गोठाले नाटक घरका गोठालो
काठमाडौं : मोरङका घिमिरे युवराजको सानैदेखिको सपना नायक बन्नु थियो। थारू गाउँमा बाँसमा स्पिकर घन्काएको रहर मानेर सुन्थे। एसएलसी सकाएर २०५३ सालमा उनी उच्च शिक्षाका लागि काठमाडौं उक्लिए। नायक बन्ने ढङढङ्गी छँदै थियो। आज उनी नायक बनेको छन् तर पर्दाको होइन, रंगमञ्चको।
नाटकमा अभिनय गर्नु चलचित्रमा अभिनय गर्नुभन्दा गाह्रो काम हो। त्यसैले उनी आफ्नो सानोदेखि नायक बन्ने सपना भिन्न ढंगले पूरा भएकोमा जीवनदेखि सन्तुष्ट छन्। विगत डेढ दशकदेखि शैली थिएटरमार्फत उनले देश विदेशमा अभिनय र निर्देशन कौशल देखाइरहेका छन्। डेढ दशक रंगमञ्चमा होमिएपछि उनलाई आफ्नै नाटक घरको सपनाले डो¥यायो। यसको पनि उपकथा छ।
घिमिरे युवराजले राष्ट्रिय नाचघरमा शैली थिएटरको नाटक फेस्टिबलका लागि हल भाडामा लिएका थिए। नाटक गर्दागर्दै बेलुकी ५ बज्यो। लोडसेडिङ भएपछि उनले त्यहाँका प्राविधिक धुइँपत्ताल खोजे। तर ब्युरोक्रेसी हाबी भएको नाचघरका बेलुकी ५ बजेपछि भएको जेनेरेटर चलाउन कोही तयार भएन। अन्तत: उनको टोलीले मैनबत्तीको मधुरो प्रकाशमा भए पनि नाटकको बाँकी भाग पूरा ग¥यो। यही इगोले आफ्नै नाटक घरको सपना देख्न उनलाई बाध्य पा¥यो।
२०६७÷२०६८ मा दुई वर्ष नाटकको प्रशिक्षण लिएर फर्केपछि घिमिरे युवराज नाटक घर निर्माणमै व्यस्त भए। बत्तीसपुतलीको होटल द्वारिकाको पश्चिमपट्टि पेट्रोल पम्प नजिकैको घरसँगै युवराजको गोठाले नाटक घर (शिल्पी थिएटर) २०७० सालमा तयार भयो। एक रोपनी एक आना जग्गा १५ वर्षका लागि भाडामा लिएर नाटक घर बनाइएको छ। नाटक घरको नक्सा निर्माण रवीन्द्र पुरीले नि:शुल्क गरिदिएका थिए।
शिल्पीका त उनी सूत्राधार भइ नै हाले तर तर खास गरी दुई दर्जनभन्दा बढी नाटकमा युवराजको प्रत्यक्ष संलग्नता छ। उनको मन छोएको नाटक जर्ज बर्नाड शाको द एप्पल कोर्ट तथा दहितान ढेंकी हो।
रंगमञ्चमा गुरुकुल मार्गदशक सुनील पोखरेल नथा निशा शर्माको जोडी आदर्श जोडी मानिन्छ। घिमिरे युवराजको जोडीको अवस्था के छ त ? उनकी धर्मपत्नी लुना भट्टराई एक्सन एड संस्थामा विकासे कार्यकर्ता थिइन्। अहिले स्वतन्त्र छिन्। नाटक उनलाई मन पर्छ तर युवराजको जस्तो नाटककै सपना जपना उनको छैन। युवराजले २०६४ साल वैशाख ११ गते शिल्पी नाटक समूह बनाएका थिए। यसले १४ वसन्त पार गरेको छ। यस बीचमा शिल्पीले सयौं नाटकरूपी सन्तान जन्माइसक्यो। तर वैवाहिक जीवनमा बाँधिएको १३ वर्षमा टेक्दासमेत यी जोडीको सन्तान बनाउने तर्फ ध्याउन्न छैन।
रंगमञ्चका पात्र वास्तविक जीवनमा पनि हाइफाई देखिँदैनन्। घिमिरे युवराजको जिन्दगीमा पनि हाइफाई छैन। साधारण जिन्दगी नै उनलाई प्रिय छ। सानोमा गाउँमा हलो जोतेको, गाईबस्तुको गोठालो भएको याद युवराजको मनमस्तिष्कमा चलचित्रको रिलझैं अझै पनि फनफनी घुम्छ।
हिन्दी कवि पासले भनेका छन्, ‘सवसे खतरनाक होता है, हमारे सपनोँका मर जाना।’ युवराज रंगमञ्चमा सपना देख्छन् र यथार्थमा पूरा गर्छन्। उनको ठम्याइँ छ, नेपालीमा माटोका सानिध्यता बढी छ। हाम्रो पहाड, अनि हिमाल परसम्म देखिन्छ। त्यसैले हाम्रो सपनाको लम्बाइ पनि परसम्म हुन्छ। तर अधिकांश देशमा हिमाल पहाड छैन। उनीहरूसँग सपना पनि छैन।
गोठाले नाटक घरका यी गोठाले घिमिरे युवराजको गोठाले लठ्ठीको उचाइ दिनप्रतिदिन बढ्दैछ। लकडाउन अघि ‘कल्पना र उर्मिला दु:खमा छन्’ सडक नाटक उनले नेपालका ४२ ठाउँमा देखाए। नाटक प्रशिक्षणमा व्यस्त रहे। लकडाउनमा उनी सिनेमा हेरिरहेका छन्। केही कथा पनि लेखे। लकडाउनपछि गर्ने कार्यक्रमका तानबाना बुनिरहेका छन् उनी अहिले। लकडाउन खुलेलगत्तै अमेरिकी लेखक मार्टिन क्रिम्पको ‘द सिटी’ नाटक मञ्चन गर्ने तयारीमा छन् उनी।