पर्पल

पर्पल

सोमबार बिहान सधैँझैँ नित्यकर्म सकेर फेवातालको किनारै किनार निस्किएँ। आजकाल बाटो आफ्नै जस्तो लाग्छ। साथीहरू भने अलिक अल्छी भएका छन्। खुसी अनि बेखुसी पनि। खुसी र बेखुसी हुनु भनेको आफ्नै मनको रङ हो भन्ने सोचेर हिँड्दै थिएँ। गैरी चौतारा पुगेपछि आँखा दाहिनेपट्टि पर्‍यो। गइरहने ठाउँ भएकाले उक्लिएँ। कैलाश बन्द रहेछ। बेन्चमा बसेँ, तालतिर फर्केर। आँखा चिम्म गरेर केही सोच्दै थिएँ, तल्लो पाटामा हुत्तिएँ।

फरकपना के ! त्यो काठको बेन्चमा बस्नु र आफ्नै जमिनमा बस्नु। अगाडि एउटा अजिबको बोट देखेँ। अलिक पर्पल थियो। सम्बन्ध, आफ्नै नामसँग जोडिएपछि सबै कुरा मन पर्ने नै भयो। रङ पर्पल अनि मेरो नाम पनि पर्पल। मेरो आँखा पर्पल छ, त्यसै भएर मलाई मान्छेहरूले पर्पल भनेको हुनुपर्छ, मनमनै कुरा खेल्यो। यो मान्छेको जातले पनि के के सोच्न सक्छ ! मनलाई त्यतातिर जान दिन्नँ भन्यो गइहाल्छ। तपाईंहरूको पनि त्यस्तै त हुँदो होला नि है ? हाहाहा...। 

यो मनै यस्तो। हामी जनावर अनि तपाईं मान्छेको पनि। आजकाल त मान्छेलाई पैसा, सम्पत्तिको महत्व बोध भएर होला मैले भेटेको फोहोरको पोको खोतल्दै गर्दा, ‘चेत खुल्यो’। पोको भित्रबाट आवाज आउन थाल्यो। एउटा भाँडो भेटेँ। भाँडोको दाँयापट्टि छोएको थिएँ, आवाज आयो।

‘हलो ?’
‘एस।’
ऊ बोल्नासाथ मैले चिनिहालेँ, सेते रहेछ।
‘के छ ?’ उसको आवाज मेरो कानमा गुञ्जियो।
‘ओहो मित्र।’ मैले न्यास्रिएको आवाजमा भनेँ।
‘अनि मित्रलाई निम्ता गर्न फोन गरेको नि।’
‘तपाईं ?’
‘के तपाईं तपाईं दिइरा ? भेटेर भनम्ला।’
‘हाहाहा। ल ल।’

‘सहर खाली छ। कम मान्छे। कम चहलपहल। दरबार, बाटो सबका सब खाली छन्। आउनुस् काठमाडौँ। घुमौँ।’
‘कसरी आउनु र हौ ?’
‘तिमीलाई नि के भनौँ यार ? केही ट्रिक निकाल।’

हुन्छ ल भनेर मैले फोन काटेँ। सेते, मेरो पुरानो साथी। उसको कपाल अलिक खैरो खैरो छ। तालुतिरका कपाल उसको आफ्नै चिन्तनले घट्दै छन्। उसलाई मैले पहिलो पल्ट फ्रिक स्ट्रिटमा भेटेको थिएँ। समयसँगै रङ फेरिँदै गयो। फ्रिक स्ट्रिट, फ्रिक स्ट्रिट रहेन। 

हाम्रो आफ्नै रुट थियो, त्यति खेर। अर्गानिक क्याफे। त्यहाँ आएका मानिस हामीलाई प्रेमले केही न केही दिन्थे। कहिले बिस्कुट, कहिले आफूले खाइरहेको स्यान्डविचको टुक्रा, कोहीले चाहिँ आफू खाँदै हामीलाई खुवाउँदै गर्थे। हामीभित्र प्रेम पुलकित हुँदै आउँथ्यो। हामी उनीहरूले कफी चुरोट नसकुन्जेल कुरी बस्थ्याँै र उनीहरूसँगै छुट्टिने बिन्दुसम्म पुग्थ्यौँ। लोभले होइन, प्रेमले। जाने बेला उनीहरू हामीलाई टाउकोमा मुसार्थे र मीठो शैलीमा बाइ गर्थे। हामी यस्ता मान्छे देखेर चकित हुन्थ्यौँ।

‘यो घर कसको होला है ?’ मैले सोधेँ। ‘सरकारको रे।’ ‘सरकार चैँ को हो नि ?’ 

सेतेसँगको अर्को यादगार किस्सा मेरो स्मृतिबाट कहिल्यै मेटिँदैन। सेते मनको पनि सेतो छ, उसको रङजस्तै। हामी चिनियाँ लेखक लु सुनको पागलको डायरीबारे वसन्तपुरको भट्टी अगाडि बसेर गफिँदै थियौँ। भट्टीमा बस्नुका दुई फाइदा थिए। ग्राहक प्रेमले केही न केही खुवाउँथे। मालिकले सधैँ देखिरहने हुनाले प्रेम गर्न थालिसकेको थियो। आफू खाने बेला उसले हामीलाई खोज्थ्यो। हड्डीमा थोरै मासु छाडेर आफ्नो थालमै चाट्न दिन्थ्यो। लोभले भन्दा पनि हामीलाई उनीहरूको प्रेमले त्यहाँ जान र बसिरहन मन पथ्र्यो।

भट्टीमा थोरै कमाइ भएकाहरू आउँथे। उनीहरू दिनभरको कामले थाकेका हुन्थे। उनीहरूको र हाम्रो जीवन उस्तै उस्तै लाग्थ्यो हामीलाई। एक गिलास लोकल र छोइला चपाएपछि उनीहरूको अनुहार रातो र सहृदयी हुन्थ्यो। सेते र म बाहिरबाट यस्ता मान्छेलाई भुक्ने चाबोको कुकुरप्रति क्रुर हुन्थ्यौँ। हामी पनि कुकुर, ऊ पनि कुकुर। सेते त्यो साँझ धेरै दुःखी भयो। उसले साहुले दिएको मासुको टुक्रा खाएन। मलाई पनि उसको दुखाइमा त्यो थाल छुन मन लागेन। हामीले त्यो थालमा भएको मासुको टुक्रा नखाएपछि साहुले ‘कत्ति मात्तिएकाहरू, भाग जा’ भनेर लखेटे। साहुले लखेटेकाले भोलिपल्टैबाट हामी त्यहाँ जान छाड्यौँ तर ती दिनभरि थाकेका मान्छेलाई भेट्न जान छाडेनौँ।  

मैले पर्पल रङको पात चुडेँ र एक तबरले हेरिरहें। पातले बिस्तारै स्वरूप परिवर्तन गर्‍यो र कमलको पात जस्तो भयो। पात बोल्न थाल्यो। मैले पातले भनेझैँ ऊमाथि बसेँ। पात बिस्तारै उड्यो। म अचम्मित हुँदै थिएँ। मैले पहिलो पल्ट आकाशबाट पोखरा सहर देखेँ। ताल देखेँ। हिमाल अनि जंगल देखेँ। मान्छेले मास्दै गरेको जंगल, देखेर मन कुँडियो। यसै छाडिदिएँ। पातले मसँग दोहोरो सवाल गर्दै गरेन। पात थानकोटको आकाश हुँदै काठमाडौँमाथि तैरिन थाल्यो। अचानक मैले मेरी प्रेमिका सम्झिएँ। पातले मलाई घोच्यो। मैले आत्था गर्न नपाउँदै ऊ आफ्नै सुरमा बर्बराउन थाल्यो।

‘केही पाइनस् सोच्न, तिमीहरूलाई त के।’
मैले मेरा ओठ जिब्रोले चाट्दै अहम् गरेँ।
मैले दिएको उत्तरले पात मज्जाले हाँस्यो।
पातले भनेझैँ मैले उसलाई, मैले देखेको काठमाडौँ वर्णन गरेँ।
उसले आफूलाई वातावरण सफा भएको, काठमाडौँबाट टिलिक्क हिमाल टल्केको, जगत्मा भएका सबै वस्तुहरूले अद्भुत अनुभव बटुलिरहेको, प्रकृतिलाई हेरेर मान्छेले छरेको मुस्कान एकदमै मन परेको बतायो।

म सेतेसँग भेट्न आतुर थिएँ। अहिले के भइरहेको छ भन्नेबारे पनि हेक्का पाउन सकिरहेको थिइनँ। पात वसन्तपुरको ठूलो भैरवको मूर्ति अगाडि रोकियो। मलाई ओर्लन र के भयो, कसरी भयो कसैलाई नभन्न भन्यो। सेतेको विश्वासका लागि मलाई पातले आफ्नो एउटा टुक्रा च्यात्न भन्यो। मैले च्यात्न मानिनँ। पात ठूलो मूर्तिमा विलीन भएसँगै मूर्तिले दुइटा हात निकाल्यो र मलाई एउटा टल्कने माला लगाइदियो। उसका हात एकै निमेषमा गायब भए।

एक मनले भन्यो, ढोग पर्पल। अर्को मनले भन्यो ‘सिर्फ मनैदेखि प्रेम सञ्चार गर्’। मैले दोस्रो रोजेँ। आँखा चिम्लेँ र मनैदेखि प्रेमले पर्पल पातलाई कृतज्ञता ज्ञापन गरेँ। आफ्नै सुरले आँखा खोल्न नपाउँदै कसैले मेरो पुच्छर टोक्यो। यस्तो बेला रिसाउने कुरै आएन। रिस थामेर पछाडि फर्केँ। सेते रैछ।
सेते दङ खायो। मलाई ढाँटेको भनेर गाली गर्‍यो। उसले आफ्नो साथीलाई पनि चिनायो तर सँगै उसलाई बिदाइ गर्‍यो र मलाई हनुमानढोकाको टेकाहरू तर्काउँदै भित्र ठूलो चौरमा लग्यो।

अगाडिको थोरै उठेको भाग देखाउँदै सेतेले भन्यो, ‘यो ठाउँ चिन्छस् ?’
‘चिन्दिनँ।’
‘तँ पनि चाबोको लाइनमा लागिछस्। दुःखी भएँ।’

त्यो ठाउँ राज्याभिषेक हुँदा राजा-महाराज आसिन हुने ठाउँ रहेछ। मैले उसलाई पर्पल पातको र मेरो यात्राबारे बताएँ। सेते चकित खायो। पम्किन मरेपछि ऊ मलाई भेट्न पोखरा आएको थियो। साल र गते भने बिर्सिएँ। पोखरामा घनघोर पानी परेको थियो, त्यस रात। यत्ति मात्रै याद छ। हलनचोकको कबाब पसलेले टाउकोमा त्यसरी नपिटेको भए बिर्सन्नँ थिएँ कि भन्ने लाग्छ। तर ‘होस्’ भावना मनमा आयो। मैले सेतेलाई यसबारे केही भनिनँ। हामीले त्यस ठाउँमा खुसीसाथ मुत्र विसर्जन गर्‍यौं। गार्डहरूले हामीलाई लखेट्नु साटो, हेर्दै मूच्र्छा परेर हाँसे। सेते धेरै दुःखी भएर मलाई सम्झायो। 
चाबोहरूसँग बच् है। उसको अनुहारमा गम्भीरता थियो। सेते गम्भीर प्रकारकै साथी हो तर यो गम्भीरता मैले बुझिरहेको थिइनँ।

हामी अँगालो मारेर वसन्तपुर डुल्यौँ। उसले देब्रे हात मेरो काँधमा राख्यो। मैले मेरो दाहिले हात उसको काँधमा राखँे। हामी दुवै एउटा हात र दुई खुट्टा टेकेर हिँड्दै थियौँ। सेते बिस्तारै चम्किलो हुँदै गयो। खुसीका पोका फुकाउन थाल्यो। मान्छेहरू हाम्रो दोस्ती र मेरो गलाको माला हेरेर हाँस्दै थिए।

‘कुकुर नि बौलाउन थाल्यो, हेर न, तिहार जसरी माला लगाएर हिँडेको।’ एउटा बुजु्रक मान्छे सडकपेटी हुँदै भुनभुनाउँदै हिँड्दै थियो। हामीलाई बाल थिएन।
सेतेले मलाई हाम्रो पुरानो ट्रेल हुँदै न्युरोड निकाल्यो। रुखको फेदको सेक्युरिटी बस्ने ठाउँतिर देखाउँदै भन्यो, ‘आजकाल यहाँ काम गर्ने दादा कता हुँदा हुन् ? घर पुगेकी पुगेनन् होला ? बिचरा मलाई पाता फर्काएर पिट्थे। मान्छेको पिटाइ नखाएको पनि महिना दिन बित्यो।’

मन खल्लो भो। कसैले पिट्दा पनि कति खुसी लाग्दो रहेछ हामीलाई भनेर तर मैले यो कुरा सेतेलाई भनिनँ। बरु सेते आफ्नो पुच्छर हल्लाउँदै कुद्न थाल्यो। म उसलाई भेट्न पछिपछि दगुरेँ। रङ पोतेको कालो सडकमा हामीबाहेक मैले कोही देखिनँ। राणाहरू घोडामा अडिग भएर हामीलाई हेरिरहेका थिए। टुँडिखेलमा कसैको चहलपहल थिएन। चौरका पोलहरू एक्ला थिए। यहाँ जीवन धान्नेहरू हिँडेर घर निस्केकामा क्षितिज कालो निलो भएर आउँदै थियो। सायद उसलाई बाँकी भएको आकाशको मयल पखाल्नु होला। सेते सिंहदरबार अगाडिको सुकिलो बाटोको बीचमा अडिएर मज्जाले करायो। मैले उसलाई यसरी कहिल्यै कराएको देखेको थिइनँ। जंगलमा सिंह दादाहरूबारे त धेरै सुनेको थिएँ। सेतेले मलाई पनि कराउन भन्यो। मैले पनि सिंह दादा जस्तै गरी कराउने कोसिस गरेँ।
अचानक मलाई पिसाब आयो। सेतेले एकैछिन रोक्न भन्यो। सायद उसको पिसाब फेर्ने कुनै निश्चित ठाउँ होला भनेर रोकेँ। हामी अगाडि बढ्यौँ। 
‘यो घर कसको होला है ?’ मैले सोधेँे।
‘सरकारको रे।’

‘सरकार चैँ को हो नि ?’ मैले उत्सुकतासाथ सोधेँ। हाम्रो अगाडिबाट छिर्केमिर्के रङमा अरु साथी धुमधडाकसाथ गए। सेतेले बिस्तारै मेरो कानमा ‘उनीहरू सरकारका मान्छे, बोल्नुहुन्न’ भन्यो। मैले पनि बिस्तारै सुनेँ। मनमनै फेरि सोचेँ, ‘यिनीहरू सरकारका मान्छे, बोल्नुहुन्न।’ 

‘यिनीहरू त यस्ता छन्, झन् सरकार कस्तो डरलाग्दो होला ?’ मेरो मुखबाट ठूलो आवाज फुत्त निस्क्यो। ठूलो स्वरले बोल्ने बानी न थ्यो। उनीहरू फर्केर सिठी बजाउन थाले। हामी कुलेलम ठोक्यौँ। सेतेले अलिक अगाडि पुगेपछि बायाँ लाग्न र मुत्न भन्यो। सर्वोच्च अदालतको भित्तो रहेछ। डरले राम्ररी पिसाब फेर्न नि दिएन।

सेतेले वानेश्वर जाऊँ भन्यो। मडारिएको मौसम। माइतीघरको मासु पसल पनि बन्द रहेछ। वारिपारि पूरै साथीहरू पेट बटारेर बसिरहेका थिए। हामीसँग दिने त्यस्तो केही थिएन। सेतेले आफूले बोकेको पानीको बोतल एउटा छाउरीको आमालाई दियो। हामी अगाडि बढ्यौँ। कस्तो मनमोहक सडक, सेते बोल्यो। कस्ता राम्रा, राम्रा फूल ! सेते मलाई छाडेर फूलैफूलबीच नाच्न थाल्यो। म पनि चढेँ र नाच्न थालेँ। सेतेले ठमेलमा भेटेको जोर्बा र उसको नाच सम्झायो। एउटी बूढीआमा, बिचरा ठुटे पुच्छर लिएर ‘तिमी, म, हामी मानवताका लागि’ भन्दै घिसिँ्रदै थिइन्। सेतेले नजिकै गएर एउटा फूलको गुच्छा दियो। आमै आफ्नो चाउरी परेको गालामा रौनकता देखाउँदै खुसीले भुकिन्। मन खुसी भयो। बाटोभरि ठूला घरका छतबाट हामीलाई देखेर खिस्याउँदै कराउने जर्मन सेफर्ड र बुल डग देखेर मन दुख्यो। त्यसरी हेपेर बोल्न सिकाउने मान्छेदेखि झन् रिस उठ्यो। कताकता भित्र अलिकति ठाउँमा कुरा खेल्यो, हामीलाई नि कसैले यसरी पाल्दिए हुने नि। सेतेले थाहा पाएर नराम्ररी रिसायो। मेरो मालामा आँखा लाउने मान्छेहरूलाई सेते आँखा तरेर हेथ्र्याे। सेते अडियो र दाहिने हात तन्काएर भन्यो, ‘यो ठाउँ याद छ ?’
यो चिन्छु, ‘सानो सिंहदरबार।’

सेतेले हाँसेर ‘वीरेन्द्र इन्टरनेसनल कन्भेन्सन हल’ हो भन्यो।
सेते पिसाब फेर्न जाभाको कुनातिर लाग्यो। ममाथि सडकमा निस्केँ, पानी अलि कम हुँदै थियो। सेते म नजिकै बस्यो। मैलेअघिको भन्दा सानो लागेर ‘सानो सिंहदरबार’ भनिहालेँ। सेतेले फेरि थप्यो, ‘यहाँ मान्छेलाई राज गर्ने नेताहरू बैठक गर्छन्।’

कसैले सिठी बजाएको आवाज आइरहेको थियो। उसले खुसीसाथ भन्यो।
‘यो मांसाहारी हुनु जरुरत रैन छ नि है, खै यहाँ कति ठेला मासु बेच्थे, परिवार बटुलेर आइन्थ्यो, अहिले न कसैले हड्डी फाल्छ, न घरबाट फोहोर निस्कन्छ, यो हो नि त काइदा, खै भेज भएर नि बाँचिदो रैछ त।’
हामी दुवै खुलेर पहिलो पटक हाँस्यौँ।

मलाई थाहा थिएन, पर्पल पातले दिएको माला रातमा टल्कने रहेछ। अघिका सिठी बजाउने मान्छे नजिकै आइपुगे र हामीलाई घुरेर हेर्न थाले। एउटाले मलाई छेक्न खोज्यो। म अगाडि लागेँ। सेते पनि मलाई पछ्याउँदै अगाडि आयो तर उनीहरूले हामीलाई पिछा गर्न छाडेनन्। हामी आफूलाई जोगाउन भाग्यौँ। भक्तपुर कट्ने बेलामा मलाई ती सिठी बजाउनेहरूले समाते र मेरो माला चोरेर लगे। म थाकिसकेको थिएँ। 

मैले लगाउँदा बलिरहेको माला तिनीहरूले पक्रेर फर्कंदा बिस्तारै, बिस्तारै निभ्दै गयो। सेते कता हरायो, म कता आइपुगेँ पत्तो भएन। भोलिपल्ट बिहानै एउटा कोइली आफ्नो सन्तान खोज्दै कराउँदै आई। मैले पीपलको पातमा खिर्रोको डाँठले चिठी लेखेँ।
प्रिय सेतु,

मैले तिमीलाई यो खबर पठाएको छु। पाउनेबित्तिकै ओशिष सेन्टर आऊ। म लगातारको यात्रापछि अहिले आफ्नै सहर पोखरा आइपुगेको छु। मैले कुरा गरेको थिएँ नि, पर्पल पात। पात फर्केर यहीँ आएको छ। मैले तालको छेउमा ओशिष सेन्टर खोलेको छु। पर्पल साथीहरूसँग पर्पल पोकाहरू छन्। सँगै खोलौँला पर्पल पोकाहरू। पर्पल साथीहरूको संंगतले म आजकाल भेगन भएको छु। बाँकी भेटमा।
उही तिम्रो मित्र
पर्पल 
@CheeShankar


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.