झारफुक गरेपछि रक्तश्राव, हेलिकप्टरबाट सुत्केरीको उद्धार
अछाम : अछामको बयलपाटा अस्पतालबाट शनिबार सुत्केरी हेलिकप्टरमार्फत उद्धार गरिएको छ। सुत्केरी भएको २५ दिनपछि स्वास्थ्यमा समस्या देखिएपछि रामारोशन गाउँपालिका-६ भाटाकाटियाकी २४ वर्षीया देउमा साउँदको उद्धार गरिएको हो।
साउँदले बैशाख २ गते भाटाकाटिया स्वास्थ चौकीमा छोरीलाई जन्म दिएकी थिइन। बयालपाटा अस्पतालमा चेकजाँच गर्दा उनको पेटमा रगत जमेको देखिएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज रेफर गरिएको न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकास गौचनले बताए। साउँदलाई एक्कासी पेट दुखेपछि धामी झाँक्रीमार्फत उपचार गर्न थालेपछि रक्तश्राव हुन थालेको उनका श्रीमान् मानबहादुर साउँदले बताए। उनले भने ‘शुक्रबार बिहान एक्कासी पेट दुख्न सुरु भयो। धामी कहा लगेर गएर धामीले पेट र ढाडमा हानेर झारफुक गरेपछि केहि निको भए पछि धेरै रगत बग्न थाल्यो।’