सूचना-प्रविधि : लकडाउनको प्रमुख साथी

सूचना-प्रविधि : लकडाउनको प्रमुख साथी

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वकै मानव जाति आक्रान्त छ । संक्रमितको संख्या हरेक दिन हजारौंको दरले बढ्दैछ ।

विश्वका २ सय भन्दा धेरै देशमा फैलिएको कोभिड–१९ को खोप भने हालसम्म विकास भइसकेको छैन । यसबाट बच्ने तत्कालको उपाय भने ‘लकडाउन’ वा एकान्तबासमा बस्नु नै भएको वैज्ञानिकहरुले सुझाएका छन् ।

कसैको सम्पर्कमा नजाँदा यस भाइरसबाट सुरक्षित रहन सकिने भन्दै नेपाल सरकारले पनि लकडाउनको नीति अवलम्बन गरेको छ । सरकारको निर्णय पालना गर्दै सम्पूर्ण नेपाली डेढ महिनादेखि लकडाउनमा बसिरहेका छन् ।

यस्तो अवस्थामा कोभिड–१९ को रोकथामदेखि मानिसहरुका दिनचर्यालाई सहज र सरलीकरण गर्न सूचना प्रविधिले उल्लेखनीय भूमिका खेलिरहेको छ । एकान्तबासमा बसेर हरेक किसिमका काम गर्न सूचना प्रविधिले सहयोग गरिरहेको छ ।

सूचना प्रविधिको उचित प्रयोग नै लकडाउनको समयका लागि प्रमुख विकल्प हो । सूचना प्रविधिको प्रयोगले कोभिड–१९ रोकथामका लागि नेपाल सरकारले लकडाउन सँगै भाइरसबाट बच्न के गर्नु पर्दछ, लक्षणहरु कस्ता देखिन्छन् भन्ने जस्ता सम्पूर्ण जानकारी आम नागरिकलाई दिन सहज बन्दैआएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको सम्पूर्ण जानकारी दिने ‘हाम्रो स्वास्थ्य’ नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ । जुन एपबाट संक्रिमत व्यक्तिको पहिचान गर्न मिल्ने र संक्रमित व्यक्तिको लागि नजिकै रहेको अस्पताल खोज्न मिल्ने समेत बनाइएको छ । उक्त एपमा व्यक्तिमा कोरोना भए नभएको सर्वेक्षण गर्न फर्म निमाण गरिएको छ । जुन फर्म व्यक्तिले भरेपछि कोरोनासँग मिल्दो लक्षण भेटिएमा उक्त व्यक्तिलाई सम्पर्कमा ल्याइ परीक्षण गर्ने समेत गरिएको छ ।

आफ्नो प्रदेशभित्रका लागि ५ न. प्रदेशले पनि एप निर्माण गरेको छ । जसले गर्दा कोरोनासम्बन्धी सूचना संम्प्रेषण गर्न, संक्रमित व्यक्तिको पहिचान गर्न र उपचारको निम्ति सहज भएको छ । नेपाल प्रहरीले कोभिड–१९ को रोकथामका निम्ति सहज बनाउन ‘नेपाल पुलिस’ नामक एपलाई अपडेट गराएर सञ्चालनमा ल्याएको छ । 

लकडाउन उलंघन भएमा, लकडाउनको समयमा कालोबजारी भएमा, आफू वा छरछिमेकमा कसैलाई कोभिड–१९ को लक्षण देखिएमा अथवा सेल्फ क्वारेन्टाइनमा रहेको जानकारी गराउनु परेमा र कुनै ठाउँमा समस्यामा परेमा समेत रिपोर्ट गर्न मिल्ने गरी उक्त एप सञ्चालनमा रहेको छ ।

यसले गर्दा लकडाउनको पूर्ण कार्यान्वयन गराउन, कालोबजारी नियन्त्रण गर्न र कोभिड–१९ बाट संक्रमितको पहिचान र उपचार गराउन सहज भएको छ । लकडाउनको समयमा अत्यावश्यक सेवाको अभाव हुन नदिन र कालोबजारी नियन्त्रण गर्न अनलाइनबाटै गुनासो तथा उजुरी लिएर त्यस्तो गर्ने व्यक्तिलाई कारबाही अगाडि बढाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अन्तर्गत उपभोक्ता अधिकार व्यवस्थापन सूचना प्रणाली (सीआरएसआईएस) सञ्चालनमा ल्याइएको छ ।

त्यस्तै विभिन्न आइटी कम्पनीहरुले कोभिड–१९ रोकथामका सहज हुने विभिन्न एप तथा सफ्टवेयर निर्माण गरेका छन् । कोभिड–१९ को रोकथाम, नियन्त्रणको लागि आवश्यक रणनीति बनाउन, बनेका रणनीतिहरुको कार्यान्वयनको अवस्थाको जानकारी लिन प्रधानमन्त्रीले समय समयमा प्रदेशका मुख्य मन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गर्दैआएका छन् ।
यस्तै सबै तहमा अनलाइन मार्फत बैठकहरु गर्न सहज बनाउन सबै स्थानीय तहलाई लाइसेन्स सहितको जुम सफ्टवेयर नेपाल सरकारले उपलब्ध गराउने भएको छ ।

नेपाल टेलिकम र एनसेलले रिङ्ग टोनमा कोभिड–१९ का लक्षण, बच्ने उपायहरुको जानकारी प्रदान गरी सूचित गरिरहेका छन् । साथै फोनबाटै व्यक्ति आफूले लक्षण भए नभएको जाँच्न मिल्ने सिस्टम समेत सुरु गराएका छन् ।

कोभिड–१९ को विरुद्ध मानिस घरमै एकान्तबासमा बसेर सूचना प्रविधिको प्रयोग गरी आफ्ना गतिविधि सञ्चालन गर्दै लडिरहेका छन् । यसवाहेक विभिन्न स्कुल र विश्वविद्यालयहरुले शिक्षण गतिविधि अनलाइनबाटै सुरु गरेका छन् । शिक्षा मन्त्रालय, उपकुलपति, डीनको निर्देशन तथा विभागीय छलफलबाट अनलाइन कक्षा चलाउने निर्णय समेत भएको छ ।

ई–पुस्तकालय, खान एकेडेमी, क्लास सेन्टल, फेट, सीके टेल्भ, ब्रिटिस काउन्सिल, डियरवाक लर्निंङ सेन्टर, ईडीएक्स, कुलल्याब्स, मिदास ई–क्लास जस्ता अनलाइन लर्निङका प्लेटफर्मका साथै युट्युब र केही भिडियो स्ट्रिमिङ प्लेटफर्महरुले विभिन्न अनलाइन कोर्ष उपलब्ध गराएका छन् ।

घरमा दिन बिताउन गाह्रो मानिरहेका तर पढ्न चाहने विद्यार्थीका लागि डिजिटल शिक्षा समय सदुपयोग र ज्ञान निमार्णको लागि राम्रो अवसर हो । अनलाइनमा सबै किसिमका पुस्तक उपलब्ध छन् । यसले गर्दा पढ्न खोजिरहेका तर पुस्तक किन्न नपाएर बसिरहेका व्यक्तिको लागि अनलाइन मात्र एक विकल्प बनेको छ ।

कोरोनाको संक्रमण फैलिएसँगै सबै मानिस लकडाउनमा बसिरहेका छन् । अत्यावश्यक बाहेक कोही पनि मानिस बाहिर निस्केका छैनन् । मानिस बिरामी पर्दा समेत सरकारी अस्पतालहरुले बाहेक अन्य निजी अस्पतालहरुले उपचार समेत गरेका छैनन् । रुघाखोकी र ज्वरोका बिरामी त निजी अस्पतालहरुले हेरेकै छनन् भन्दा पनि फरक पर्दैन ।

यस्तो परिस्थितिमा सूचना प्रविधिले यी समस्याहरुको समाधान दिएको छ । हाम्रो डक्टर, डक्टर अन कल लगायत विभिन्न वेबसाइटहरु, एपहरु छन् । जसले बिरामीलाई उनीहरुले सोधेको, बताएको आधारमा, परामर्श प्रदान गर्ने, रोगको लक्षणको आधारमा औषधि सिफारिस गर्ने गर्दछन् ।

यी एप÷वेबसाइटहरुमध्ये केहीले भिडियोकल मार्फत पनि बिरामीहरुको उपचार गरिरहेका छन् । यस्तै अनलाइन मार्फत बिरामीले मागेका औषधि घरमै पुर्याउने, अनलाइनकै माध्यमबाट घरमै गएर ल्याब टेस्टको लागि रगत खकार संकलन गरेर अनलाइन मार्फत रिपोर्ट पठाउने मेडिकलसँग सम्बन्धित अनलाइन पोर्टलहरु रहेका छन् ।

यसरी लकडाउनको समयमा सूचना प्रविधिको प्रयोगबाट स्वास्थ्य सेवा पुर्याउन सम्भव भएको छ । एकान्तबासको साथी सूचना प्रविधि कोभिड–१९ बाट बाच्ने एक मात्र विधि लकडाउनको पूर्ण कार्यान्वयन रहेको वतर्मान समयमा मानिसहरुले हरेक काम एकान्तबासबाटै गरिरहेका छन् ।

मानिस जस्तो सामाजिक प्राणीलाई एकान्तबासमा बस्ने कुरा सबैभन्दा अप्ठ्यारो काम हो । तर, सूचना प्रविधिको प्रयोगले मानिस भौतिक रुपमा एकान्तबासमा भए पनि सामाजिक दूरी भने नजिक बनाएको छ । विभिन्न सामाजिक सञ्जालमा समय बिताउने सँगै विभिन्न कम्पनी, वेबसाइटहरुले निःशुल्क सुविधा दिएका अनलाइन तालिम, कक्षाबाट रुचीअनुसार युवाहरुले ज्ञान र सीप हासिल गरिरहेका छन् ।

(लेखक सूचना र सञ्चार प्रविधि समाज, नेपाल (एसआईसिटी, नेपाल)का उपाध्यक्ष हुन् ।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.