धादिङ प्रवेशमा कडाइ, फलफूल तरकारी ढुवानीमा प्रतिबन्ध

धादिङ प्रवेशमा कडाइ, फलफूल तरकारी ढुवानीमा प्रतिबन्ध

धादिङ : देशभित्रै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनानुदिन बढ्दै जान थालेपछि धादिङ भित्रिने सबै नाकामा कडाइ गरिएको छ। शनिबारबाट धादिङ जिल्ला भित्रिनै सबै नाकामा प्रहरी परिचालन गरी पैदलयात्रु तथा सवारी साधन भित्रिन कडाइ गरिएको हो।

व्यवसायीहरूले बाहिरी जिल्लाबाट धादिङ जिल्लामा भित्रिने फलफूल र तरकारीमा पनि पूर्ण प्रतिबन्ध लगाएका छन्। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा शुक्रबार धादिङबेसीमा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौं, चितवन, मकवानपुर, गोरखा र नुवाकोट जिल्लाबाट धादिङ प्रवेश गर्ने नाकामा मानिसको प्रवेशलाई रोक्ने र अत्यावश्यक बाहेक अन्य सवारी साधन चल्न नदिने निर्णय गरेको हो।

संकट व्यवस्थापन केन्द्रको बैठकले संघीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्दै काठमाडौंबाट धादिङ प्रवेश गर्ने पीपलमोड, भीमढुंगाको नर्सरी भन्ज्याङका साथै चितवनबाट धादिङ प्रवेश गर्ने मौवाखोला, मकवानपुरबाट प्रवेश गर्ने दामेचौर नाकाबाट अत्यावश्यक सेवाका बाहेक कुनै पनि सवारी साधन तथा मानिसको आवागमनलाई पूर्णत निषेध गर्ने निर्णय गरेको हो। यसैगरी गोरखाबाट धादिङ प्रवेश गर्ने बुङकोटघाट, घाटबेसी, आरुघाटका साथै नुवाकोट जिल्लाबाट धादिङ प्रवेश गर्ने कोल्पुटारको नाकामा पनि निर्णय कडाईका साथ लागू गरिने धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए।

तामाङले भने, ‘जिल्ला प्रवेश गर्ने सबै नाकामा प्रहरी परिचालन गरेर सवारी तथा पैदल भित्रिन कडाइ गरिएको छ, पृथ्वी राजमार्गको मलेखु फुर्केखोलाबाट बाहिरी जिल्लाबाट आएकालाई सदरमुकामतर्फ भित्रिन नदिन पनि कडाइ गरिएको छ।’ गत सातादेखि बाहिरी जिल्लाबाट घर आउने तथा विकास निर्माणका लागि मजदुरहरू ल्याउने बहानामा अनुमति माग्नेको संख्या बढ्न थालेको थियो। तराईका जिल्लाहरूमा कोराना संक्रमित बढेसँगै जिल्लामा पनि कोराना भित्रिन सक्ने सम्भावित जोखिम रहेकाले अहिले घोषणा गरिएको लकडाउन अवधिभर बाहिरी जिल्लाबाट आएका जोकोहीलाई पनि जिल्लामा प्रवेशमा रोक लगाउनु पर्ने अवस्था सिर्जना भएको प्रशासनले जनाएको छ।

समितिले नयाँ सवारी पास वितरणमा पनि रोक लगाएको छ भने पास नभएका सवारीसाधन सञ्चालनमा ल्याइए तत्काल प्रहरीले नियन्त्रणमा लिइ संक्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम कारबाही गर्ने निर्णय गरेको छ। ‘हालसम्म हामीले २ सय ६ वटा ई–पाससहित जिल्लाभर ३ सय ५४ वटा सवारी पास जारी गरेका छौं’, प्रजिअ तामाङले भने, ‘सवारी पास भन्दाबाहेक अरू सवारी साधन चलाउन पूर्णरुपमा निषेध गरेका छौं।’ खाद्यान्न, औषधि लगायतका दैनिक अत्यावश्यक पसल बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय बैठकले गरेको छ।

फलफूल र तरकारी प्रतिबन्ध

धादिङ उद्योग वाणिज्य संघको संयोजनमा जिल्लाका पेशागत क्षेत्रका व्यवसायीका प्रतिनिधिहरूको संयुक्त बैठकले अन्य जिल्लाबाट फलफूल र तरकारी ल्याउन प्रतिबन्ध लगाएको छ। कोरोना भाइरसको रोकथामका बलियो आधार लकडाउन भएको ठहरसहित नेपाल सरकारले जेष्ठ ५ गतेसम्म लकडाउनलाई लम्ब्याएपछि संघको संयोजनमा विभिन्न व्यावसायिक संघ संगठनहरूले जेष्ठ ५ गतेसम्मका लागि फलफूल र तरकारी ल्याउन प्रतिबन्ध लगाएको हो। धादिङबेसी सदरमुकाममा अहिले केराबाहेक कुनै फलफूल पाइँदैन। तरकारी तथा फलफूलको हकमा बैठकले बाह्य जिल्लाबाट ल्याउन नपाउने पूर्ण प्रतिबन्ध लगाइने निर्णय गरेको संघका अध्यक्ष रुद्रबहादुर खत्रीले बताए।

फोटो ः सदरमुकामको बजार क्षेत्रमा प्रवेश गर्नेहरूको चेकजाँचका लागि राखिएको हेल्थ डेस्क र चेक प्वाइन्ट। फोटो÷अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.