अझै तीन दिन वर्षा हुने
काठमाडौं : पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत आएको जलवाष्पयुक्त हावाको प्रभावले बिहीबार देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले निकालेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा पूर्वी भु-भाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको उल्लेख गरिएको छ।
हाल देशको सुदुरपश्चिमीका भू-भागमा सामान्य बदली र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ।
बिहीबार दिउँसो देशको पश्चिमी भू-भागमा सामान्य बदलि र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पश्चिमी भू-भागका केहि स्थानहरूमा र मध्य/पूर्वी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
शुक्रबार देशभर बिहानीपख आंशिक बदली र दिउँसो पश्चात सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केहि स्थानहरूमा साथै तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।
शनिबार देशभर बिहानीपख आंशिक बदली र दिउँसो पश्चात सामान्य बदली रहनेछ। देशको पश्चिमी /मध्य भू-भागका केहि स्थानहरूमा साथै पूर्वी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।