बाटो खनेपछि राहत
गुल्मी : मालिका गाउँपालिका गुल्मीले कोरोना लक्षित राहत वितरणमा नयाँ मापदण्ड बनाएको छ । यसअघि खाद्यान्न र तरकारी राहतको रुपमा दिँदै आएको गाउँपालिकाले अव भने राहतलाई विकास निर्माणसँग जोडेको छ । सडक खनेपछि मात्र गाउँका विपन्न नागरीकहरुलाई राहत दिइने गाउँपालिका अध्यक्ष रितबहादुर थापाले जानकारी दिए ।
गैर विपन्न नागरीकलेसमेत राहत माग गरेपछि श्रमसँग जोड्न थालिएको उनको भनाइ छ । घरमै बसीबसी राहत माग्ने काम शोभनीय नभएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सुरुमा दिएजस्तै खाद्यान्न र तरकारी राहतको रुपमा दिने छ तर काम गरेपछि मात्र । गाउँपालिकाले प्रति परिवार तीन दिन काम गर्नुपर्ने मापदण्ड बनाएको छ । त्यसबापत ३० किलो चामल, तीन किलो दाल, एक लिटर तेल र एक किलो नुन विपन्न नागरिकहरुले पाउने छन् । यसले राहतमा दुरुपयोग नहुनेसमेत अध्यक्ष थापाले आशा व्यक्त गरेका छन् । कतिपय स्थानीयले राहत नपाएपछि जनप्रतिनिधिसँग झगडा गर्नेजस्ता गतिविधिसमेत गरेको उनको भनाइ छ । राहत पाउनका लागि गाउँपालिकाभरि रहेका दुई हजार सात सय ३५ जना विकास निर्माणका काममा जुटेका छन् ।
राहत वितरणलाई विकास निर्माणसँग जोडिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताएका छन् । उनका अनुसार पहिलो चरणमा अति विपन्न ६९० जना घरपरिवार र दोस्रो चरणमा दुई हजार ४५ जना गरी कुल दुई हजार सात सय ३५ जनाले वडा वडामा विकास निर्माणका काममा सलंग्न भएका छन् । राहत पाउने सूचिमा परेका तर अपांगता र जेष्ठ नागरिकहरुलाई भने काममा लगाउने निर्णय नभएको भण्डारीको भनाइ छ । लकडाउनको अवधि बढ्दै गएपछि विपन्न नागरीकहरुको घरमा चुल्हो बल्नसमेत धौधौ पर्न थालेको गुनासो आएपछि गाउँपालिकाले यस्तो निर्णय गरेको जनाएको छ ।
राहत पाउने सूचिमा परेका नागरीकहरु उत्साहित भएर काम गर्न जाने गरेका छन् । नक्कली विपन्न बनेर आउनेहरुलाई यसले रोकेको छ । उनीहरु काम गर्न जाने गरेका छैनन् । गाउँपालिकाको आर्थिक भारलाई कम गर्न र बास्तविक पीडितहरुको घरमा राहत लैजान यस कार्यक्रमले विशेष योगदान पुर्याएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीको भनाइ छ । काम पाएपछि घरखर्च चलाउन धेरै सजिलो हुँदै गएको पीडितहरुले प्रतिक्रिया दिन थालेका छन् ।
गाउँपालिकामा रहेका सयौँ नागरिकक यसबाट प्रत्यक्ष लाभांवित भएका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा निर्माणधीन अवस्थामा रहेका विभिन्न योजनाहरु विशेषगरी जनसहभागिता गर्ने खालका काममा नागरिकहरुलाई लगाउने गरेको छ । राहतको मात्र आशा नगरी जनसहभागितामुलक काममा जुट्न गाउँपालिकाले सबैलाई आग्रह गरेको छ ।