मेरो जीवन नै आइसोलेसन !
सफा थियो, आकाश। लागिरहेको थियो, चर्को घाम। उबरबाट झरेर म लागेँ, अहमदाबाद जंक्सनको प्लेटफर्म नम्बर ६ तिर। चर्को घामको रापले चरक्क पोले, दुवै गाला। घाम छल्न मैले लामा पाइला चालेँ। र, हतारहतार अघि बढेँ। गेटबाट दुई मिनट पैदल हिँडेपछि आइपुग्छ ६ नम्बर प्लेटफर्म। त्यही प्लेटफर्मबाट म चढ्नुछ- इन्दौर जाने शान्ति एक्सप्रेस-१९३०९।
प्लेटफर्मतिर लम्किँदै गर्दा दायाँ हातमा बोकेको वन्प्लस मोबाइलको स्वीच बटन दबाएँ, टाइम चेक गर्नलाई। भर्खर ७ बज्दै छ। रेल आइपुग्न अझै २० मिनेट लाग्नेछ- सोचेँ मनमनै। र, गएर बसेँ ६ नम्बर प्लेटफर्म अगाडिको एउटा फलामे मेचमा।
मेरो साथमा छन्- एउटा सानो लगेज र ह्यान्ड ब्याग। लगेजछेउमा राखेर मोबाइल स्क्रोल गर्न थालेँ। ‘आज फेरि मब लिन्चिङको खबर आएछ,’ अनायासै गुन्गुनाएछु। बायाँपट्टि छेउमा बसेको एक अधबैँसे पुरुषले पुलुक्क हेरेपछि पो थाहा पाएँ।
‘भारतका रेल स्टेसनहरूले जीवन बोल्छन्। मान्छेहरूका व्यग्रता र व्यस्तताको झल्को दिन्छन्। अनि यहाँको अस्तव्यस्तताको पनि। रेलको ओहोरदोहोर जारी छ। रेलकै गतिमा दौडिरहेछन् मानिस पनि। कसैलाई चढ्न हतार छ, कसैलाई झर्न। ६ नम्बर प्लेटफर्मकै छेउमा छ एउटा सानो पसल। जहाँ पाइन्छन् कोल्ड ड्रिंक्सदेखि कफीसम्म। पानदेखि पत्रिकासम्म।’
मनमा यस्तै कुरा खेलाउँदै कैद गर्दै थिएँ- सेल्फी। माइकबाट आवाज आयो, ‘कृपया ध्यान दिजिए १९३०९ शान्ति एक्सप्रेस, गान्धीनगर से निकलकर अहमदाबाद के रास्ते इन्दौर जानेवाले, अपने निर्धारित समय ७ बजकर ४० मिनट पर प्लेटफर्म नम्बर ६ से जायेगी।’ फोनको स्क्रिनमा आँखा डुलाएँ, समय हेर्न। अनि दौडाएँ, मेरा नजर रेलका लिकतिर। हर्न बजाउँदै आइपुग्यो- शान्ति एक्सप्रेस-१९३०९।
मेरा लागि इमोसनल आइसोलेसन भनेको फरक ढंगले जीवन जिउने कला हो। आफ्नो जीवनलाई आनन्ददायी बनाउने आफ्नै अन्तरको आवाज हो। सिर्जनात्मक ऊर्जाको सञ्चार गर्ने माध्यम हो।
रेल चढ्नेहरूको ठेलमठेलमा म पनि मिसिएँ। टु टियर एसी कोचको ढोकाबाट छिरेर अलिकति बायाँ लागेपछि देखेँ, सिट नम्बर- ४०। मैले अब १२ घण्टाको यात्रा तय गर्नु छ यही सिटमा बसेर। मेरो छेउमा बसेकी छन्, मेरी आमाको उमेरकी एक महिला। मेरो सिट झ्यालपट्टि भएकाले घरीघरी मतिर लम्कँदै हेर्छिन्, उनी बाहिर।
किन किन झ्यालतर्फकै सिट मन पर्छ मलाई, रेल होस् वा बस, जहाज होस् वा ट्याक्सी। झ्यालबाट स्टेसनको अस्तव्यस्तता नियाल्दै सहर पार गर्दा र घण्टौँसम्म ग्रामीण भेगका प्राकृतिक छटा नियाल्दा रेल होइन, आफैँ दौडिरहेको भान हुन्छ। जहाजका झ्यालबाट बादलसँग लुकामारी खेल्दा आफैँ चरा बनेर उडेझैँ लाग्छ। अनि, मनपर्ने म्युजिक सुन्दै लामो बस यात्रा गर्दा जीवनका हर रङ एउटै यात्रामा भोगेझैँ लाग्छ।
अहमदाबाद जंक्सनबाट शान्ति एक्सप्रेस-१९३०९ अघि बढ्यो। म झ्यालबाट देखिने दृश्यमा रमाउन थाले। स्टेसनबाट रेल गुडेको केही बेरमै मेरो कुममा कसैले कोट्यायो। पुलुक्क हेरेँ। सँगैको सिटमा यात्रारत महिला रहिछन्। ‘अकेले ही ट्राभल कर रहि हो ?’ प्रश्नवाचक आँखाले हेर्दै भनिन् उनले।
‘एस,’ मन्द मुस्कानसहित जवाफ फर्काएँ मैले।
‘सिरियस्ली, आर यु अलोन ?’ उनको प्रश्नमा आश्चर्यभाव देखिन्थ्यो।
‘यस, सो...?’ मलाई तिनको सोचको उचाइ नाप्न मन लाग्यो।‘यु आर सो योङ गर्ल, ऐसे अकेले अकेले ट्राभल मत किया करो ?’ हरेकजसो आमा उमेरका भारतीय महिलाले दिनेजस्तै सल्लाह दिइन् तिनले।
‘मै तो रहती भी अकेली हुँ...’ मैले उनलाई गिल्याएँ र पहिलेजस्तै झ्यालतिर फर्किएर बाहिरका दृश्यमा रमाउन थाले।ती अधबैँसे महिलासँग २०१८ जुन १७ मा भएको त्यो संक्षिप्त संवाद भारतमा रेल यात्राका क्रममा गरिएका त्यस्तै खाले कयौँ संवादमध्ये एक थियो। न त त्यो त्यस खाले पहिलो संवाद थियो, न त अन्तिम नै। किनकि मैले यस्तो जीवन चुनेकी थिएँ, जसलाई धेरैले आश्चर्यको नजरले हेर्थे। कतिले मुखै फोडेर प्रश्न गर्थे त कतिले प्रश्नवाचक आँखाले हेर्थे। कतिले एकाध प्रश्नमै पूर्णविराम लगाउँथे। कतिले ‘तर...’, ‘र पनि...’, ‘किनकि...’ जस्ता संयोजक जोड्दै प्रश्नहरूमा पूर्णविराम त के अल्पविराम पनि लगाउन चाहन्थेनन्।
अचेल मलाई त्यस्ता प्रश्न सामान्य लाग्न थालेका छन्। किनकि मैले मेरो जीवनका अधिकतर वर्ष स्वेच्छाले एक्लै बिताइसकेकी छु। र, बिताइरहेकी छु। मैले जुन जीवन रोजेँ, त्यो खासगरी नेपाली र भारतीय समाजका लागि अनौठो थियो र अझै पनि धेरैका लागि अनौठो नै हुनसक्छ। तर जहिलेदेखि मैले एकान्तसँग मितेरी गाँसेँ, त्यससँग रमाउन सिकेँ, त्यसबेलादेखि मलाई एकान्तवास नै प्यारो लाग्न थाल्यो।
अंग्रेजी शब्द ‘आइसोलेसन’ अहिले चर्चामा छ संसारभरि, कोरोनाभाइरस महामारीका कारण। विश्वमा कयौँ मानिस अस्पतालमा ‘आइसोलेसन’मा छन्। कति घरैमा ‘सेल्फ आइसोलेसन’मा छन्। मलाई लाग्छ, म त यो शब्दले विश्वभर चर्चा पाउनुअघि नै लामो समयदेखि ‘सेल्फ आइसोलेसन’मा रहेछु। एकान्तवासी रहेछु। अनि त्यसमा एउटा भिन्नै जीवन खोजिरहेकी रहेछु।
मनोविज्ञानमा एउटा प्राविधिक शब्द छ, इमोसनल आइसोलेसन (भावनात्मक एकान्तवास)। त्यसबारे पश्चिमा विश्वमा कयौँ अध्ययन गरिएका छन्, विशेषगरी वृद्ध उमेरका मानिसहरूमा। सायद त्यसैले हुनुपर्छ, धेरैले भावनात्मक एकान्तवासलाई अर्कै नजरले हेर्छन्। कतिले यसलाई मनोवैज्ञानिक समस्याकै रूपमा पनि लिन्छन्। र, कतिपयमा मनोवैज्ञानिक समस्याकै रूपमा इमोसनल आइसोलेसन नदेखिएको पनि होइन। तर मेरा लागि इमोसनल आइसोलेसन भनेको फरक ढंगले जीवन जिउने कला हो। आफ्नो जीवनलाई आनन्ददायी बनाउने आफ्नै अन्तर्मनको आवाज हो। सिर्जनात्मक ऊर्जाको सञ्चार गर्ने माध्यम हो।
कतिले मेरो यो बानीलाई अर्कमण्यताको पराकाष्ठै मान्लान्। कतिले मलाई अहंकारी नै ठान्लान्। मैले किशोरावस्थाबाटै करियरको सुरुवात गरेँ र १५ वर्षदेखि लगातार काम गरिरहेकी छु। जुन बेलादेखिका याद मेरो स्मृतिमा छन्, त्यस बेलादेखि नै म अन्तर्मुखी थिएँ। म एकदमै कम बोल्थेँ। थोरै साथी बनाउँथेँ। र, कमभन्दा कम भावना व्यक्त गर्थे। केही विषयमा मैले कहिल्यै पनि कसैले सोध्नुअघि आफ्नो विचार व्यक्त गरिनँ। सायद त्यसैले होला मानिसहरूले मलाई अहंकारी ठान्थे। कतिले त मेरै सामुसमेत मलाई घमण्डी भन्न भ्याए।
हर दिन हर विषयमा म आफैँसँग बोल्न थालेँ। मैले हरेक प्रश्न आफैँसँग सोध्न थालँे। तिनका उत्तर पनि स्वयंले दिन थालँे। सायद त्यसैको प्रतिफल होला, मैले अरूलाई भन्दा ज्यादा आफूलाई बुझेँ। यो संसारमा आफूलाई बुझ्नुभन्दा ठूलो कुरा केही रहेनछ। जुन दिन मैले आफूभित्रको सत्य र असत्य, असल र खराब, नियत र नियति, मित्र र वैरी, शान्ति र अशान्ति बुझेँ, मेरा लागि त्यो कुनै विश्वविद्यालयको विद्यावारिधिभन्दा ठूलो ब्रह्मज्ञान थियो। कसैका ब्रह्म वाक्यबाट आर्जित वा निर्देशिक ज्ञानका तुलनामा निकै गहिरो। निकै फराकिलो। निकै उच्च।
आफैँलाई चिनेका दिन मान्छेले अरूलाई पनि चिन्ने रहेछ। विश्वलाई बुझ्ने रहेछ। सबैभन्दा ठूलो कुरा त आफ्ना आकांक्षाहरूको परख गर्न सक्ने रहेछ। ती आकांक्षाको पूर्तिका लागि बाटो खोज्ने र बनाउने रहेछ। एकान्तवासी बनेदेखि मैले मभित्रका दुर्गुणलाई दूर गर्न र सद्गुणहरूलाई सकार्न सिकँे। समग्रमा भन्दा मैले मेरो आत्मालाई स्वयंद्वारा सम्मोहित बनाए।
इमोसनल आइसोलेसन भनेको शारीरिक रूपमा आफूलाई चार भित्ताभित्र कैद गर्नु होइन। यो त आफूभित्रको मनलाई चिन्नु हो। एउटा फरक संसारमा रमाउनु हो। वरपरका धेरै कुरालाई बेवास्ता गरेर आफ्नै धुनमा रमाउनु हो। र, त्यो कुनै गहिरो सोचमा डुबेको कविको अवस्था हो। गहिरो ध्यानमा मग्न सन्तको अवस्था हो।
एकान्तवादबारे अनुसन्धान गर्ने न्युयोर्कका प्राध्यापक म्याथ्यु बोव्केर भन्छन्, ‘यो एउटा गहिरो आत्मिक प्रक्रिया हो। त्यसले तपाईंको तपाईंसँगैको सम्बन्धलाई बलियो पार्छ। वरपर मानिसहरूले घेरिए पनि तपाईं एकान्ती बन्न सक्नुहुन्छ।’ लाग्छ, वर्षौंदेखि मेरा लागि उनको यो भनाइ ठ्याक्कै मिल्छ।
मैले जीवनका १० वर्ष एक्लै बिताइसकेँ। यी वर्षहरूमा कसैसँग मैले धेरै समय बिताएकी छु भने म आफैँसँग बिताएकी छु। दिनभरि एकान्तमा बस्दा पनि मलाई कहिल्यै झिँझो लागेन। पट्यार लागेन। न त कहिल्यै लाग्यो नै वाक्क वा न त दिक्क।
म पढ्छु। लेख्छु। पकाउँछु। भाँडा माझ्छु। घर सफा गर्छु। ध्यान गर्छु। नाच्छु। गाउँछु। यी तमाम कार्यका लागि नायक पनि मै हुँ, खलनायक पनि। प्रस्तोता पनि मै हुँ, दर्शकदीर्घा पनि। मैले आफूसँग नजिक हुन अरू कसैसँग दूरी बढाएकी छैन, न त कसैलाई हानि नै पुर्याएकी छु।
यो मेरो इच्छाको एकान्तवास हो। म अफिसको काम सकेसम्म चाँडो सक्न चाहन्छु- साथीसँग सपिङमा जानलाई होइन। ग्रुप बनाएर फिल्म हेर्न हलतिर लाग्न होइन। मात्र, छिटोभन्दा छिटो आफ्नो अपार्टमेन्ट पुग्न र एकान्तमा रमाउन। म मेरा लागि रात लामा होऊन् भन्ने चाहन्छु। शनिबार र आइतबार चाँडै आऊन् भन्ने चाहन्छु। त्यसले गर्दा म गुलियोको पारखीले जेरी चपाउँदा पाएको जस्तै एकान्तको आनन्द उठाउन पाऊँ। लतीले लागूमा झुम्म भएझैँ एकान्तवासमा झुम्न पाऊँ।
मलाई पनि यूकेकी लेखिका फ्रान्सेस्का स्पेक्टरले चलनमा ल्याएको अंग्रेजी शब्द ‘एलोनमेन्ट’ खुब मनपर्छ। उनलाई जस्तै मलाई पनि ‘एलोनमेन्ट’ मोहक लाग्छ। उनी ‘एलोनमेन्ट’लाई यसरी व्याख्या गर्छिन्, ‘एलोनमेन्ट यस्तो अवस्था हो जुन बेला मानिस एक्लै नभए पनि एकान्ती अनुभूत गर्नसक्छ।’ कतिका नजरमा स्पेक्टरको यस्तो कुरा गर्ने बेलै भएको छैन। उनी सानै छन्। उनले एकान्तवासका उल्टा असर देखेकै छैनन्। तर अरू धेरै छन्, जसले उनको कथन र व्याख्यानको तारिफ गरेर थाक्दैनन्।
एउटा अन्तर्वार्तामा अमेरिकन बौद्ध भिक्षु रेगाई रेले भनेका छन्, एकान्तको शक्ति भनेकै व्यक्तिलाई आफू र आफ्नो जीवनसँग नजिक बनाउँछ। त्यसले आफ्नो वरपरका मानिसहरूलाई पनि उसको नजिक बनाउँछ। यसको अर्थ हुन्छ, जसले इमोसनल आइसोलेसनको अभ्यास गर्छ, ऊ अरूभन्दा सहानुभूतिशील हुन्छ। धेरैको असल साथी हुनसक्छ।
यात्रामा झ्यालको सिटमा बस्न मन लागेझैँ जीवनमा कति कुरा अभ्यास र अनुभूत गर्न मन लाग्छ। एकान्तप्रेमी बनेपछि दुई वर्षअघि मैले त्यस्तै एउटा अभ्यास गरेँ। मैले चलिरहेको सामसुङको स्मार्टफोन फुटाएँ, टुक्राटुक्रामा। अनि, बनेँ मोबाइलविहीन। मैले चाहेरै केही दिन फोन बोकिनँ। ती चार दिन मेरा लागि रोचक मात्र थिएनन्, रोमानञ्चक पनि थिए। म दिउँसो अफिस जान्थँे र अरू बेला बिताउँँथेँ, ‘स्क्रोल’विहीन समय। तर मेरो कामको प्रकृतिकै कारण मैले त्यसलाई धेरै दिन धकेल्न सकिनँ।
भावनात्मक एकान्तवादी हुनु भनेकै ‘माइन्डफुल’ हुनु हो। सायद त्यसैले होला मलाई ‘स्पिरिचुअल पर्सन’ बनायो। एउटा छुट्टै संसारमा सयर गर्न सिकायो। एउटा महामारीका कारण अहिले हरतिर घरैमा बस्ने आदेश जारी गरिएको छ। त्यो आदेश धेरैका लागि सकसपूर्ण बनेको छ। मानिसहरू अधीर छन्। धेरैलाई लागेको छ, एकान्ती बन्नु सबैभन्दा गाह्रो रहेछ। सबभन्दा दिक्कलाग्दो रहेछ।
तर एक दशकदेखि एकान्ती जीवन जिइरहेकी मलाई चाहिँ सत्रौँ शताब्दीका फ्रेन्च वैज्ञानिक पास्कलको भनाइ याद आइरहेछ, ‘सबै मानवीय समस्या एउटा कोठामा एक्लै चुप लागेर बस्न नसक्ने मान्छेको अक्षमताका उपज हुन्।’
(विश्वकै चर्चितमध्येको एउटा भाइरल कन्टेन्ट उत्पादक वेबसाइट विटीफिडकी पूर्व प्रधानसम्पादक @leenachitwan अहिले अमेरिकामा बसेर पत्रकारिता गर्छिन्।)