सहयोगी हातहरूलाई सलाम

सहयोगी हातहरूलाई सलाम

कोरोना कोषको प्रयोग र परिचालनमा हामी सबैले निगरानी राख्नुपर्छ। बरु, यहाँ अर्को एउटा जोखिम छ, कतै सहयोगको नाममा कालोधनको उपयोग हुने त होइन ?


कोरोना कहरको यस घडीमा केही मानिसहरू रोग र भोकबाट पीडित समुदायको सेवामा कस्सिएर लागेका छन्। अहिलेको संकटग्रस्त परिस्थितिमा यस्तो स्वतःस्फूर्त सहयोगको ठूलो महत्तव रहन्छ। यो मानवतासँगै जोडिएको विषय हो। मानव सहयोगका कुरामा सल्लाह र सुझाव त धेरैले दिन्छन् तर यसमा आफ्नै पनि भूमिका देख्नेचाहिँ कमै हुन्छन्। यो एक उत्साहजनक कुरा हो। तर अर्कातिर, आधारभूत वस्तु र सेवाको आवश्यकता र अभावलाई अवसरका रूपमा उपयोग गर्दै यही मौकामा कुम्ल्याउनेहरूको जमात पनि रहेकै छ। यी कुम्ल्याउनेहरू मानवीय आवश्यकताबाट निर्देशित छैनन्। सायद लोभबाट होलान्। अथवा यिनमा आफ्नो भविष्यलाई लिएर ठूलो असुरक्षाभाव हुँदो हो। यस्ता कुप्रवृत्तिहरूको बेवास्ता गर्दै मानव–सेवामा समर्पित रहन चाहनेहरूलाई कसरी बुझ्ने ?

आवश्यक परेको बेलामा अरूलाई सहयोग गर्नु मानवीय स्वभाव हो। मनोवैज्ञानिक अध्ययनहरूले के देखाएका छन् भने मानिसलाई निर्णय गर्न जति छोटो समय दियो, उति नै उनीहरूको निर्णय परोपकारका पक्षमा जान्छ। विचार गर्ने समय बढी दिइयो भने निर्णय व्यक्तिको आफ्नो हितका पक्षमा जान्छ। अर्थात, नैसर्गिक स्वभावलाई लाभ—हानिको विश्लेषणले प्रभावित गर्छ। मानव–प्रेमजस्तो नैसर्गिक स्वभावलाई हामीले बचाएर नै राख्नुपर्छ।

मानव—प्रेमको अवधारणाले सहयोग र सशक्तीकरण दुवैलाई जोड दिन्छ। यस अवधारणाको विकासको इतिहास नै त्यस्तै छ। पश्चिमी सभ्यतामा यसको सुरुआत् ईसापूर्व पाचौं शताब्दीदेखि नै भएको ग्रिक साहित्यको अध्ययनबाट थाहा हुन्छ।

यसै समयमा लेखिएको ‘प्रमिथस बाउण्ड’ भन्ने नाटकका प्रमुख पात्र प्रमिथसले त्यसबेलाका जंगली मानिसहरूलाई आगो दिएर सहयोग गरेका थिए (नेपाली पाठकहरूमाझ प्रमिथसलाई महाकवि देवकोटाले आफ्नो यसै नामको महाकाव्यबाट चिनाएका हुन्)। यो काम चानचुने थिएन। त्यतिबेला आगो देउताहरूसँग मात्र हुन्थ्यो। मानवलाई देउताहरूमा भर पर्नुपर्ने बाध्यताबाट मुक्ति दिलाउन चाहन्थे प्रमिथस। त्यसैले उनले स्वर्गबाट आगो चोरेर ल्याई मान्छेलाई दिए। यसका लागि उनले कम्ती कडा दण्ड सहनु परेन। यता पूर्वीय सभ्यतामा ऋषि दधिचीलाई समाजको भलाइका लागि जुनसुकै कुरा पनि दिन सक्ने समाज—प्रेमीका रूपमा चिनिन्छ। उनले देवता र राक्षसको लडाइँमा देवताको विजय गराउन नभई नहुने आफ्नै शरीरका हाड देवताहरूलाई दिएका थिए। उनको हाडबाट बनेको बज्रको प्रहारविना इन्द्रभन्दा पनि शक्तिशाली वृत्र नामको राक्षसलाई हराउन सकिने थिएन। यी दुवै पौराणिक प्रसंगले के देखाउँछन् भने मानव—प्रेमीहरूको काम सहयोगको तात्कालिक आवश्यकता पूरा गर्नेमा सीमित हुँदैन। यसले क्षमताको विकास गरी समस्या समाधानको दिगो उपायलाई पनि स्थापित गर्छ।

यहाँनिर, मानव—प्रेमको इतिहास लामो छ भन्ने देखाउन मात्र पौराणिक साहित्यको सहारा लिइएको हो, यस विषयलाई पुराणमा सीमित गर्न खोजिएको होइन। यस अवधारणाको निरन्तर विकास भइरहेको छ। यसको अर्थ पनि विस्तारित भइरहेको छ। आधुनिक युगमा अरूलाई सहयोग गर्ने र दान दिनेभन्दा पनि अगाडि गएर विभिन्न सामाजिक समस्याको संरचनागत समाधानको पहल तथा वकालत गर्ने काममा जुटेकाहरू पनि मानवप्रेमी नै हुन्। यस अर्थमा उनीहरू ‘समाज—प्रेमी’ पनि हुन्। आजको ‘नागरिक समाज’ को अवधारणाले धेरै हदसम्म यसको प्रतिनिधित्व गर्छ। एउटा मानव—प्रेमीको काम व्यक्तिगत आर्थिक स्वार्थहरूबाट निर्देशित हुँदैन। यो नै उसको मूल पहिचान हो।

अर्काको भलाइमा चासो किन ?

यस प्रश्नको उत्तरको खोजीमा थुप्रै अनुसन्धानहरू भएका छन्। एउटा उत्साहप्रद निष्कर्ष के छ भने मानिस स्वभावैले परोपकारी हुन्छन् र अरूलाई सहयोग गर्न खोज्छन्। अनुभवजन्य अनुसन्धानहरूले अरूलाई सहयोग गर्ने मानवीय जाँगरका पछाडि मुख्यरूपमा चारवटा विषय रहेको तथ्यलाई औंल्याउने गरेका छन्। पहिलो कुरा परकल्याणको भावना नै हो। मानिसहरू अरूको आवश्यकताप्रति संवेदनशील हुन्छन्, र केही गरौं भन्ने भावना राख्दछन्। यसमा स्वतःस्फूर्तता रहन्छ। दोस्रो कारण हो— सहयोग गर्नका लागि कसैले गरेको आग्रह। कतिपय सामाजिक–सांस्कृतिक कारणले गर्दा यस्तो आग्रह टार्न गाह्रो हुन्छ। तेस्रो र अत्यन्त महत्तवपूर्ण विषय, आफूले गरेको सहयोगबाट कसैको जीवनमा परिवर्तन आउँछ भन्ने कुराको विश्वास भयो भने पनि मानिसहरू आफ्नो स्रोत–साधन अरूसँग बाँडचुँड गर्न तयार हुन्छन्। अर्कोतिर, परोपकारले ल्याउने आकर्षक प्रतिफलको लोभले अरूलाई सहयोग गर्नेहरू पनि हुन्छन्। अर्थात्, सामाजिक मर्यादा र प्रतिष्ठाका लागि पनि मानिसहरू सहयोगका हात फैलाउँछन्, जसअन्तर्गत देखासिकीको अभ्यास पनि पर्छ।

यसबाहेक, धर्मको आदेशमा दान गर्नेहरू पनि हुन्छन्। कोही चाहिँ जीवनमा आफूलाई परेका चोटहरूलाई बिर्साउन र तिनलाई सकारात्मक ऊर्जामा परिणत गर्न यसतर्फ लागेको पनि पाइन्छ। अरूलाई पु‍र्‍याएको सहयोगबाट हामी तत्काल सन्तुष्टि पाउन सक्छौं, तर यसलाई पछिका लागि जोगाएर राख्न पनि सकिन्छ। उदाहरणका लागि इटलीमा सुरु भई आजभोलि लोकप्रिय हुँदै आएको ‘पछि पिइने कफी’ (‘सस्पेन्डेड कफी’) भनिने प्रचलनलाई हेरौं। यसअन्तर्गत रेस्टुराँमा कफी खान आउने ग्राहकले आफूलाई चाहिनेभन्दा बढी कफीको अर्डर गर्छन् र पछि आउने, पैसा नभएका ग्राहकलाई दिने गरी पैसा तिरेर जान्छन्। अर्थात्, एउटा अपरिचित कफीप्रेमीलाई अग्रिम सहयोग। आफूले चिनेजानेको मानिसलाई सहयोग गर्दा उसको अनुहारमा तत्काल देखिने कृतज्ञता–भावबाट हामी सन्तुष्ट हुन्छौं। र, त्यस्तो सन्तुष्टिलाई तुरुन्त आफ्नो सेल्फीमा थन्क्याइ पनि हाल्छौं। तर, अपरिचितलाई दिइएको सहयोगबाट पछि मिल्ने सन्तुष्टि अझ ठूलो हुन्छ भनिन्छ। यो राम्रो कुरा हो। तर, फेरि पनि, यो स्वभावलाई मानिसको हिसाब–किताब गर्ने बानी अर्थात् विश्लेषणात्मक क्षमताले असर पारिहाल्छ।

अझ कसैले त परोपकारलाई आफूले समाजबाट लिएको सापटी फिर्ता गरेको रूपमा पनि हेर्दा रहेछन्। एउटा सेवामुखी प्रतिष्ठानलाई ३१ अरब डलरको अहिलेसम्मकै सबभन्दा ठूलो निःशर्त सहयोग गरेपछि र आफ्नो सम्पत्तिको ९९ प्रतिशत सामाजिक उद्देश्यका लागि दान गर्ने घोषणा गरेपछि अमेरिकी धनाढ्य वारेन बफेटलाई यसको कारणबारे सोधिएको थियो। उनको प्रेरणादायी उत्तर थियो— ‘मैले कसैलाई केही दिएको छैन, म अहिले समाजबाट आफूले पहिले लिएको पैंचो तिरिरहेको छु।’ आफूलाई काम गर्न र धनी बन्न दिएकोमा उनी समाजप्रति ऋणी भएका रहेछन्।

संकटका बेला सहयोगको वहानामा ‘सम्पत्तिा शुद्घीकरण’ तर्फ कसैले काम सुरु गरिसकेको भए आश्चर्य नमान्दा हुन्छ। ‘राज्यकोषलाई सहयोग हुने गरी’ भन्दै स्रोत नखुलेको सम्पत्तिालाई वैधता दिलाउने प्रयास पनि हुन सक्छन्। यसरी कालोधन दान गरी आफ्नो छवि उजिल्याउन खोज्नेहरूलाई के गर्ने ?

यहाँनिर, धनी देशका धनी मान्छेका मात्र कुरा गरेजस्तो नठानियोस्। हाल मानव सेवा आ श्रमका स्वयंसेवीहरूले काठमाडौंमा आफूले खाइनखाई विस्थापित मजदुरहरूलाई खाना खुवाएको दृश्यमा मानवप्रेमको ठूलै आकार प्रतिविम्बित भएको छ। यसरी मानिसहरू ‘दिनु’ मा किन रमाउँछन् भन्ने प्रश्नको उत्तर हो— आत्मसन्तुष्टि। जति बढी परोपकार उति नै बढी आनन्द। सुख कहाँ छ त भन्ने प्रश्नको उत्तरमा हाम्रा महाकविले ठीकै भनेका रहेछन्— ‘आफू मिटाई अरूलाई दिनु जहाँ छ।’

यसको आर्थिक पक्षलाई पनि हेरौं। ‘परोपकार’ को पनि आर्थिक पक्ष खोज्न मिल्ला र भन्ने प्रश्न उठ्न सक्छ। वास्तवमा, परोपकार अर्थतन्त्रको महत्तवपूर्ण पाटो बन्न सक्छ, बनिरहेको छ।

यी त भए राम्रा कुरा। एउटा चेतावनीको भाषा पनि प्रयोग गरौं। अरूको दुःखद् आर्थिक स्थितिप्रति समानुभूति नदर्शाउने संस्कृतिले समाजलाई उँभो लगाउँदैन भन्ने विचार पनि बलियो हुँदै आएको छ। खासगरी, अमेरिकी सन्दर्भमा हुँदै आएको एक प्रतिशत धनीमानी र ९९ प्रतिशत गरिब–गुरुवाका बीचको अन्तरले गम्भीर किसिमका सामाजिक—आर्थिक तनाव सिर्जना गर्नसक्ने चेतावनी मूलधारका अर्थशास्त्रीहरूले नै दिँदै आएका छन्। यस अर्थमा गरिबलाई सघाउनु भन्ने कुरा अब नैतिकताको विषयमात्र रहेन। ‘एक प्रतिशत’ का लागि अब यो विषय आफ्नो सुरक्षित स्थितिकै निरन्तरताका लागि पनि चुनौती बनेको छ। चलचित्रप्रेमीहरूका लागि यसको एउटा उदाहरण हुनसक्छ—यस वर्षको ओस्कार पुरस्कारका लागि ‘बेस्ट पिक्चर’ का रूपमा छानिएको कोरियाली चलचित्र ‘प्यारासाइट’। फिल्मका सोझा र भर पर्न सकिने गरिब पात्रहरू कुनै समयमा रौद्ररूप धारण गरी आफ्नै ‘अन्नदाता’ को सर्वनाशमा उत्रेलान् भन्ने कल्पना कसले गरेको थियो र ! निजी स्वार्थको रक्षा गर्नु सायद मानिसहरूको स्वभावभित्रै पर्छ। तर, ‘सुझबुझसहितको निजी स्वार्थ’ ले मात्र हाम्रो हित गर्नेछ भन्ने कुराले बढी मान्यता पाउँदै आएको देखिन्छ।

सहयोगको कुरा गर्दा आर्थिक सहयोगभन्दा बाहिर गएर पनि हेर्नुपर्छ। कोरोनासँग लड्ने क्रममा डाक्टर तथा नर्स, सुरक्षाकर्मी र सरसफाइ कर्मचारीले आफ्नो ज्यान नै दाउमा राखी सेवामा उत्रेको विषयलाई जागिर खाएको अर्थमा मात्र हेर्न सकिन्न। यसरी विभिन्न ढंगले कोरोना कहरबाट त्राण दिलाउने कार्यमा तल्लिन मानवप्रेमीप्रति नतमस्तक हुँदै पंक्तिकारले पनि यसै उद्देश्यका लागि आफ्नो सानो सुर्के थैली खोल्ने निधो गरेको छ। तर, एउटा व्यावहारिक चुनौतीको पनि कुरा गरौं, यो सहयोग कुन माध्यमबाट कहाँ पु‍र्‍याउने ?

यस प्रश्नको पहिलो उत्तर त सरकारले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा पैसा जम्मा गर्ने नै हो। यसका विरूद्घमा एउटा ठाडो प्रतिक्रिया व्यक्त हुने गरेको छ — त्यो सरकारी कोष हो, त्यहाँ त पैसा खान्छन्। यसमा प्रश्न गर्न सकिन्छ। पहिलो कुरा, यत्रो अर्बौं रुपैयाँ कसले खान सक्ला ? दोस्रो, तर अझ महत्तवपूर्ण, प्रधानमन्त्री स्वयंले आफ्नो सहयोग यसै कोषलाई दिनुभएको छ। के उहाँले त्यसलाई यताउता हुन दिनुहोला ? यति भनिरहँदा यस कोषका कामकारबाही सधैं निष्ठाको खरो कसीमा उत्रन सक्लान् भन्ने कुरामा ठूलो शंका गर्ने ठाउँचाहिँ शासकीय प्रणालीका हाम्रा अत्यन्त कमजोर अभ्यासहरूले दिएकै छन्। तर विकल्प के त ? हो, निजी र गैरसरकारी क्षेत्रमा पनि हाल सहयोग जुटाउने विभिन्न प्रयासहरू भइरहेका छन्। तर, तिनमा पनि त निष्ठा र स्वच्छताको प्रश्न उठ्न सक्छ। यो हामीले अनुभव गरेकै विषय होइन र ?

राज्यका संस्थाको स्वच्छता र प्रभावकारिताको कुरा गर्दा के पनि बिर्सन हुँदैन भने तिनीहरू पनि हाम्रा सामाजिक मूल्य–प्रणालीबाटै निर्देशित रहन्छन्। समाजले चासो लिएन भने राज्य कमजोर मात्र हुँदैन, यसको नेतृत्व निरंकुशतातर्फ उन्मुख हुन पनि सक्छ। आफ्नो हालसालै प्रकाशित प्रसिद्घ पुस्तक ‘द न्यारो कोरिडर’ मा जेम्स रबिन्सन र डारेन एसिमुग्लुले विगत दुई हजार वर्षदेखिको इतिहासलाई मसिनोगरी केलाएर ठोकुवा गरेका छन्— समाजले लगाम लगाएन भने राज्यले अधिनायकवादको बाटो रोज्छ, रोज्छ। यसको अर्थ हो—यदि हामी राज्यका संस्थाहरूले बाटो बिराएको देख्छौं भने नागरिक निगरानीलाई बलियो बनाइहाल्नुपर्छ। आदर्शताको आग्रहले मात्र पुग्दैन। राज्य र समाजबीचको शक्ति–संघर्ष र सहयात्राद्वारा मात्र लोकतन्त्र र स्वतन्त्रताको जगेर्ना गर्न सकिन्छ भन्छन्, न्यारो कोरिडोरका लेखकद्वय। हाम्रो हालसालैको अध्यादेश फिर्ता प्रकरणलाई उदाहरणका रूपमा लिन सकिन्छ। चिन्ताको विषय के छ भने, भ्रष्टाचारका सम्बन्धमा नागरिक समाज पनि त्यति चनाखो र जाँगरिलो रहेको पाइँदैन। देशमा भ्रष्टाचार र बेथिति बढ्नुको एउटा प्रमुख कारण यो पनि हो। अनि यसबाट कोरोना कोषलगायत अन्य संस्थाहरू प्रभावित हुने नै भए। यिनै कारणहरूले गर्दा कोषको प्रयोग र परिचालनमा हामी सबैले निगरानी राख्नुपर्छ। बरु, यहाँ अर्को एउटा जोखिम छ, कतै सहयोगको नाममा कालो धनको उपयोग हुने त होइन ? संकटका बेला सहयोगको वहानामा ‘सम्पत्तिा शुद्घीकरण’ तर्फ कसैले काम सुरु गरिसकेको भए आश्चर्य नमान्दा हुन्छ। ‘राज्यकोषलाई सहयोग हुने गरी’ भन्दै स्रोत नखुलेको सम्पत्तिालाई वैधता दिलाउने प्रयास पनि हुन सक्छन्। यसरी कालो धन दान गरी आफ्नो छवि उजिल्याउन खोज्नेहरूलाई के गर्ने ? अहिलेको आपत्कालमा यो एउटा अप्ठ्यारो नैतिक प्रश्न बनेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.