संगीतको सागरमा इन्दिरा
काठमाडौं : ‘तिमीले छोडे मर्छु म, फूल झैं ओइली झर्छु म’ गायिका इन्दिरा भट्टराईले भुवनप्रकाशसँग गाएको यो डीजे गीतले धेरैलाई नचायो। कहिले तीज गीत त कहिले लोक अनि कहिले आधुनिक त कहिले शास्त्रीय। सबै प्रकारका गीतमा आफूलाई परख गराइसकेकी इन्दिरा यस्ती गायिका हुन् जो सुदूरपूर्वको पहाडी जिल्ला तेह्रथुममा जन्मिएर सुदूरपश्चिमको डेउडा गाउँदै आफूलाई संगीत क्षेत्रमा स्थापित गराइन्।
‘संगीतले बाँच्नुको अर्थ र तात्पर्य बोध गराउँछ’ भन्ने सोचका साथ आफूलाई यो क्षेत्रमा क्रियाशील राखेकी उनले अहिले मेचीदेखि महाकालीसम्मका गीत गाएर श्रोता तथा दर्शकलाई मनोरञ्जन गराइरहेकी छन्। उद्यमशील महिलाकी प्रेरणा बन्दै गीत संगीतमा रमाइरहेकी उनले इलाहाबाद विश्वविद्यालयबाट संगीतमा स्नातक गरेकी छन्। ‘६ वर्षको यो कोर्स पूरा गर्न मैले निकै मेहनत गरें, अहिले त्यसको फल पाइरहेकी छु’, उनले भनिन्।
झलमाया र बासुदेवकी कान्छी छोरीका रूपमा २०३८ साल असोज १२ गते उनको जन्म भएको हो। संगीतप्रति लगाव भएको परिवार भएकाले सानैदेखि उनको रुचि यतै गयो। ‘कान्छो भाइ रूपेश लोकप्रिय बाँसुरीवादक हुन्। मलाई पनि संगीतको मोह थियो। त्यसैले यहाँ रमाउन गाह्रो भएन’, इन्दिराले सुनाइन्।
इन्दिराले स्कुले शिक्षा तेह्रथुमको जलजलेस्थित शंकर उच्च माविबाट लिएकी हुन्। त्यसपछि उच्च शिक्षका लागि उनी २०५६ सालमा काठमाडौं आइन्। उनले पद्मकन्या क्याम्पसबाट आईए उत्तीर्ण गरिन् र राष्ट्रिय नाचघरबाट छात्रवृत्तिमा एक वर्ष संगीत सिकिन्। रेडियो नेपालबाट २०५७ र २०५८ मा लोकगीत र आधुनिक दुवै गीतमा उनले स्वरपरीक्षा पास गरेकी छन्।
उनी सानैदेखि गाउँघर तथा विद्यालयमा हुने सांगीतिक कार्यक्रममा सहभागी भएर पुरस्कार पाउँथिन्। उनले त्यतिबेलै मादल, तबला, तानपुरा बजाउन सिकिसकेकी थिइन्। तीन वर्षको उमेरमा नृत्य गरेर प्रथम पुरस्कार जितेकी थिइन्। २०५७ सालमा उपत्यकाव्यापी क्याम्पसस्तरीय संगीत प्रतियोगितामा उनले दोस्रो पुरस्कारसमेत हात पारिन्।
इन्दिराको व्यावसायिक सांगीतिक यात्रा भने देउडा गीतबाट सुरु भएको हो। उतिबेला इन्दिराले धनराज रेग्मीको शब्द संकलनमा सातवटा देउडा गीत रेकर्ड गरेकी थिइन्। ‘गैरी खेतकी रोपाइँ’ उनको पहिलो देउडा गीत हो। ‘लेकबेँसीका सुसेली’ ले उनलाई पूर्वमा स्थापित गरायो भने चेलीको व्यथाले नयाँ उचाइ दियो।
इन्दिराले ‘काठमाडौंको माइक्रो बसैमा’ बोलको दोहोरी गीतमा स्वर दिएपछि गाडीहरूमा धेरै लोकप्रिय घन्कियो। शास्त्रीय संगीतकी विद्यार्थी भएकीले पनि उनलाई सबै खाले गीत गाउन सहज भयो। ‘पहिला एल्बम बिक्री हुन्थ्यो र त्यो पैसाले अर्को एल्बम निकाल्न सहज हुन्थ्यो तर अहिले त रेकर्डिङको सम्पूर्ण खर्च आफैं व्यहोर्नु पर्छ’, उनले अहिलेको यथार्थ सुनाइन्। आफूलाई एउटी आदर्श नारी, उद्यमी महिला साथै सुमधुर स्वरकी धनी भनेर सम्बोधन गरिँदा कठिन परिस्थितिमा पनि सहज अनुभूत गर्ने उनी यही सम्पत्ति बोकेर संगीतको सागरमा हराइरहेकी छन्।