राष्ट्रवादको प्रश्न वक्तव्यको विषय होइन, परिणाममुखी बनाउनुपर्छ : देउवा
काठमाडौं : प्रतिपक्ष दल नेपाली कांग्रेसले भारतीय हस्तक्षेपविरुद्ध सरकारलाई उच्चस्तरीय कुटनैतिक र राजनैतिक पहल कदमीबाट दिर्घकालीन समाधान खोज्न आग्रह गरेको छ। भारतले चीनको मानसरोवर जोड्न नेपाली भूमि लिपुलेक भएर जाने सडक उद्घाटन गरेपछि कांग्रेसले उक्त विषयमा कूटनीतिक र राजनीतिक रूपमा दिर्घकालीन समाधान खोज्न आग्रह गरेको हो।
भारतले गत शुक्रबार मात्र सो सडकको उद्घाटन गरेको हो।
'यो दुई दिनको अवधिमा वर्तमान सरकारले उच्च स्तरीय कूटनीतिक पहल प्रारम्भ नगरेर गम्भीर विषयमा केवल वक्तव्य मात्रै जारी गरेको परिप्रेक्ष्यमा नेपाली कांग्रेसको सभापति एवं प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले म सरकारलाई कूटनीतिक र राजनीतिक रूपमा उच्चस्तरीय पहलकदमी गर्न सार्वजनिक रूपले अपिल गर्दछु, 'पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्तिमार्फत् भनेका छन्,।
नक्सा प्रकरणमा पनि सरकारको भूमिका केवल वक्तव्यमा सिमित रहनु र अहिले फेरि त्यही प्रवृत्ति दोहरिनु दुःखद भएको उनले बताएका छन् ।
'राष्ट्रवादको प्रश्न केवल वक्तव्यको विषय होइन, यो परिणाममुखी हुनुपर्दछ भन्ने कुरामा नेपाली कांग्रेस विगत देखिनै निरन्तर प्रष्ट छ । नेपालको भू-भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनुपर्ने विषयमा सरकारले गम्भीर कुटनैतिक पहलकदमीमार्फत समाधान खोज्न प्रक्रिया थालनी गरोस्, राष्ट्रियताको प्रश्नमा नेपाली कांग्रेसको सम्पूर्ण साथ सरकारको साथमा रहनेछ,' सभापति देउवाले भनेका छन्।