लकडाउन प्रभाव : योजना कटौति गर्दै स्थानीय सरकार
सिन्धुपाल्चोक : लकडाउनका कारण आन्तरिक आम्दानीको ठूलो हिस्सामा गिरावट आएपछि स्थनीय सरकार चालु आर्थिक वर्षको योजना कटौति गर्ने निश्कर्षमा पुगेका छन् । स्थानीय तहमा उठ्ने आन्तरिक स्रोत घटेपनि कोरोना विशेष कोषमार्फत ठूलो रकम खर्च गर्नुपर्ने भएकाले स्थानीय तहले चालु आर्थिक वर्षका लागि विनियोजन गरेका योजना कटौति गर्ने भएका हुन् ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनका कारण स्थानीय तहले प्रक्षेपण गरेका आन्तरिक स्रोतमा गिरावट आएपछि विकास निर्माणका योजनामा कटौति गर्ने वा आगामी आर्थिक वर्षको बजेटबाट घाटा पूर्ति गर्ने बाहेकका विकल्प नरहेको स्थानीय तहका प्रमुख बताउँछन्।
लकडाउनका कारण अनुमान गरिएको आन्तरिक स्रोत कम हुँदा विकास निर्माणका सबै काम चालु आर्थिक वर्ष भित्रै सक्न कठिन भएको गाउँपालिका महासंघका राष्टिय अध्यक्ष समेत रहेका जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । चालु आर्थिक वर्ष विनियोजित सबै योजनाका काम सम्पन्न गर्न कठिन हुने उनको अनुमान छ ।
श्रेष्ठका अनुसार चालु वर्ष मात्र हैन आगामी वर्षको बजेट विनियोजनका विभिन्न चरणका डेडलाईन समेत सकिइसकेकाले विशेष परिस्थिति घोषणा गरेर स्थानीय तहले बजेट सार्वजनिक गर्ने समय नै पर सानुपर्ने अवस्था छ ।
बलेफी गाउँपालिकाका अध्यक्षकेदार क्षेत्री अनुमानित आन्तरिक स्रोतमा ठूलो घाटा व्यहोर्नुपर्ने अवस्था आएकाले योजना कटौति गर्नुको विकल्प नरहेको बताउँछन् । विनियोजन भएर सम्झौता हुन बाँकी रहेका योजना कटौति गरेर मात्र चालु वर्षको बजेटमा सन्तुलन ल्याउन सक्ने उनको भनाई छ । ८० लाख रुपैयाँ आन्तरिक स्रोतको अनुमान गरिएकोमा आधा भन्दा बढी नउठ्ने अवस्था देखिएको छ, अध्यक्ष क्षत्री भन्छन्, 'आम्दानी घटेपछि विनियोजित योजना कटौति गर्नुको विकल्प छैन ।
महासंघका महासचिव एवम इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङ पनि योजना कटौति नगरी बजेट सन्तुलनमा ल्याउन नसकिने अबस्था रहेको स्वीकार गर्छन् । दहत्तर बहत्तरको ठेक्का लागेको रकममा व्यवसायीले छुट मागिसकेको र राजश्व बाँडफाँडको समेत प्रयाप्त रकम नआएकाले योजना कटौति गर्नुपर्ने अवस्था आएको तामाङले बताए ।
विकास निर्माणका प्राय सबै काम सकिएको हेलम्बु गाउँपालिकालाई राजश्व बाँडफाँडको अनुमानित बजेट प्राप्त नहुँदा उपभोक्ता समितिलाई भुक्तानी दिन समस्या भएको छ । आफ्नो गाउँपालिकाको निर्माणका सबै काम सकिएपनि राजश्व बाँडफाँडको रकम प्राप्त नहुँदा भुक्तानी दिन नसकेको अध्यक्ष निमाग्याल्जेन शेर्पाको गुनासो छ ।
राजश्व संकलन हुने मूख्य समयमा लकडाउन भएकाले बाँडफाँडको रकम आउनेमा नै अन्यौलता भएकाले कसरी समस्या समाधान गर्ने भन्ने निश्कर्षमा पुग्न नसकेको शेर्पा बताउँछन् । काम सम्पन्न गरी भुक्तानी दिन बाँकी भएकोरकम संघीय सरकारले उपलव्ध गराउनुपर्ने शेर्पाको माग छ ।
सदरमुकामको चौतारा साँगाचोकगढी नगरपालिकाले भने चालु वर्षका योजना कटौति नगरी आगामी वर्षको बजेटबाट घाटा पूर्ति गर्ने निर्णय गरेको छ । विनियोजित रकम खर्च गरेर आगामी वर्ष यस वर्षको ऋण तिर्ने गरी योजना बनाएको नगर प्रमुख अमानसिं तामाङले बताए ।
मेलम्ची नगर प्रमुख डम्बर अर्याल चालु वर्ष काम गर्न समस्या नभएपनि आगामी वर्षको बजेट विनियोजन प्रभावित हुने अबस्था रहेको बताउँछन् । आगामी आर्थिक वर्ष भने चालु वर्षको तुलनामा झण्डै २५ प्रतिशतले पूँजीगत बजेट कम हुने अर्यालको अनुमान छ ।
सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहमा लकडाउनका कारण आन्तरिक स्रोत संकलनमा गिरावट आउँदा निर्माणाधीन र बजेटमा विनियोजन गरेका विकास निर्माणका योजना समस्यामा परेका छन्। निर्माणाधीन योजनाका लागि समेत निर्माण सामाग्री प्रयाप्त मात्रामा उपलव्ध नहुँदा योजना सम्पन्न गर्न समस्या परेकोउपभोक्ता समितिको गुनासो छ ।