दादुराको महामारी फैलिएका गाउँमा खोप अभियान

दादुराको महामारी फैलिएका गाउँमा खोप अभियान

धादिङ : दक्षिणी धादिङको विपन्न चेपाङ बस्तीमा लकडाउनको समयमा फैलिएको दादुराको महामारी नियन्त्रणमा लिन बृहत खोप अभियान चलाइएको छ। दादुराका कारण दुई बालबालिकाका मृत्यु भएको र एक सय ५० भन्दाबढी युवा तथा बालबालिका बिरामी भएपछि उक्त गाउँमा उच्च सतर्कता अपनाइएको हो।

सरकारले गत चैत एक गतेदेखि देशव्यापी रूपमा दादुरा र रुबेलाको खोप अभियान सुरु गरेको थियो। धादिङको बेनीघाट रोराङमा पनि चैत दोस्रो साताबाट खोप अभियान सुरु गर्ने तयारी भइरहेका बेला कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउनका बेनीघाटलगायत जिल्लाभर नै खोप अभियान स्थगित भएको थियो। बेनीघाट रोराङ गाउँपालिका ६ का बुमराङ, रोतेश, सोलडाँडा, सार्लिङ लगायतका चेपाङ बस्तीमा फैलिएको दादुराको महामारीले लकडाउन सुरु भएकै दिन चैत ११ गते आठ महिने शिशु सुशान्त चेपाङ र १७ गते २९ महिने अनिसा चेपाङको दादुराकै कारण ज्यान गएको थियो।

गाउँका अधिकांश बालबालिका र युवा बिरामी परेपछि गत फागुन १८ गते नै स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, विश्व स्वास्थ्य संगठन र स्वास्थ्य कार्यालय धादिङको टोलीले गाउँमा दादुराको महामारी भएको निश्चित गरेको थियो। उक्त गाउँ र आसपासका अन्य गाउँमा लकडाउनका बीच पनि दादुरा र रुबेलाको खोप अभियान चलाइएको हो। कोरोना भाइरसका कारण सिंगो विश्व त्रसित भइरहेका बेला दादुराको महामारीले चेपाङ बस्तीमा पीडा थपेको थियो। स्वास्थ्य कार्यालय र गाउँपालिकाको पहलमा बिस्तारै नियन्त्रणमा आएपछि भविष्यमा समस्या नआओस् भन्नका लागि सुरक्षित तरिकाले लकडाउनकै समयमा खोप अभियान चलाइएको गाउँपालिकाले जनाएको छ।

बेनीघाट रोराङ र गजुरी गाउँपालिकामा दादुरा–रुबेलाको खोप लगाउन सुरु गरिएको छ। सीमा जोडिएका गजुरी गाउँपालिकाको मलेखु भद्रकाली, चम्पाराङ, किरान्चोक माध्यमिक विद्यालय, सेतीदेवी आधारभूत विद्यालय, रिठ्ठाबोटे आधारभूत विद्यालय लगायतका ठाउँमा खोप अभियान सञ्चालन गरिएको छ। गजुरीका एक हजार चार सय ३० जनालाई खोप लगाइएको छ। बेनीघाटको कुन्चुरुङ, बाँसखर्क, सिमटार, जरुङ, ब्रोम्दी, ग्यावाटोल, लवाङ, चिम्बाङ, नाम्जीराङ, माथिल्लो ओर्बाङ, तल्लो ओर्बाङ, तीनकन्या आधारभूत विद्यालय, बागेश्वरी आधारभूत विद्यालय, सलाङघाट स्वास्थ्य केन्द्र, बागेश्वरी माध्यमिक विद्यालय, राजमार्ग अस्पताल, ब्राइटफ्यूचर बोर्डिङ, पांग्राजीपमा खोप अभियान चलाइएको छ।

अभियानभर ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाइने तथा ‍भिटामिन ए र जुकाको औषधि पनि खुवाइने स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले बताए। उनले भने, ‘अहिले धमाधम खोप अभियान सञ्चालन भइरहेको छ, गाउँका जनप्रतिनिधि र स्वयंसेविकालाई घरघरमा पुगेर खोप अभियानबारे जानकारी दिन आग्रह गरिएको छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.