वर्षा याम नआउँदै हनुमन्तेको चिन्ता

वर्षा याम नआउँदै हनुमन्तेको चिन्ता

भक्तपुर : कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापनमा क्रियाशील भक्तपुरको प्रहरी प्रशासनलाई थप अर्को चिन्ता आइलागेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले घोषणा गरेको देशव्यापी लकडाउन पालना गराउन खट्नुपर्ने प्रहरी प्रशासनलाई भक्तपुरका हनुमन्ते खोलाको चिन्ता थपिएको हो ।

वर्षा याममा हनुमन्ते खोलामा आउने बाढीले डुबानको समस्या पार्दै आएको छ । अहिले प्रिमनसुन सक्रिय भइरहेको छ । प्रिमनसुनकै बेला हनुमन्ते खोलामा बाढी आएपछि प्रहरी प्रशासनलाई चिन्ता बढाएको हो । प्रत्येक वर्षको वर्षायाममा हनुमन्ते खोलामा आउने बाढीले खोला दायाँबायाँबा बस्ती डुबाउँदै आएका छन् । जसले गर्दा हनुमन्ते खोला दायाँबायाँका सर्वसाधारणले वर्षायामभर राम्ररी सुत्नसमेत पाउँदैनन् । हनुमन्ते खोलामा आएको बाढी कहिले आफ्नो घरआँगन पस्ने हो भन्ने त्रासमा उनीहरु अनिँदो बस्नुपर्ने समस्या रहँदै आएको छ ।

हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर नपा १ स्थित सल्लाघारी, सृजनानगर र मध्यपुर थिमि नपा ९ स्थित निकोसेरा, राधेराधे, वडा नं ४ स्थित बालकुमारी, नयाँठिमी, चारदोबाटो क्षेत्रको खोला किनारको वस्ती डुबाउँदै आएको छ । त्यस्तै सूर्यविनायक नपा ५ स्थित कटुञ्जे, वडा नं. ४ स्थित दधिकोट, वडा नं. २ र ३ स्थित बालकोट क्षेत्रमा डुबानको समस्या हुँदै आएको छ ।

त्यसैले यसवर्ष हनुमन्ते खोलाले डुबानको समस्या आउने हो कि भन्ने यहाँका प्रहरी प्रशासनलाई चिन्तामा पारेको हो । उक्त चिन्ताबाट मुक्त हुन भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधान नेतृत्वको टोलीले हनुमन्ते खोलाको अवस्था निरीक्षण गरेको छ । प्रिमनसुनमै बढी वर्षा हुन थालेकोले उक्त टोलीले हनुमन्ते खोलाको अवस्थाबारे स्थलगत निरीक्षण गरेको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।

उनका अनुसार खोलाको दायाँबायाँ हनुमन्ते कोरिडोरको नाउँमा सडक विस्तार तथा केही ठाउँमा पुल निर्माण भइरहेका छन् । कोरिडोर र पुल निर्माणको कारण कतै हनुमन्ते खोलाको प्राकृतिक बहाव थुनिएको छ वा छैन भनी बुझ्न निरीक्षण गरिएको प्रहरी उपरीक्षक प्रधानले स्पष्ट पारे ।
‘वर्षायाम नजिकिँदैछ । त्यसैले अघिल्लो वर्षजस्तो हनुमन्ते खोला बस्तीमा पसेर डुबान हुने स्थिति भए नभएको निरीक्षण गरेका हौं’, उनले भने, ‘केही ठाउँमा हनुमन्ते खोलाका प्राकृतिक बहावलाई बाधा पुर्‍याउने अवस्था देखेका छौं । ती ठाउँमा सुधार गर्नुपर्ने देखिन्छ ।’

उनका अनुसार हनुमन्ते खोलाको राधे राधे र दक्षिण बाराही क्षेत्रमा खोलाको बहावमा बाधा पुग्ने देखिएको छ । यी दुवै ठाउँमा पुल निर्माण भइरहेको छ । राधेराधेमा हनुमन्ते कोरिडोर निर्माणको क्रममा ग्याबिन वाल उठाउन खनेको माटो खोलामा थुपारिएर हटाइएको छैन । जसले गर्दा खोला उकासिएर पानीको बहावमा बाधा पुग्ने देखिएको प्रहरी उपरीक्षक प्रधान बताउँछन् ।

त्यस्तै मध्यपुर थिमी नपा ४ शंखधर चोक भएर सूर्यविनायक नपा ४ दधिकोट जाने दक्षिण बाराही क्षेत्रमा पनि पुल निर्माणको लागि खनेको माटो हनुमन्ते खोलामै थुपारिएको छ । त्यसले पनि हनुमन्ते खोलाको प्राकृतिक बहावमा बाधा पुग्ने अवस्था रहेको छ । गएको सातादेखि अहिले दैनिकजसो वर्षा भइरहेको छ । जसमध्ये बिहीबार आएको वर्षाले हनुमन्ते खोलाको सतह वर्षायामकै स्तरमा आएको प्रहरीले जनाएको छ । अहिले तर बिहीबार हनुमन्ते खोलाको पानी बस्तीमा पसेको छैन । हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर नगरस्थित हनुमानघाट, चुपीँघाट, राममन्दिर र बाराहीस्थानस्थित मंगलतीर्थलाई भने डुबाएको थियो ।
प्रहरी उपरीक्षक प्रधानले यस वर्ष हनुमन्ते खोलाकै कारण हुने डुबानको समस्या हुन नदिने अहिल्यै सतर्कता अपनाउन थालिएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.