धुर्मुस-सुन्तलीको नमूना बस्तीमा मृत्यु पर्खँदै फूलोदेवी !
महोत्तरी : महोत्तरीको बर्दिबास—१४ स्थित एकीकृत नमूना मुसहर बस्तीकी फूलोदेवी मुसहर उपचार अभावमा मृत्यु कुरेर बस्न बाध्य छिन् ।
श्रीमान रामवृक्षसँग उपचार गराउने पैसा नभएपछि उनी चार महिनादेखि घरमै थाला परेकी छन् । ज्याला मजदुरी गर्दै जीवन चलाउने रामवृक्षको परिवारलाई हातमुख जोड्न नै कठिन छ ।
‘खाना खाँदैन मात्र दुध खान्छिन् । बन्दीले दुध किनेर खुवाउने पैसा पनि हातमा छैन,’ पति रामवृक्षले भने ।
तीन वर्षअघि धुर्मुस सुन्तलीले चन्दा उठाएर रामवृक्ष सहित ५५ मुसहरलाई नमुना घर बनाएर एकीकृत नमुना मुसहर बस्ती हस्तान्तरण गरेका थिए । सम्पत्तिको नाममा ५ धुर जग्गा र एउटा घर छ ।
यही नमुना बस्तीको निलो जस्तापताले टलक्क टल्केको घर नम्बर १६ भित्र उनले उपचार अभावमा मृत्यु कुरेर बस्नु परेको छ । ‘कोही भगवान भए मेरी फूलोलाई बचाइदिनुस् । शरीर भरी घाउ छ । सधैं धोएर सफा गर्छु, चम्चाले दुध खुवाउँछु । उनको अवस्था हेरेर मन रुन्छ । के गर्ने उनलाई उपचार गर्ने रुपैयाँ छैन । शरीर बिक्री हुन्थ्यो भने त्यो पनि बेचिदिन्थेँ,’ रामवृक्षले रुँदै भने ।
रामवृक्षका अनुसार फूलोदेवीलाई चार महिनाअघि टाउको दुखेर चक्कर आएको थियो ।
त्यसपछि उनको बोली नै बन्द भयो । दुई लाख ऋण गरेर जनकपुरसम्म उपचार गर्न लगियो । गाउँलेले चन्दा पनि दिएका थिए । तर, त्यो खर्चले पनि उपचार खर्च पुगेन । फेरि जनकपुरबाट घर ल्याएपछि सुताइनु बाहेक कुनै विकल्प नभएको सुनाउँछन् रामवृक्ष ।