संस्कृत विषयको पाठ्यक्रम स्वीकृत

संस्कृत विषयको पाठ्यक्रम स्वीकृत

काठमाडौं : सरकारले विद्यालय तहमा कक्षा एकदेखि नै संस्कृत विषय पठनपाठन सञ्चालन गर्ने भएको छ। यही शैक्षिक सत्रदेखि संस्कृत विषय पढाइ सुरु गरिने शिक्षा मन्त्रालयले जनाएको छ। कक्षा एकमा नयाँ पाठ्यक्रमअनुसार पढाइ सञ्चालन हुनेछ। शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा एकमा पढाउन बनाइएको संस्कृत विषयको पाठ्यक्रम स्वीकृति दिएको छ।

यो पाठ्यक्रम विज्ञको सहयोगमा लकडाउनको अवधिमा बनाएर केन्द्रले स्वीकृति दिएको हो। स्थानीय पाठ्यक्रमको रुपमा इच्छुक विद्यालयले सोही पाठ्यक्रमलाई आधार मानेर संस्कृत पढाइ सञ्चालन गर्न सक्ने केन्द्रले जनाएको छ। संस्कृत विषयको नाम अस्माकम् संस्कृत (हाम्रो संस्कृत) दिइएको छ।

यसअघि सामान्य धारका विद्यालयमा पनि कक्षा ४ देखि ८ सम्म ऐच्छिक विषयका रूपमा संस्कृत विषय पढाइ हुन्थ्यो। तर, तत्कालीन माओवादी द्वन्द्वका क्रममा उसका कार्यकर्ताले विद्यालय छिरेर संस्कृत विषयको पुस्तक च्यात्दै शिक्षकलाई समेत कक्षामा प्रवेश गर्न नदिने अभियान सञ्चालन गरेपछि अधिकांश पढाइ बन्द भएको थियो। केही विद्यालयले भने अहिले पनि ऐच्छिक विषयका रूपमा पढाइरहेका छन्।

संस्कृत धारका विद्यालयले भने कक्षा १२ सम्म नै यो विषय पढाइरहेका छन्। तर, यस्ता विद्यालय थोरै रहेको मन्त्रालयले जनाएको छ। केन्द्रका प्रवक्ता गणेश भट्टराईले आउने वर्ष कक्षा दुईको र तेस्रो वर्ष कक्षा तीनको पनि पाठ्यक्रम बनाइने बताए।

‘यो वर्ष कति विद्यालयले लागू गर्छन्। यसकै आधारमा अर्को वर्षका लागि पाठ्यक्रम बनाइनेछ’, भट्टराईले भने। पछिल्लो समय संस्कृत भाषामा हरेक तहका नागरिकको आकर्षण बढ्दै गएकाले यस वर्षदेखि धेरै विद्यालयले यो विषय पढाइ सञ्चालन गर्ने विश्वास केन्द्रले लिएको छ।

नयाँ पाठ्यक्रमअनुसार कक्षा एकमा पाँच वटा विषय पढाइ हुन्छ। जसमध्ये चार वटा विषय संघीय सरकारले तोकेअनुसार हुन्छ। एक विषय भने ऐच्छिक रूपमा संस्कृत वा स्थानीय स्तरमा प्रचलित अन्य विषय पनि पढाउन सक्छ।

केन्द्रले संस्कृतसँगै अन्य २६ वटा स्थानीय विषयको पनि पाठ्यक्रम बनाएको छ। भाषा आयोगले पनि सरकारलाई संस्कृत, पाली र भोट भाषालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न सिफारिस गरेको थियो।

पाली गौतमबुद्धले उपदेश दिएको भाषा हो। नेपाल, श्रीलंकालगायत बुद्धमार्गी रहेको मुलुकमा यो भाषाको प्रचलन छ। भोट पनि बुद्धमार्गीकै भाषा हो। जुन तिब्बतबाट आएको मानिन्छ। ‘वास्तवमा संस्कृत सबैले पढ्नुपर्ने भाषा हो। अधिकांश भाषाको स्रोत संस्कृत हो’, प्रवक्ता भट्टराईले भने, ‘पाठ्यक्रम बनाइसके पनि धेरै ठाउँबाट सकारात्मक प्रतिक्रिया आएका छन्। लकडाउनको अवधिलाई राम्रैसँग सदुपयोग गरियोजस्तो लागेको छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.