हार्वर्डबाट अमेरिका नियाल्दा

हार्वर्डबाट अमेरिका नियाल्दा

समय बितेको पत्तै नपाइने रहेछ। विदेशमा बस्न थालेको पनि १७ औँ वसन्त बित्न आँटेछ। वर्षमा २÷३ पटक आऊजाऊ गरिरहेकाले नेपालबाट टाढा छु जस्तो नलागेको मात्रै रहेछ। उमेरले बिस्तारै उकालो चढ्दै गरेको स्वीकार नगरेर पनि के गर्नु ? उमेरको कामै उकालो चढ्नु हो, चढिरहोस्। उकालो चढ्नु आफैँमा परिपक्वता आउनु हो। कपाल पातलिँदै गएकामा मन बुझाउने यस्ता अनेकौँ कारण र तर्क भएपछि किन चित्त दुखाउनु र !

उमेरको १२ औँ वसन्तमै भए पनि मलाई शिक्षाको अवसर नमिल्दो हो त जीवनका उकालाहरू फगत समस्या र संघर्षका पर्याय मात्रै बन्थे होलान्। अँध्यारो जीवनबाट छुटकारा खोज्न १२ वर्षको उमेरमा चितवनबाट काठमाडौँतिर लम्किएको मेरो पाइला झन्डै १२ वर्षपछि सन् २००२ मा उच्च शिक्षाका लागि जापानतिर उकालियो। जापानमा एउटा सेमिनारमा सहभागी भएपछि सुरुवाती दिनहरूमा डस्किनको तालिम हुँदै विश्वविद्यालयको विद्यार्थीका रूपमा संघर्ष र चुनौतीपूर्ण दिन बित्न थाले।

सन् २०१० मा टोक्यो विश्वविद्यालयबाट पिएचडी सिध्याएपछि समयले मलाई नेपालबाट विद्यावारिधि गर्ने पहिलो दृष्टिविहीन व्यक्ति बनायो। यसले सफलताको आभास मात्रै गराएन, यो क्षेत्र कति पछाडि रहेछ भन्ने महसुस एकैसाथ गरायो। त्यसपछि मेरा भोगाइ र जिम्मेवारीहरूमा फेरबदल आइरहे। 

जाइकामा अनुसन्धाताका रूपमा झन्डै तीन वर्ष काम गरेँ। सन् २०१५ मा चुकुबा विश्वविद्यालयमा सहप्राध्यापकको स्थायी नियुक्ति पाएपछि अध्ययन-अनुसन्धानसँगै शिक्षणको नयाँ तर अत्यन्तै रमाइलो र सिकाउने मात्र होइन सिक्ने ठाउँमा पुर्‍याइदियो। यति लामो भूमिका बाँधेको केवल एउटा कुरा भन्नलाई हो। म स्वयंले नसोचेझैँ अनेक घुम्ती र मोडबीच मेरो जापान बसाइ लम्बिँदो छ। यो बसाइ छोटियोस् भन्ने उत्कट आकांक्षा नभएको पनि होइन। मेरो आकांक्षा र देशको परिस्थितिबीच तालमेल भएन कि ?

लाखौँ विदेशी विद्यार्थीहरूमा आफ्ना संस्कार, संस्कृति, सोच अनि अवधारणा बिनाअड्चन कसरी फैलाउन सकेका होलान् ?  

यतिबेला म १७ वर्षीय जापान बसाइबाट झन्डै एक वर्षको ब्रेक लिएर आगन्तुक अनुसन्धाताका रूपमा अमेरिकास्थित हार्वर्ड विश्वविद्यालयमा छु। यो अवसरले मनमा एकखालको रोमाञ्चकता थपिएको थियो। त्यहाँका अनुसन्धाताहरूसँग घुलमिल र सहकार्यको सम्भावनाले थप ऊर्जा र उत्प्रेरणा दिएकै थियो। हार्वर्ड यन्चिङ इन्स्टिच्युटले सहकार्य गर्दै आएका एसियाका विश्वविद्यालयबाट विभिन्न छनोट चरण पार गरेपछि २०÷२२ जना प्राध्यापकहरूलाई आगन्तुक अनुसन्धाताका रूपमा निम्त्याउँदो रहेछ। उनीहरूको अन्तिम छनोटमा परेपछि नै मेरा लागि हार्वर्डको ढोका उघ्रिएको हो।

हार्वर्डको बसाइ मूलतः अध्ययन-अनुसन्धानमै रमाइलोसँग बितिरहेको थियो। तर मानव निर्मित भूगोलका रेखाहरू एकसाथ छिचोल्दै चीनबाट सुरु कोरोना भाइरस विश्वभर फैलियो। अमेरिका पनि यसबाट अछुतो रहेन। सरकारले बेलैमा मुलुकभित्र आन्तरिक आवागमनलाई बन्द नगर्दा सबै राज्यहरूमा फैलियो। विश्वविद्यालय जाने स्थिति रहेन। कक्षाहरू अनलाइनबाटै सञ्चालन गर्नुपर्ने अवस्था आइलाग्यो। घरैमा बन्दी जीवन सुरु भयो।

अमेरिकाबारे अनेक मिथक सुनिन्छ। धेरैका लागि यो मुलुक अवसरको खानी नै हो। यहाँ आउन चाहनेहरूको संख्या दिनानुदिन बढ्दो छ। यहाँ आउँदा ममा त्यस खालको सपना त थिएन तर मानिसहरू किन यो देशप्रति आकर्षित छन् भन्ने बुझ्न मन थियो। विभिन्न कन्फ्रेन्स तथा संयुक्त राष्ट्र संघ अनि विश्व बैंकका गोष्ठीमा सहभागी हुन पहिले पनि आएको थिएँ। त्यसैले, अमेरिकन ड्रिमलाई केवल आहा ! भन्नुको सट्टा थोरै आलोचनात्मक या सापेक्षतावादी चेतले हेर्ने सोच पलाएको हुँदो हो ! 

विगतका छोटा बसाइका आधारमा मैले कतिपयलाई दुई वटा वाक्यांशमा अमेरिकाको चित्रण गर्थें। पहिलो यो डिभेलोप्ड इन्डिया जस्तो रहेछ। मेरो दोस्रो बुझाइले अमेरिकालाई गुड पिपुल ब्याड पोलिसी भनेर अर्थ लगाउन खोज्यो। यसो भनेर अमेरिकालाई खराबै त देखाउन खोजिएको होइन न त भारतलाई पूर्ण विकसित भनिएको हो। बरु वातावरण व्यवस्थित नभएको, घरेलु शान्तिको प्रत्याभूति नभएको अनि स्वास्थ्य र शिक्षामा सर्वसाधारणलाई अझै चुनौती रहेकोतर्फ संकेत गर्नु थियो। 

के भन्ने गरिन्छ भने अमेरिकाले मानिसका सम्भावनाको पहिचान छिटो गर्छ। मुलुकका निम्ति उपयुक्त ठानिएमा उनीहरूलाई ल्याउन कुनै कसर बाँकी नराख्ने नीति हुँदो रहेछ। त्यसैले होला विविधताका हिसाबले यहाँ एउटा सिंगो संसार नै खडा छ। जापान बसाइको मेरो अनुभवमा कुनै अपरिचित मानिससँग बोल्नासाथ उनीहरूको पहिलो प्रश्न हुने गर्छ, तपाईं कुन देशबाट आउनुभएको ? अझ उनीहरूसँग जापानी भाषामै बोल्ने हो भने त तपाईंको जापानी कति राम्रो भनेर प्रंशसा गरेझैँ गर्छन्। 

तर त्यो व्यक्ति उनीहरूकै विश्वविद्यालयमा उनीहरूजस्तै विद्यार्थीलाई जापानीमै पढाउने मान्छे हो भनी सायदै सोच्दा हुन्। त्यसैले उनीहरूमा आश्चर्यको पहाड चुलिन थाल्छ। अमेरिकामा भने अवस्था त्यो भन्दा फरक पाएँ। सायद अंग्रेजी अन्तर्राष्ट्रिय भाषा भएकाले होला, तपाईंको अंग्रेजी राम्रो रहेछ या नराम्रो रहेछ भन्ने टिप्पणी उति सुन्न नपाइने। अझ उनीहरूका विश्वविद्यालयमा त यसरी विषयवस्तुको भन्दा भाषाबारे टिप्पणी गरिनुलाई उल्टै ह्यारेस्मन्ट मानिने ऐन रहेछ। अमेरिका भनेकै विभिन्न जाति, धर्म, लिंग, भाषा र भेषका मानिस बस्ने देश। यहाँ कोही कसैलाई नौलो र नयाँ नलाग्ने। त्यसैले होला, तपाईं कुन देशको भन्ने प्रश्न उति नतेर्सिने। बरु आन्तरिक विमानबाट एक राज्यबाट अर्कोमा जाँदा कसैले सोधिहाले भने पनि तपाईं घर जान लाग्नुभएको हो भन्ने प्रश्न सुनिने। यस दृष्टिले हेर्दा जापानजस्तो विदेशी भनेर बेग्लै सोच या व्यवहारको अपेक्षा गर्न नपर्दा समानताको घेराभित्र कम विभेद भएझैँ महसुस हुँदो रहेछ। 

शिक्षा 

कुन मुलुक कस्तो छ भन्ने कुरा धेरै हदसम्म त्यहाँको शिक्षा नीति र प्रणालीले निर्धारण गर्छ। कतिलाई अमेरिकाको बलियो पक्ष सैन्य शक्ति हो झैँ लाग्ला, मलाई भने उनीहरूको कुनै बलियो पक्ष छ भने त्यो शिक्षा नै हो भन्ने लाग्छ। 

अमेरिकाले हतियारका अतिरिक्त आफ्नो शिक्षा विश्वभर निर्यात गर्छ। जति फाइदा प्रत्यक्ष व्यापार, सैन्य शक्ति या हतियार निर्यातबाट हुन्छ, त्यो धन्दा धेरै गुणा बलियो रवाफ र प्रभाव शिक्षा निर्यातबाट अन्य मुलुकमा स्वतः फैलाउन सकिँदो रहेछ। त्यस्तो प्रभाव दीर्घकालीनसमेत हुन्छ। अर्थात्, यसो भनौँ राजनीतिक वृत्तमा कतिपयले भन्ने गरेको अमेरिकी साम्राज्यवाद फैलनमा जति उनीहरूको राजनीतिक हस्तक्षेप र सैन्य शक्तिको प्रभाव होला त्यो भन्दा बेग्लै तर धेरै गुणा शक्तिशाली र स्वतःस्फूर्त प्रभाव उनीहरूले निर्यात गर्ने शिक्षाकै छ। 

म एकजना सहयोगीसँगै हार्वर्डका विभिन्न स्कूल चहार्दै थिएँ। ग्राजुयट स्कुल अफ एजुकेसनको मोट्टो उसले पढेर सुनायो :लर्न टु चेन्ज द वल्र्ड। हो, अमेरिकी विश्वविद्यालयहरूमा तपाईं यस्तै ठूला नारा, भाषण र मोट्टोहरू पाउनुहुन्छ। जब अन्य मुलुकका मानिस अमेरिकी शिक्षा लिन तँछाडमछाड गर्छन् तब उनीहरूलाई लाग्दो हो संसार बदल्ने सामथ्र्य हामीसँगै छ। 
१२ कक्षासम्म नेपालमा पढेका र उमेरले २० ननाघेका बालबालिकाहरू अमेरिकालगायत अन्य मुलुकमा अध्ययनका लागि जाने घटना हाम्रो घर र टोलमा बढेकै छ। विदेशिएको केही समयमै उनीहरूको व्यवहारमा बदलाब महसुस गरिएकै होला। अनि सोच्नुहुन्छ होला, अमेरिकी शिक्षाका सकारात्मक र नकारात्मक, दुवै खाले प्रभावले कति छिटै बालबालिकामा असर देखाउन थाल्यो। 

स्वतन्त्रताका अतिरिक्त आफ्नो काम आफैँले गर्ने र आफूलाई तथ्य र तर्कका आधारमा प्रस्तुत गर्न थाल्दा जति खुसी अनुभूति हुँदो हो त्यसरी नै हाम्रा संस्कृति र संस्कारप्रति दिनानुदिन उदासीन भई थ्यांक्स गिभिङ र हलोविनलाई क्रमशः आफ्नैझैँ अँगाल्दा अभिभावकलाई केही असहज लाग्दो हो।  लाग्छ, युवा शक्ति विदेशिनु भनेको करिब विदेशीकै शिक्षा र संस्कृतिको अनुयायी बन्नु सरह हो। तर विडम्बना के छ भने १२ कक्षासम्म राज्यको लगानी हुँदाहुँदै केवल छोटो समय विदेशमा अध्ययन गर्दा उनीहरू नेपालजस्ता आफ्नो मुलुकप्रति आकर्षित बन्न नसक्नुका कारण हामीले खोतल्न सकेका छैनौँ। 

शिक्षा नीति, शिक्षण शैली, पाठ्यक्रमको निर्माण अनि विद्यालयदेखि विश्वविद्यालयको व्यवस्थापनमा हामी कहाँ चुकेका छौँ, एक त खोतल्ने जमर्को नै गरिँदैन, दोस्रो थाहा पाएरै पनि परिवर्तन र परिमार्जन गर्न खोजिँदैन। बरु नेपालमा केही हुँदैन, यहाँको पढाइभन्दा विदेशकै ठीक र त्यसमा पनि अमेरिकाकै सिको गरेको ठीक भन्ने हाम्रा शिक्षक तथा अभिभावकले आफ्ना बालबालिकालाई प्रशिक्षित गर्न थालेपछि हामीजस्ता विदेशिएकाहरूले आलोचनात्मक चेतको विकास गर्दै सिक्नुको सट्टा अनुयायी बन्न खोज्नु स्वाभाविक हो। 

शिक्षालाई समय सान्दर्भिक अनि निर्यातयोग्य बनाइराख्न अमेरिकीहरूले गर्ने मेहेनत कम्ता लोभ लाग्दो छैन। उनीहरू अनुसन्धानमा लगानी मात्र गर्दैनन्, दक्ष अनुसन्धानकर्ता र प्राध्यापक भित्र्याउन कुनै कसर बाँकी राख्दैनन्। अर्थात् उनीहरू ब्युटिफुल वर्ड्स् भन्दा ब्युटिफुल एक्सन मन पराउँछन्, जुन क्वालिटी अफ माइन्डबाट मात्रै सम्भव हुन्छ। मैले हार्वर्डलाई यस्तै इन्टेलेक्चुएल्ली भाइब्रेन्ट क्वालिटी अफ माइन्डको अनुपम बैंक पाएँ। 

समयसापेक्ष शिक्षाका लागि कस्तो पाठ्यक्रमको विकास गरेका होलान् र शिक्षण सिकाइका माध्यमबाट कसरी ती लाखौँ विदेशी विद्यार्थीहरूमा आफ्ना संस्कार, संस्कृति, सोच अनि अवधारणा बिनाअड्चन फैलाउन सकेका होलान्, यो नै अन्य मुलुकका लागि अध्ययन र अनुकरणको विषय हुन सक्ला। 

स्वास्थ्य

अमेरिकीहरू दाबी गर्छन्, उनीहरूको स्वास्थ्य सेवा उत्कृष्ट छ। राम्रा जनशक्ति यहीँ छन्। दक्षतालाई हेरेर त्यस्तो दाबी गरिएको हो भने त्यसलाई अस्वीकार गरिहाल्नु पर्दैन। तर मध्यम आयस्रोत भएका जनताको पहुँचको हिसाबले सोचियो भने सायद विकसित देशहरूमध्ये सबैभन्दा महँगो र गरिब जनताले उपचार नै पाउन नसक्ने खालको व्यवस्था यहीँ रहेछ। 
उत्तरी युरोप, क्यानाडा अनि जापानमा पाइने सेवा र सुविधा यहाँ आशा गर्नु निरर्थक रहेछ। पुँजीवादी देश भएर होला भनौँ भने छेउको क्यानाडा, जापान अनि अस्ट्रेलियाले समेत स्वास्थ्यलाई नाफाभन्दा सेवामुखी बनाएका छन्।

बिरामी हुँदा कुन अस्पताल जाने भन्ने पनि कुन कम्पनीमार्फत स्वास्थ्य बीमा गरिएको हो त्यसमा निर्भर हुँदो रहेछ। बीमामा पनि अनेकौँ सर्त लागू गरिँदो रहेछ। पहिलेदेखि नै रोग लागेको भए अब बीमामा छिर्दा उनीहरू त्यस्तो रोगलाई नसमेट्दा रहेछन्। अरु त अरु गर्भवती महिलाका लागि पनि प्रि-एक्जिस्जटिङ कन्डिसन भनेर पन्छाउने प्रयास हुँदो रहेछ। 

सायद, नेपालमा जस्तो उपचारमै लापरबाही हुने, गुणस्तरको सट्टा नाफा-नोक्सानकै हिसाब बढी हुने र स्वास्थ्य बीमाको प्रभाव खासै नभएको देशबाट पहिलो पटक अमेरिका आएको हुँदो हुँ त मलाई यिनीहरूका धेरै कुराले पक्कै आकर्षित गर्थे होलान्। पैसा तिर्न सकियो भने त्यो साँच्चै आहा भन्ने खालकै छ। एसियामा प्रचलित ‘डाक्टर नै सबथोक’ भन्नुको सट्टा बिरामीको बोलीलाई प्राथमिकता दिइँदो रहेछ। 

मानव विविधताले छपक्कै ढाकिएकैले होला अंगे्रजी बोल्न नसक्नेहरूका लागि उनीहरूकै मातृभाषामा स्वास्थ्य सेवा दिने कोसिस हुँदो रहेछ जुन अन्य मुलुकका लागि अनुकरणीय बन्न सक्छ। उनीहरूले दिने उपचार जति गुणस्तरीय छ, त्यति नै टीठलाग्दो रहेछ, उपचार प्रक्रिया। एकातिर महँगो स्वास्थ्य बीमा छ भने अर्कातिर कहिलेकाहीँ  देखाउन चाहेको डाक्टरसम्म पुग्न महिनौँ पर्खनुपर्ने रहेछ। जति नै सम्पन्न मुलुक भनिए पनि त्यहाँ उपचार नपाएर मर्नेहरूको वार्षिक संख्या झन्डै ३० हजारको हारहारीमा छ। करिब ५ लाख मानिस उपचारमा सबै रकम खर्च भएर टाट पल्टेको तथ्यांक प्रगतिशील भनिने धारको नेतृत्व गर्दै डेमोक्रेट्सबाट राष्ट्रपतिको उम्मेद्वार बन्न प्रयासरत बर्नी स्यान्डरस्ले आफ्नो हरेकजसो भाषणमा उल्लेख गर्दै आएका छन्। 

म त सबैजसो नागरिक स्वास्थ्य बीमामा समेटिएको मुलुक जापानबाट यता आएको मान्छे। त्यसैले, यी दुईबीच नचाहेरै पनि दाँज्न मन लागिहाल्ने। जापानी व्यवस्थामा कुन क्लिनिक, डाक्टर या अस्पताल जानुसँग तपाईंको कस्तो स्वास्थ्य बीमा छ भन्नेले अर्थ राख्दैन। अर्थात्, जुनसुकै कम्पनीको बीमा भए पनि सजिलै आफूले चाहेको अस्पताल या चिकित्सकबाट सेवा लिनु सामान्य अधिकारभित्र पर्छ। 

यही सामान्य व्यवस्थासमेत अमेरिकी स्वास्थ्य क्षेत्रमा असामान्यझैँ लाग्दा घरिघरि घोत्लिन बाध्य गराउँछ कतै बर्नी स्यान्र्डस्ले भनेझैँ नाफाखोर र माफियाहरूकै नियन्त्रणमा पो छन् कि यहाँका बीमा अनि औषधि उत्पादन गर्ने कम्पनीहरू। अहिले विश्व हल्लाइरहेको कोरोना भाइरसको क्षतिलाई नै हेर्ने हो भने पनि अमेरिकाको स्वास्थ्य क्षेत्रले धेरै गर्न बाँकी रहेको देख्न सकिन्छ। 

नेपालमा स्वास्थ्य बीमा बिस्तारै लागू हुँदै छ। तर त्यो जापानमा जस्तो जुनसुकै अस्पताल जान पाउने बिरामीको इच्छा र अधिकार विपरीत अमेरिकाकै सिको गरेर तोकिएको अस्पतालमा मात्रै जान सक्ने व्यवस्था अपनाइएको छ। यहाँ बझ्नु के पर्छ भने, अमेरिका भन्दैमा त्यहाँका सबै व्यवस्था आहा ! भन्ने खालका छैनन्। अनुसरण गर्ने खालका छैनन्। त्यस दृष्टिले, सामाजिक सुरक्षाका क्षेत्रमा उत्तरी युरोप र पछिल्ला दिनहरूमा जापान अनि क्यानाडामा भएका व्यवस्था नै हाम्रा लागि अनुकरणीय हुनसक्छ। 

भौतिक संरचना 

यो विषयमा एउटा बेग्लै आलेख तयार पारे पनि हुने हो। तर संक्षेपमा के मात्रै भनौँ भने अमेरिकाको विश्वव्यापी ब्रान्डलाई हेरेर तपाईंले उत्कृष्टताको नमुना ठान्नुभएको छ भने त्यसले तपाईंलाई निराश बनाइदिन सक्छ। उनीहरूका संरचना धेरै पुराना छन्। ती दशकौँ पहिले बनाइएका हुन्। त्यति पहिले बनाइएका संरचनाले अहिले पनि अन्य मुलुकसँग प्रतिस्पर्धा गरिरहेका छन्। यस पक्षलाई विचार गर्दा भन्न करै लाग्छ, अमेरिका विकासमा अरुभन्दा कति अगाडि रहेछ। सँगै जति उसका फराकिला बाटाहरू आहा ! भन्ने खालका छन्, त्यही अनुपातमा उसले ती संरचनालाई अपांगतामैत्री अर्थात् ब्यारियर फ्री बनाउन नसकेकामा आश्चर्य लाग्छ। 

सायद, यहाँका मानिस निजी गाडीमा बढी हिँड्ने भएकाले होला जापानमा जस्तो न त आहा ! भन्ने खालको सार्वजनिक यातायात छ, न त पैदलमार्ग ब्रेल डटहरू बिछ्याएर दृष्टिविहीन व्यक्तिले सहजै आवातजावत गर्नसक्ने खालका नै। हार्वर्डकै संरचनाहरू निकै पुराना र अवरोधयुक्त छन्। त्यसैले, म कहिलेकाहीँ ठट्टा गरेर भन्ने गर्छु सायद, यी हार्वर्ड हेरिटेज हुनुपर्छ। अन्यथा, त्यसलाई नयाँ बनाएर सबैका लागि पहुँचयुक्त बनाउनेतर्फ झन्डै ४० बिलियन डलर इन्डाओमेन्ट रहेको विश्वविद्यालयलाई अर्थको अभाव भएको नहुँदो हो। 

बन्दुकको त्रास  

मलाई अमेरिकाको सबैभन्दा खत्तम व्यवस्था नागरिकले सहजै बन्दुक आफूसँग राख्न पाउने नियम लाग्छ। ३२ करोड अमेरिकीहरूसँग झण्डै ३५ करोड बन्दुक रहेको ठानिन्छ। हत्या र आत्महत्यामा यसको प्रयोग भइरहेको छ। हरेक दिन करिब ३५ जना मानिसको ज्यान बिनाकारण कसैले चलाएको बन्दुकले लिने गर्छ। 

भीडभाडयुक्त ठाउँ जस्तै :सपिङ मल, प्रार्थनागृह, चर्च, स्कुल र विश्वविद्यालयहरू, कहीँ कतै बन्दुक नपड्किएको ठाउँ छैन। यसो भनौँ, आत्मसुरक्षाका लागि बन्दुक लिन पाउने व्यवस्थाबाट वास्तवमा भयरहित कोही छैन। गत १० वर्षमा झन्डै दुई सय ८० विद्यालयमा गोलीकाण्ड भएको रहेछ। 

बुद्धभूमि नेपालबाट आउने म जस्ताका लागि बन्दुक त यहाँ आतंक जस्तो लाग्दो रहेछ। साँझ परेपछि खास सहरमा मान्छे ढुक्कले एक्लै हिँड्न सुरक्षित ठान्दैन। आफ्ना लागि आफैँले कफ्र्यु लगाएझैँ हुनुपर्दो रहेछ, रात्रिकालिन समय। अमेरिकालाई आरोप लाग्ने गर्छ, घरभित्रको यस्तो आतंक नियन्त्रण गर्न नसक्ने मुलुकले बाह्य रूपमा शान्तिको डम्फु बजाउँछ ! 

राष्ट्रिय राइफल संघ (एनआरए) ले रिपब्लिकन दललाई ठूलै सहयोग गर्दो रहेछ। त्यसैले, डेमोक्रेट्सहरूले बन्दुक लिने व्यवस्थालाई कडा गर्न खोज्दा पनि उनीहरू आत्मरक्षाका लागि जो कसैले लिन पाउनुपर्ने वकालत गर्दा रहेछन्। मानसिक सन्तुलन गुमाएका, आपराधिक क्रियाकलापमा संलग्न, सबै खाले मानिसले अन्धाधुन्द बन्दुक चलाउँदा यति ठूलो मानवीय क्षति भइरहेको छ र पनि किन अमेरिकी नेतृत्व संवेदनहीन छ, किन उनीहरूलाई अनाहकमै मारिएका ति निर्दोष आत्मा र तिनकै वियोगमा तड्पिएर बाँच्नेहरूको आँसुले छुँदैन, म केही बुझ्नै सक्दिनँ। मासाच्युसेट्स राज्यलाई तुलनात्मक रूपले सुरक्षित मानिँदो रहेछ। र पनि केही वर्ष पहिले बस्टन म्याराथुनमा बीभत्स नरसंहार हुँदा अचेल त्यस्तो दाबी फिका लाग्न थालेको छ। 
त्यसैले, प्रतीक्षा त्यो दिनको गरौँ, जब उसलाई आफ्नै देशको अशान्ति अनि असुरक्षाले अन्तर्राष्ट्रिय लज्जाबोध होस् र बन्दुक राख्न पाउने अहिलेको खुकुला प्रावधानमा कडाइ होस्। अनि हामी पनि आफ्ना सन्तानसहित निर्धक्क अमेरिकी भीडभाड र रमाइलोको आनन्द लिन सकौँला र बल्ल भनौँला- आहा ! अमेरिका। 
@kamallamichhan  ‘अन्तर्दृष्टि’ पुस्तकका लेखक हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.