ओली–देउवा छलफल, अलपत्र नेपालीको उद्धार गर्न आग्रह

ओली–देउवा छलफल, अलपत्र नेपालीको उद्धार गर्न आग्रह

काठमाडौं : प्रमुख प्रतिपक्षी कांग्रेसले विदेशमा अलपत्र नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएको छ। अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नु सरकारको कर्तव्य भएको स्पष्ट पार्दै कांग्रेसले नागरिकलाई फिर्ता ल्याउनेबारे व्यवस्थित योजना बनाएर कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार प्रधानमन्त्री केपी ओलीसँग टेलिफोन संवाद गरी कुवेतलगायत विभिन्न देशमा रहेका नेपालीलाई स्वदेश ल्याउने काम थाल्न माग गरेका हुन्।

‘वैदेशिक रोजगारीमा गएका नेपाली होउन् या अरू कोही’, कांग्रेस संसदीय दलले उद्योग व्यवसायीसँग बुधबार गरेको छलफलमा देउवाले भने, ‘सीमानाकामा महिनादेखि नेपाली बसिरहेका छन्। उनीहरूलाई पनि नेपाल आउन दिनुपर्‍यो। अरू समस्यामा परेकाहरूलाई स्वदेश ल्याउनूस् भनेर मैले प्रधानमन्त्रीलाई भनेको छु।’

जवाफमा प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपाली ल्याउनेबारे सरकारले छलफल गरिरहेको जानकारी गराएका थिए। कुवेतमा ३ हजार नेपाली सेल्टरमा रहेको र वैदेशिक रोजगारीको सिलसिलामा अन्य मुलुकमा रहेका नेपाली पनि संकटमा रहेकाले उनीहरूको उद्धार गर्न देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

‘कुवेत सरकारको सेल्टरमा राखिएका करिब ३ हजार एवं पश्चिम एसियाका अन्य देशमा अप्ठ्यारोमा रहेका र विश्वभर अप्ठ्यारोमा रहेका नेपालीलाई क्रमशः उद्दार गर्नेबारे सरकारले व्यवस्थित योजना बनाएर क्रमशः कार्यान्वयन गर्न सभपाति देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो’, कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

‘केन्द्रीय सरकारले उद्धार गर्ने एवं प्रदेश र स्थानीय सरकारको समन्वयमा मापदण्डयुक्त क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेर मात्रै घर जान दिने गरी व्यवस्थित र कडाइसाथ कार्य गर्न र गराउन प्रधानमन्त्रीसमक्ष सभापतिले आग्रह गर्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिले मंगलबार सरकारलाई विदेशमा अलपत्र नागरिकलाई स्वदेश ल्याउन निर्देशन दिएको थियो।

कांग्रेस सभापति देउवाले नेपालगन्जसहित पछिल्लो समय कोरोनाबाट बढी प्रभावित क्षेत्रमा परीक्षण बढाउन र नागरिकलाई भयमुक्त वातावरणमा बस्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीलाई आग्रह गरे।

विशेष अर्थसमिति गठन

यसैबीच, कांग्रेसले कोभिड–१९ को प्रभावबारे अध्ययन र विश्लेषण गर्न विशेष समिति गठन गरेको छ। सभापति देउवाले पूर्वअर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन गरेका हुन्।

समिति सदस्यमा पूर्वअर्थमन्त्री, अर्थ राज्यमन्त्री, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरेका, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसहित १४ जना छन्।

समितिमा महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा.नारायण खड्का, डा.मीनेन्द्र रिजाल, चीनकाजी श्रेष्ठ, दीपकुमार उपाध्याय, भरत शाह र उदय शमशेर राणा, डा.पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा.जगदीशचन्द्र पोखरेल, डा.गोविन्द पोख्रेल र डा. स्वर्णिम वाग्ले सदस्य छन्।

समितिले तत्कालीन रूपमा अत्यावश्यक राहतबारे सुझाव, आगामी बजेटको प्राथमिकता तथा दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्रबारे दूरगामी दृष्टिकोण निर्माण गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.