एकान्ते सुखमास्यताम्

एकान्ते सुखमास्यताम्

दूरीको महत्ता जताउने अफ्रिकी उखान छ ः अधिक निकटताले द्वेष, दूरीले माया बढाउँछ। टाढा हुँदा मनमा प्रेमको बाढी त्यसै त्यसै उर्लेर आउँछ। महाकवि कालिदासले प्रिय पत्नीको विरहमा सुधबुध गुमाएको एउटा यक्षको आत्मालाप व्यक्त गर्न मेघदूत नामको काव्य लेखे। देश निकाला भएको यक्ष निर्जन कन्दरामा एक्लै बसिरहेको छ। असारको महिना, घना बादलले वरिपरिका पहाड ढाकेको छ। चारैतिर बादल भरिँदै आएको देखेर यक्ष कल्पन्छ- मेघालोके भवति सुखिनोऽप्यन्यथा वृत्तिचेतः कण्ठाश्लेषः प्रणयिनीजने किं पुनः दुरसंस्थे। अर्थात् आकाशमा बादल छाएको देख्दा सुखीहरूको मनसमेत डामाडोल हुन्छ, नजिक हुँदा अंकमाल गरिहाल्न रुचाउने प्रियसीदेखि एक्लिएर टाढाटाढा बस्नुपरेका विरहीहरूको मनोदशा कस्तो होला ! 

करोडौँ मानिस आफ्ना प्रियजनसँग दूरीमा बस्नुपरेको अवस्था छ अहिले। यो अवस्था कुनै न कुनै रूपमा लामै समय कायम रहने देखिन्छ। औसत मानिसका निम्ति प्रियजनसँगको दूरी अत्यासलाग्दो, दिक्कलाग्दो र मनलाई डामाडोल बनाउने खालको हुन्छ। तर, कलाकार, सन्त र साधकका निम्ति भने समाज र प्रियजनसँगको दूरी प्रियतर हुन्छ। किनभने एकान्तवास साधनाका निम्ति सुनौलो अवसर हो। साधना अर्थात् आफ्ना सीमाहरूलाई अतिक्रमण गर्ने, सम्भावनाहरूलाई पहिल्याउने प्रयत्न, आराधना र तपस्या। बुद्ध, महावीर र शंकरको जीवनमा एकान्तवास आमूल रूपान्तरणकारी साबित भएको थियो।

बुद्ध, महावीर र शंकर 

एकान्तवासले सिद्धार्थ गौतमलाई बुद्ध बनायो, वर्द्धमान महावीरलाई भगवान् महावीर बनायो, शंकराचार्यलाई जगद्गुरु बनायो। सिद्धार्थ गौतम पाँच जनाको समूहमा मिलेर तपस्या गर्थे। ती तपस्वीहरू पञ्चभद्रवर्गीय भिक्षु भनेर विख्यात थिए। तर, सिद्धार्थले ती पाँच जना सहसाधकबाट अलग्गिएर पूर्ण रूपले एकान्तवास गरेपछि मात्र विपश्यना ध्यान विधि फेला पारे। गयामा बोधि वृक्षमुनि विपश्यना भावना गरिरहँदा बुद्धले आफ्नै मनसँग दूरी बनाउने युक्ति सिके, मनका ऊहापोहलाई साक्षीभावले हेर्ने कला विकसित गरे, तदनन्तर उनलाई बुद्धत्वको आलोक उपलब्ध भयो। 

वर्द्धमान महावीरले दिव्य १२ वर्ष एकान्तवासमा बिताए। एकपटक उनी कुनै जंगलको मध्यभागमा तपस्यारत थिए। एउटा गोठालोले उनलाई गाईबस्तु हेरिदिन अह्रायो। गाईबस्तु जंगलतिर पसे। गोठालो फर्कंदा महावीर सोही ठाउँमा उभिइरहेका थिए तर गाईबस्तु थिएनन्। गोठालो वस्तु खोज्न जंगल चहार्न थाल्यो। कतै फेला नपरेपछि थकित हुँदै सोही ठाउँमा फर्कियो।

महावीर स्वामी उही स्थानमा उसैगरी उभिइरहेका थिए। त्यतिन्जेल उसका गाईबस्तु फर्केर त्यहाँ आई वरिपरि बसेर उग्राउँदै थिए। गोठालोले महावीरलाई बस्तुहरू चोर्ने चेष्टा गरेको आरोप लगायो। स्वामी बोलेनन्। गोठालो रिसायो। ‘तैँले केही सुन्दैनस् भने तेरा कान के काम’ भन्दै महावीर स्वामीका कानमा काठका ठेडी ठोकिदियो। महावीर स्वामी कुनै प्रतिक्रिया नगरी चुपचाप रहे। दुवै कानबाट रगतको भल बगिरहेको थियो, महावीर उस्तै मौन र संयमित थिए। आकाशबाट यो दृश्य देखेर देवताहरू त्यहाँ आइपुगे। उनीहरूले महावीरलाई भने, ‘प्रभु, हजुरले आज्ञा मात्र दिनुहोस्, तपस्यामा बाधा पुर्‍याउने दुष्ट गोठालोलाई हामी दण्ड दिन्छौँ।’ महावीरले भने, ‘गोठालोले द्वेष राखेर मेरो एकान्त बिथोलेको थियो, तपाईंहरूले प्रेम जताउँदै बिथोल्नुभएको छ। कृपया तपाईंहरू आफ्नो लोकमा जानुहोस्, मेरो एकान्त नबिथोलिनु नै मेरो निम्ति हितकर हुनेछ।’  

बुद्ध, महावीर र शंकरको जीवनमा एकान्तवास आमूल रूपान्तरणकारी साबित भएको थियो। 

शंकराचार्यका निम्ति आदर्श जीवन भनेकै जंगल, गुफा र कन्दराहरूमा एकान्तवास गर्नु र अस्तित्वसँग एकाकार अनुभूति गर्नु थियो। उनी भन्थे, कौपीनवन्तः खलु भाग्यवन्तः, लगौंटी धारी एकान्तविहारी नै भाग्यमानी हो। आनन्दलहरी, सौन्दर्यलहरी, विवेकचूडामणिजस्ता कालजयी कृतिका रचनाकार शंकराचार्य साधन पञ्चकम् शीर्षक कविताको एउटा पदमा भन्छन् - एकान्ते सुखमास्यताम् परतरे चेतः समाधीयताम्। शार्दूलविक्रीडित छन्दमा लेखिएको यो पद्यको आशय हो, एकान्तमा रमाउन सिकौँ, आफूभन्दा उच्चतर चेतनायुक्त शक्तिमा मन स्थिर गरौँ। स्वयंको व्यक्तित्वमा छिपेका सम्भावना पहिल्याऔँ। एकान्तवास रोजौँ, तपस्यामा मग्न होऔँ। 

रोजाइ नभए पनि बाध्यतावश मानिसले एकान्तवासलाई अपनाउनुपरेको अवस्था अहिले छ। जारी आइसोलेसनको अवधि सोचेजस्तै छिटो समाप्त हुने देखिँदैन। कोरोनापछिको दैनिकी पहिलाजस्तै रहनेछैन। मानिसले एकअर्कालाई अभिवादन गर्दा वा सँगै बसेर बातचित या खानपिन गर्दा उचित दूरी कायम रहोस् भन्ने चाहनेछन्। अफिसहरूले सम्भव भएसम्म कर्मचारीले घरबाटै काम गरून् भन्ने तय गर्नेछन्। सार्वजनिक यातायातको परिभाषा फेरिनेछ। मानिसले एकअर्कालाई हेर्ने दृष्टिकोणसमेत उस्तै रहने छैन। 

यो स्थितिको सामना गर्न हामीले एकान्तवासलाई मनैदेखि स्वीकार गर्नु र यसलाई अवसरका रूपमा उपयोग गर्न सिक्नु हितकारी हुनेछ। अन्यथा एकान्तवास हाम्रा निम्ति बाध्यताजस्तो रहिरह्यो भने यसले दिक्दारी, नैराश्य र तनाव पैदा गर्नेछ। फ्रेडरिक नित्सेले जीवनमा जे आइपर्छ त्यसलाई स्वीकार्न र अपनाउन महत्वपूर्ण सूत्र पहिल्याएका थिए - आर्मो फाटी। रोमन मिथोलोजीअनुसार आर्मो प्रेमका देवता हुन्। फाटी भनेको भवितव्य हो। हरेक भवितव्यलाई स्वीकार मात्र होइन प्रेम गर्न सिक्नु सर्वोत्तम जीवन सापेक्ष धर्म हो। भवितव्य जतिसुकै कुरूप होस् कसैलाई दोष दिने होइन। आरोप÷प्रत्यारोप गर्नेलाई पनि दोष दिने होइन। त्यसप्रति पीठ फर्काउनु र हुनीहारलाई हाँसीखुसी स्वीकार गर्नु मनासिब हो। जीवनका पक्षधरहरूले यसप्रकार जीवनलाई साङ्गोपाङ्ग अपनाउनु, अंकमाल गर्नु बुद्धिमानी हो। 

यतिखेर सामाजिक दूरी हाम्रो भवितव्य हो। यसलाई स्वीकार गर्नुको विकल्प छैन। एकान्तवासलाई स्वीकार गर्न, सहज बनाउन र अंकमाल गर्न हामीलाई केही त साधन चाहिन्छ। हाम्रो पहुँचमा भएका साधनमध्ये आध्यात्मिक अभ्यास सर्वोपरि हुन सक्छन्। योग, ध्यान, आध्यात्मिक, दार्शनिक, साहित्यिक ग्रन्थ अध्ययन, वाचन, मन्त्रपाठ या तिनको पुरश्चरण केही आध्यात्मिक अभ्यास हुन्। यीमध्ये जेजस्तो अभ्यास या अनुशीलन गरे पनि शुभलाभ नै हुनेछ। यी अभ्यासप्रति हाम्रो मनोभाव या रवैयाले शुभलाभको दायरामा आनका तान भिन्नता ल्याउनेछ। 

ध्यानको अभ्यास

योग, ध्यान या अन्य कुनै साधना अपनाउँदा त्यसको युक्तिसंगत उद्देश्य तय गर्नु मुख्य कुरा हो। प्रयोजनमनुद्दिश्य न मन्दोऽपि प्रवर्तते, मन्दबुद्धि मानिसले समेत प्रयोजनविहीन काम गर्दैन। लहैलहैमा या अरूद्वारा धकेलिएर पनि यात्रा हुन सक्छ तर यात्राको अपेक्षित आनन्द जागरूक र होसपूर्ण भएर नै लिन सकिन्छ। अतः अनुशीलन गर्न आँटेको आध्यात्मिक साधनाप्रति सही मनोभाव वा दृष्टिकोण बनाउनु हितकारी हुन्छ। घण्टौँ हातपाउ तानतुन गरे पनि, दस तरिकाले जोर्नीहरू भाँचकुच गरे पनि ज्ञान र उचित दृष्टिकोणविनाको योगाभ्यास अर्थहीन हुन्छ। शरीर सुगठित होला, शान्ति आविर्भाव हुँदैन। केवलं राजयोगाय हठयोगोपदिश्यते। केवल राजयोगको पूर्वतयारीका लागि हठयोगका आसन र प्राणायामहरूको विधान गरिएको हो। राजयोग भनेको ध्यान, समाधि र चित्तवृत्तिनिरोध हो। 

बुद्धले भन्नुभएको छ - नत्थि झानं अपञ्ञस्स नत्थि पञ्ञा अझायत। प्रज्ञा नहुनेको ध्यान हुँदैन, ध्यान अभ्यास नगर्नेको प्रज्ञोदय हुँदैन। ध्यान र ज्ञान साथसाथ हुनु पर्दछ। ध्यान अन्तर्यात्रा होस अर्धनिमीलित नयन, स्थिर आसन बनाएर एकान्त स्थानमा गरिने अभ्यास। कुनै नयाँ ठाउँमा जाँदा त्यो ठाउँबारे जानकारी हुनुपर्दछ, मानचित्र हुनुपर्छ, बाटोको दिशा र अवस्था थाहा हुनुपर्छ। ध्यानस्थ भई अन्तर्यात्रामा जाँदा तत्सदृश सामलको झनै जरुरत पर्दछ। ध्यान सिक्दा कुशल र सिद्ध गुरुको मार्गदर्शन पाउनु महत्वपूर्ण हुने कारण पनि यही हो। सही मार्गदर्शनले गन्तव्य सहज हुन्छ।  

ध्यानको प्राथमिक उद्देश्य मनलाई एकाग्र र शान्त रहन अभ्यस्त बनाउनु हो। यही क्रममा मन परिशुद्ध हुँदै जान्छ। राग, द्वेष र मोह निर्मूल हुँदै जाँदा मन निर्मल हुन थाल्छ। तदनन्तर चित्तको प्रभास्वर स्वभाव प्रकट हुन थाल्छ। बुद्ध भन्नुहुन्छ - सबै प्राणी बुद्ध नै हुन्, वासना, तृष्णा आदिले बुद्ध स्वभाव ढाकिएको मात्र हो। वासना, तृष्णाको आवरण क्षय हुँदा बुद्ध स्वभाव स्वतः प्रकट हुन्छ। ध्यानको अभ्यासले तृष्णाको आवरण क्षय हुन्छ, अज्ञानको आवरण उघ्रन्छ। साधक बुद्धत्वको नजिक पुग्न थाल्छ। 

अष्टाङ्ग योगका सूत्रधार पतञ्जलिले ध्यानलाई योग साधनाको सातौँ चरणमा राखे। ध्यानको अभ्यासपूर्व शील, सदाचारको पालन, शारीरिक र मानसिक शुद्धीकरण बहिरङ्ग योग हुन्। धारणा अर्थात् एकाग्रता, ध्यान र समाधि अन्तरङ्ग योग हुन्। बहिरङ्ग योगलाई हठयोग र अन्तरङ्ग योगलाई राजयोग भनेरसमेत बुझ्न सकिन्छ। 

पतञ्जलिले समाधिलाई अन्तिम गन्तव्य भने। बुद्धका अनुसार ध्यानपछि प्रज्ञोदय हुन्छ। प्रज्ञोदयसँगै व्यक्तिका सारा क्लेशहरू निर्मूल हुन्छन्, यथाभूतदर्शनम् अर्थात् जीवन र जगत्लाई जस्ताको तस्तै देख्न सकिन्छ। सबै कुरा अनित्य छन्, दुःखयुक्त छन् र दुःख बुझेपछि अनात्मा साक्षात्कार हुन्छ, दुःखी हुने त्यहाँ कोही छैन भन्ने बोधि जागृत हुन्छ। बोधि जागृत हुँदा शान्तिलाभ हुन्छ, जो सत्वहरू दुःखैदुःखमा बाँचिरहेका छन् तीप्रति अपार करुणा जागृत हुन्छ। 

बोधि जागरण र करुणाको अभ्युदयका लागि ध्यानको यथोचित अभ्यास अपेक्षित हुन्छ। ध्यानको परिभाषा गर्दै बौद्ध विद्वान् असङ्गले भने - धारयति अध्यात्मं मन इति ध्यानम्। अर्थात् मनलाई आफैभित्र अड्याएर राख्नु ध्यान हो। ध्यानले मनलाई स्थिर बनाइदिन्छ, ऊर्जा सञ्चित गराइदिन्छ, निष्क्रिय ऊर्जालाई सक्रिय गराइदिन्छ। ऊर्जा शान्ति र आनन्दको स्रोत हो जुन सांसारिक संसर्गका दौरान क्षय हुन्छ। 

अनुभूतिका कुरा 

भगवान् बुद्ध भिक्षुहरूसहित श्रावस्तीको विहारतिर जाँदै हुनुहुन्थ्यो। हिँडिरहेका बेला अचानक बुद्धको बायाँ काँधमा एउटा झिंगा आएर बस्यो। बुद्धले झिंगा धपाउनुभयो, झिंगा उडेर गयो। बुद्ध एकछिन रोकिनुभयो र पुनः हातले झिंगा धपाएजस्तो गर्न थाल्नुभयो। भिक्षु आनन्द बुद्धका पछिपछि हिँडिरहेका थिए। उनले भने, “भगवान्, झिंगा त अघि नै उडेर गइसक्यो। तपाईंले के धपाउनुभएको हो ?” बुद्धले भन्नुभयो, “मलाई थाहा छ, झिंगा उडेर गइसक्यो। पहिला मैले बेहोशीमा झिंगा धपाएँ। म त्यतिखेर होसपूर्ण हुनुपथ्र्यो। अहिले होशपूर्ण भई धपाउने अभ्यास गरिरहेको छु। फेरि कुनै बेला झिंगा आएर बसेमा मैले होशमा रही धपाउने छु।” 

ध्यानको अभ्यासले हर्दम, हरपल होसपूर्ण रहन अभ्यस्त बनाउँछ। बुद्धले ध्यानलाई स्मृतिप्रस्थान भन्नुभएको थियो। वर्तमान अवस्थामा सजग र होशपूर्ण रहने अभ्यास। बितेको समय फर्केर आउँदैन, भविष्य कसैले देखेको हुँदैन, हामीसँग केवल वर्तमान क्षण हुन्छ।

अतः विगतको याद र आगतको कल्पनामा हराउने आदत ब्रेक गरेर वर्तमान समयमा होशपूर्ण रहने अभ्यास गर्‍यौँ भने जीवनका हरेक पलहरू विस्मयकारी देखिन थाल्नेछन्। चमत्कार हाम्रै वरिपरि घटिरहेका छन्, हरक्षण हामीले आश्चर्यजनक रहस्यहरू देख्नेछौँ। ध्यानको अनुभूति हरेक व्यक्तिमा पृथक् हुन्छ, नवीनतम हुन्छ। एक भिक्षुणीले गोडा पखालेको पानी जमिनले सोसेको देखेर जीवनको अनित्यता साक्षात्कार गरेको प्रसंग थेरीगाथामा उल्लेख छ। अलगअलग रहनुपर्दा दिक्क हुने या एकान्तवासलाई अवसर बनाएर जीवनका सम्भावनाहरू पहिल्याउन तत्पर हुने, रोजाइ आफ्नोआफ्नो। 
(लेखकका मिथक सँगालो, बुद्धका आँखामा आम्रपाली, योग साधना, धम्मपद जस्ता कृति प्रकाशित छन्।)   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.