अमेरिकन आइडल : लक्की सेभेन दिवेश
काठमाडौं : युवा गायक दिवेश पोखरेल (आर्थर गन) लक्की सेभेन सावित भएका छन्। अमेरिकन आइडलको शीर्ष सातमा उक्लिएपछि उनले अझै फड्को मार्ने देखिएको छ।
आइतबार ‘इन्टरनेसनल मदर्स दे’ को अवसरमा दिवेशले आमाको ममता झल्काउने बोन आइभरको निकै चर्चित गीत ‘हे, मा’ गाएका थिए। यस पटकको उनको प्रस्तुतिमा उनीसँगै उनका आमा र बुवा पनि सहभागी थिए।
अमेरिकन आइडलको अडिसनदेखि नै आर्थरले निर्णायकको अत्यधिक तारिफ पाउँदै आएका छन्। शीर्ष सातमा आइपुग्दासम्म उनको तारिफको क्रम जारी छ। निर्णायकमध्येका एक लुक ब्रायनले उनले असाध्यै राम्रो प्रस्तुति दिएको भन्दै प्रतिक्रिया दिएका छन्। त्यस्तै अर्का निर्णायक लियोनेल रिचीले पनि उनको प्रशंसा गर्दै भने, ‘तिमीले खासमा फोनबुक पनि गाउन सक्छौ। मैले यसो भनेर तिम्रो प्रशंसा गरिरहेको छु। सबैभन्दा महत्वपूर्ण कुरा के हो भने, तिमीले जे सुकै गाउ, त्यो आर्थर गन नै सुनिन्छ। र, सबैले आफ्नो करियरमा खोज्ने भनेकै यही हो। यो यात्रामा रमाऊ मेरो साथी, तिम्रो यो यात्रा उत्कृष्ट हुनेछ।’
उता अर्की निर्णायक केटी पेरीले ठट्ट्यौली पारामा भनिन्, ‘आर्थर, मैले आफूसँग सानो तीनकुने टिस्यु तयार पारेर राखेकी छु। किनभने आमाको लागि डेडिकेट गरिएको यो कार्यक्रममा म जतिबेला पनि टुट्न सक्छु।’ उनले आर्थरको तारिफ गर्दै अगाडि भनिन्, ‘तिमीले कति राम्रोसँग गायौ। तिमी आफू एक व्यावसायिक संगीतकर्मी हौ भनेर प्रमाणित गरिरहेको छौ। वाउ।’
दिवेशले अमेरिकन आइडलको आफ्नो यात्रालाई ठूलो अवसर बताउँदै यसलाई आफूले बुढ्यौलीसम्म पनि नबिर्सने बताएका छन्। यसका साथै उनले ‘डिज्नी नाइट’ का लागि ‘किस द गर्ल’ समेत गाए। यसमा पनि उनले दर्शक तथा निर्णायक मण्डलको अत्यधिक प्रशंसा पाए।
फिनालेमा दिवेसलाई पुर्याउन भोटिङ लाइन खुल्ला गरिएको छ। उनलाई भोट गर्न १६ लेखेर २१५२३ मा मेसेज पठाउन सकिनेछ। अथवा अमेरिकन आइडलको अफिसियल साइटमा गएर पनि भोट गर्न सकिनेछ। त्यस्तै, अमेरिकन आइडलको एपमार्फत पनि भोट गर्न सकिनेछ।
२१ वर्षे युवा गायक दिवेश पोखरेलले सुरुआतको चरणमा आफूलाई अर्थर गनको रूपमा चिनाएका थिए। उनलाई टप फाइभको दाबेदारका रूपमा हेरिएको छ। टप टेनमा पर्दा दिवेशले संसारभरबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भइरहेको उल्लेख गरेका थिए। ‘यो ठाउँमा उभिनु र तपाईंहरूको कानसम्म पुग्नु मेरो सपनाभन्दा बाहिरको कुरा थियो’, उनले फेसबुकमा पोस्ट गर्दै उल्लेख गरेका थिए, ‘मैले गल्लीहरूमा धेरै उत्कृष्ट संगीतकार, गायक देखेँ, थोरै कानहरूसहितका खाली हलहरू देखेँ। अहिले तपाईंहरूका लागि गाउन पाउँदा र मेरो आवाज तपाईंसम्म पुर्याउन पाउँदा आफूलाई भाग्यमानी सम्झेको छु।’
गत फागुनको पहिलो हप्ता भएको अमेरिकन आइडलमा अडिसनबाट छनोटसँगै उनको चर्चा एकाएक चुलिएको थियो। दिवेश सन् २०१४ मा उच्च अध्ययनका लागि काठमाडौंबाट अमेरिका पाइला टेकेका थिए। संगीतमा समर्पित भएर लागेको दुई वर्ष मात्रै भयो। काठमाडौंको एस कलेज इन्स्टिच्युटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि उनी अमेरिका गएका थिए। जारी अमेरिकन आइडलमा दिवेशको फ्यान फलोइङ उच्च छ।
यसअघि दिवेशले हलिउड राउन्डमा १९६८ मा अमेरिकन गायक ओटिस रेडिङको सुपर हिट गीत ‘हार्ड टु ह्यान्डिल’, क्रिडेन्स क्लियरवाटर रिभाइभ्ड ब्यान्डको ‘ह्याभ यु एभर सिन द रेन’, बब डिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’ गीत पनि प्रस्तुत गरिसकेका छन्।