक क्वारेन्टाइनमा योगा गराउन सुरु गरिएको छ । रोगबाट लड्न सक्ने क्षमता विकास गर्नका लागि रुपन्देहीको कोटहीमाई गाउँपालिकाले क्वारेन्टाइनमा योगा गराउन सुरु गरेको हो ।
शरीरमा प्रतिरोधक शक्ति कमजोर भएको बखत रोगले आक्रमण गरेमा व्यक्ति रोगको शिकार हुन पुग्छ । भारतबाट आएका यही गाउँपालिकाको एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देहीको पिछिडिएको क्षेत्र मानिने मर्चवारको कोटहीमाई गाउँपालिका ५ मझगावा स्थिती श्री मर्चवार आदर्श मा.विको क्वारेन्टाइनमा ३१ जना छन् । प्रदेश नम्बर ५ को स्वास्थ्य निर्देशनालय, लुम्बिनी आयुर्वेद चिकित्सालयले गाउँपालिकाको क्वारेन्टाइनमा पहिलो दिन प्रशिक्षणसमेत दिएको थियो ।
कोरोना संक्रमणसगँ जुध्नका लागि क्वारेन्टाइनमा रहेका सर्वसाधरणहरुको शरीरमा प्रतिरोधक शक्ति, आत्मबल बढाउनका लागि योगा गराउन सुरु गरिएको कोटहीमाई गाउँपालिकाका आयूर्वेद शाखाका प्रमुख डा. रविन्द्र मिश्राले बताए ।
‘शरीरमा प्रतिरोधक शक्ति कम भएका व्यक्तिहरुलाई रोगले आक्रमण गर्ने गरेको देखिएको छ’ उनले अन्नपूर्णसगँ भने, ‘त्यसैले क्वारेन्टाइनमा रहेका सर्वसाधरणहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै योगा गराउन थालेका छौँ ।’
क्वारेन्टाइनमा सर्वसाधरणहरुलाई श्वासप्रश्वास क्रिया (प्राणायाम) अन्तरगत अनुलोम विलोम, भास्त्रीका, कपालभाति, भ्रामरी, उज्जायी र व्यायाम (योगासन) अन्तरगत सुक्ष्म योग, वज्रासन र हास्यासन योगा गराइएको छ ।
‘सर्वसाधरणहरुलाई प्रशिक्षण दिएर योगाका यी विधिहरु गर्न लगायौँ’ उनले भने, ‘उनीहरुलाई आफैँ गर्न लगाउँदा कही कही त्रुटी गरेको पाइएपछि योगाको एक जना दक्ष कर्मचारी नै खटाएर गराउन लागेका छौँ ।’
क्वारेन्टाइनमा प्रत्येक दिन बिहान करिब एक घण्टा योगा गराउने गरिएको छ । क्वारेन्टाइनमा रहेका सर्वसाधरणहरुको आत्मबल बढाउन र खुशी राख्नका लागि काउन्सिलिङसमेत गर्ने गरिएको क्वारेन्टाइनको व्यवस्थापन प्रमुख एवं गाउँपालिका इन्जिनियर मोहम्मद नुरुल होदाले बताए ।
‘धेरै दिनदेखि क्वारेन्टाइनमा बसेर आत्तिएका छन् , परीक्षण नहुँदा केही त्रास र तनावमा पनि छन्’, डा. मिश्राले भने, ‘यही त्रसित मनोविज्ञानलाई चिर्न, आत्मबल, प्रतिरोधक शक्ति बढाउन, तनाव कम गराउनका लागि योगा गराइरहेका छौँ ।’
योगाका साथसाथै सर्वसाधरणको प्रतिरोधक शक्ति बढाउने तथा स्वास्थ्यलाई फाइदा पुर्याउने आयूर्वेद औषधी समेत दिने गरिएको छ । सर्वसाधरणहरुलाई क्वाफ पिउन गुर्जो (गिलोय), अर्सुगन्धा, अमलाको चुर्ण, प्रसुति स्त्रीको लागि सतावरी चुर्ण लगायत औषधी दिने गरिएको डा. मिश्रा बताए ।
आयूर्वेद औषधी र योगा गराउन थालेपछि क्वारेन्टाइनमा रहेका सर्वसाधरणहरुको त्रसित मनोविज्ञानमा परिवर्तन भइरहेको र खुशी पनि हुँदै गएको देखिएको आयूर्वेद शाखाका प्रमुख डा. मिश्राले बताए ।