दुनियाँभरको चिन्ता ! चिन्तन ?
जब-जब हामी कुनै पनि समस्याबाट ग्रस्त बन्छौँ, स्वभावैले हामी सर्वप्रथम समस्याका बाहिरी कारण खोज्न थाल्छौँ। यतिसम्म कि त्यो समस्याको मुख्य कारक स्वयं आफू नै किन नहोऊँ। प्राकृतिक रूपमै हामी बहिर्मुखी छौँ र बहिर्मुखताका कारण हामी आफूलाई भन्दा पहिला अर्कोलाई देख्छौँ। कुनै पनि दुर्घटनाको जिम्मेवार मूलतः हामी अर्कैलाई बनाउँछाँै। आजकाल त्यही भइरहेछ।
संसार कोरोना भाइरसको भयले सन्त्रस्त र आक्रान्त छ। कयौँ मानिस मृत्युवरण गरिरहेका छन्। हरेक सचेत प्राणीको पहिलो आवश्यकता आफूलाई सूरक्षित राख्नु हो अथवा सुुरक्षित भएको भानले आफूलाई सन्तोष दिलाउनु हो। वास्तविकता चाहिँ हामी न कहिल्यै सम्पूर्ण रूपमा सुरक्षित थियौँ, न कहिल्यै हुनेछौँ। जीवनको वास्तविकता हाम्रो अधीनमा कमसेकम अहिलेसम्म आइसकेको छैन। वर्तमान विश्वको विज्ञानको संयन्त्रलाई आधार मानेर हेर्ने हो भने पनि भविष्यमा पनि मृत्युलाई सहजै जित्ने सम्भावना देखिँदैन।
असम्भाविताको वास्तविकतामा जब लगातार वज्रपात हुन थाल्छ, मानिसको विवेकले काम गर्न नसक्नु स्वाभाविकै हो। यतिखेर संसारमा विवेकशून्यता चरम रूपमा छ। जबसम्म कोरोना भाइरसको औषधीय समाधान प्राप्त हुँदैन, तबसम्म विश्वमा शान्ति र स्थिरता पुनःस्थापना हँुदैन। हामी सबैले अहिले धैर्यसाथ आफू पनि सुरक्षित हुनु र अरूलाई पनि सुरक्षित हुन उत्प्रेरित गर्नुबाहेक तत्कालका लागि उपाय छैन। बाँच र बाँच्न देऊको प्राकृतिक उपाय अवलम्बन नै आजको हाम्रो प्रथम कर्तव्य हो।
कोभिड रोकथामपश्चात् पनि यसले हाम्रो सामाजिक, सांस्कृतिक, मानसिक, आर्थिक दिनचर्यामा कैयौँ वर्षसम्म प्रभाव पारिरहनेछ। एचआईभी एड्सले पारेको विश्व समुदायको प्रभावलाई एउटा उदाहरणका रूपमा लिन सकिन्छ। अझै पनि हाम्रो विश्वले मलेरिया बिर्सेको छैन, क्षयरोग बिर्सेको छैन अनि क्यान्सरको ताण्डवलाई जितेको छैन।
आफूलाई सर्वज्ञ र शक्तिशाली मान्ने, उसलाई खाने कालले मलाई पनि खान सक्छ भन्ने भानसम्म पनि राख्न नसक्ने मानसिकताले डुबाउला जस्तो पो छ त !
कोभिडको अर्को डरलाग्दो पक्ष पनि देखापर्न थालेको छ, त्यो अत्यन्त दुर्घटनादायक छ- आरोप र प्रत्यारोपको राजनीति। एकातर्फ विज्ञानलाई चुनौती, अर्कोतर्फ राजनीतिक विश्वसनीयतामाथि प्रश्न। राष्ट्रमा कहीँ न कहीँ नेतृत्वप्रति घृणाभाव, अविश्वास र आक्रोश बढ्दो छ अहिले। विश्वव्यापी रूपमा यसका उदाहरण छताछुल्ल छन्। चीन अत्यन्त बलशाली भएका कारण प्रथम उदाहरण नहुन सक्छ, तर महामारीको उदय स्थल भएकाले यसको समाधानमा प्रभावकारी उपाय अवलम्बन गर्न नसकेको, समयमै सूचित गराउन नचाहेको भन्ने आरोप खेपिरहेको छ। के अरू विश्व समुदायले यो संसार सम्पूर्ण रूपमा एकअर्कासित कुनै न कुनै रूपमा जोडिएको छ, यो चीनको मात्र समस्या होइन, हाम्रो पनि समस्या हो भनेर सहानुभूतिक प्रतिक्रियासम्म दियो त ?
जब यो महामारी चीनमा चरमोत्कर्षमा पुगिसकेको थियो, त्यतिबेलासम्म विकसित विश्वले काखी बजाउनेबाहेक अरू काममा ध्यान नै दिएन। सबैभन्दा ठूलो विस्मयकारी सन्दर्भ हो यो, आजको राजनीतिक परिदृश्यमा। अब विश्व नै आक्रान्त भइसक्यो, तैपनि कतिपय नेतृत्व आफ्नो समस्या भन्न हिच्किच्याइरहेका छन्। दुर्भाग्यवश आज पनि हामी एक अर्काेभन्दा राम्रो, दह्रो, बलियो, ज्ञानी अझ सर्वज्ञ छौँ भन्ने नियन्त्रणवादी मानसिकताबाट नै ग्रस्त छौँ। विश्व परिवेशको सन्दर्भमा भन्ने हो भने- उपनिवेशिक मानसिकता प्रभुत्ववादी संयन्त्रबाट विश्वले अझै पनि मुक्ति प्राप्त गर्न नसकेको सन्दर्भ यहाँ प्रस्ट रूपमा देखिएको छ। यहाँ सबै संयन्त्र औपनिवेशिक, प्रभुत्ववादी मानसिकताबाट ग्रस्त छ भन्न खोजेको होइन। औपनिवेशिक परिवेशबाट सबैभन्दा बढी पीडित पक्ष स्वयंले पनि हैकमवादको पदचापलाई सुन्ने र उसलाई खुसी पार्न गर्ने प्रयास भइरहेकै छन्। जबसम्म हामी बैशाखीको सहाराबाट स्वयंलाई उन्मुक्त गर्न सक्दैनाँै, तबसम्म परमुखापेक्षी मानसिकताबाट हाम्रो उन्नति हुनै सक्दैन।
कोभिडको भयले कमसेकम एउटा राम्रो उदाहरण दिएको मान्नुपर्छ। जबसम्म हामी स्वयं सुरक्षित हुन सक्दैनौँ तबसम्म अरुलाई सुरक्षित बनाउने सम्भावना नै रहँदैन। यस सन्दर्भमा आजको विश्वले सामाजिक दूरीलाई मुख्य औषधिका रूपमा लिएको प्रसंगलाई जोडेर हेर्न सकिन्छ। अर्को नैराश्यको कालो बादलले विश्वलाई नै आक्रान्त पारेको परिवेश पनि छ, यहाँ। यसबेला शक्ति र साम्राज्यबारे पनि पुनर्विचार गर्नुपर्ने बेला आएको छ। प्रश्न अत्यन्त सरल र प्रस्ट छ, आजको दिनसम्म कोभिडको चपेटामा सबैभन्दा बढी कहाँका परेका छौँ ? हामीसित भएको शक्ति, सम्पत्ति, सैन्यबल, अन्तरिक्षबल, प्रकृति र विज्ञानको माध्यमबाट प्राप्त सौर्य र सामथ्र्य कता गयो ? किन त्यो सामथ्र्यले आफैँलाई संरक्षण गर्न सकिरहेको छैन ?
आफूलाई सर्वज्ञ र शक्तिशाली मान्ने, उसलाई खाने कालले मलाई पनि खान सक्छ भन्ने भानसम्म पनि राख्न नसक्ने मानसिकताको परिणाम हो, यो।
दुष्प्रचारको पनि महामारी छ अहिले। कताकता षड्यन्त्र सिद्धान्त मौलाइरहेको छ। संशयले संशय नै उत्पादन गर्छ। षड्यन्त्रको भयावह पनि सिर्जना भइरहेको छ, त्यो भनेको विश्वासमा संकट पैदा हुनु हो। जहाँ विश्वास हुँदैन, त्यहाँ सन्त्रास स्वतः सिर्जना हुन्छ। सन्त्रासको मानसिकताले सबैलाई विपरीत देख्छ, सबैलाई शत्रु देख्छ, यतिसम्म कि स्वयंमाथि पनि विश्वास रहँदैन। संशयको मुख्य कारण सामाजिक, आर्थिक, धार्मिक, राजनैतिक र अन्ततः स्वयंप्रति हतोत्साहको सृजना हुनु हो। सामाजिक विभेदीकरणले होस् अथवा आफ्नो इच्छापूर्ति गराउन, केही वर्गले निमुखाहरूमाथि सधैँ डरको भावना सिर्जना गर्ने प्रयास गर्छन्, गरिरहेका छन्।
विश्वमा अविश्वासको वातावरण सिर्जना गर्न सक्ने सम्भावना प्रबल छ। विश्वलाई फेरि अर्को विभाजनको संघारमा उभ्याउन बेर लाग्दैन। तसर्थ हामीले बेलैमा होस पुर्याउन जरुरी छ कि यो संशय, षड्यन्त्रको सिद्धान्तको विभेद सिर्जना गराउने वातावरणको प्रवेश नै रोकियोस्। यस बेला सामाजिक सञ्जालमा पनि जोड्नेभन्दा तोड्ने सूचना बढी प्रवाह गरिरहेको देखिएको छ। व्यक्तिगत सन्त्रासले हाम्रो मानसिकता ग्रस्त छ र त्यही सन्त्रास संवाहन भइरहेको छ।
अनियन्त्रित सूचनाहरूले समाजलाई विखण्डनको बाटोमा लग्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन। अतः विश्वभरका सचेत नागरिकले, आफ्नो कर्तव्य ठानी विखण्डनकारी सूचनाको प्रवाहलाई रोक्न सकारात्मक सन्देश सञ्चार गर्नु आवश्यक छ। विश्व बन्धुत्व, भाइचारा, सदाशयता र सद्भावले ओतप्रोत सन्देश अनि त्यसै अनुरूपको व्यवहार कुशलता आजको आवश्यकता हो।
वसुधैैव कुटुम्बकम्- जगत्का सारा मानव, कुनै न कुनै अर्थमा स्ववन्धु नै हौँ। हामी मूल रूपमा प्रकृतिसित जोडिएका छौँ। प्रकृतिसितको सामीप्यलाई र सामञ्जस्यलाई कायम गर्दै संसारमा आउने सन्त्रासहरुको समाधान गर्दै यस्ता संकटको कारण, कार्य र परिणामहरूको सामना गर्ने र यस्ता समस्याको समाधानका बाटाहरूको पहिचान गरी शान्तिपूर्ण समन्वयात्मक समाजको निर्माण गर्न आफ्नो प्रयासलाई निरन्तरता दिनु नै आजका हामी विश्वभरि रहेका सचेत मानवहरूको कर्तव्य हो। बाँच र बाँच्न देऊको सिद्धान्तलाई आत्मसात् गर्नु र सबैमा पे्रम सद्भाव, अपनत्वको भावना जगाउनु, सबैको भावनाको उच्च कदर गर्नु आवश्यक छ।
(भण्डारीका पर्यावरणसित सम्बन्धित थुप्रै जर्नल लेख तथा पुस्तक प्रकाशित छन्। उनी अमेरिका र युक्रेनको विश्वविद्यालयमा प्राध्यापन गर्छन्।)