जनकपुरका पत्रकारको कोरोना रिपोर्ट नेगेटिभ
जनकपुरधाम : जनकपुरका दुई दर्जन पत्रकारको कोरोना रिपोर्ट नेगेटिभ भएको आएको छ । विश्व कोरोना (कोभिड–१९) को महामारीबाट गुज्रिरहेको अवस्थामा सूचना संकलनको अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरुको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना महामारीको स्थलगत समाचार संकलनमा खटिएका पत्रकारहरुको गत बुधबार २५ जना पत्रकारको गरिएको स्वायव परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
नेपाल पत्रकार महासंघ धनुषाको आयोजना तथा नेपाली सेना महेन्द्रनगर रणभिम गणको सहयोग तथा प्रादेशिक अस्पताल जनकपुरधामको प्राविधिक प्रयोगशालाको टोलीले २५ जना पत्रकारको स्वाब परीक्षण गरेको सबैको रिपोर्ट नेगेटिभ आएको प्रादेशिक अस्ताललाई उद्धृत गर्दै महासंघका अध्यक्ष अनिल मिश्रले जानकारी दिए । समाचार संकलनको क्रममा घरदेखि अस्पताल र सीमा नाकासम्म अहोरात्र खटिएका पत्रकारको थ्रोट र नोजल स्वायव संकलन गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रयोगशाला प्रमुख रामविनय साहले बताए।
महासंघका अध्यक्ष मिश्रले महासंघले कोरोना महामारीको समयमा संक्रमणको जोखिम उठाएर जनतालाई सूचना मार्फत सु–सूचित गराउन जुटेकाको परीक्षण गरिएको बताए । समाजमा कोरोना परीक्षण गराउन सर्वसाधारण हिच्किचाइ रहेको बेलामा उनीहरुलाई स्वः स्फूर्त रुपमा कोरोना प्रति जनचेतना जगाउनसमेत पत्रकारहरुले परीक्षण गरेको उनको भनाइ छ ।
प्रदेश पत्रकार महासंघका महासचिव किरणकुमार कर्णले कोरोना रिपोर्ट नेगेटिभ आए पनि दीर्घकालीन रुपमा समाजिक सुदृढीकरण र न्यायमा सबै समुदाय र वर्गको पहुँचका लागि आफूहरुको भूमिका पोजेटिभ रहने बताए ।