ड्युटीमा रहेका प्रहरीको हत्या
सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी चौकी आग्रीगाउँ देउली डाँडामा कार्यरत प्रहरी जवान नरेन्द्र खड्काको रहस्यमय हत्या भएको छ । सोमबार राती ड्यूटीमा बसेका उनको नजिकैको जंगलमा रहस्यमय हत्या भएको हो । उनको हत्या वा आत्महत्या हो ? भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ । तर आत्महत्या हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।
राती ड्यूटी बसेका मृतक खड्काको शव प्रहरी चौकीदेखि डेढ किलोमिटर टाढा जंगलमा फेला परेको हो । कञ्चटमा गोली लागि मृत अवस्थामा फेला परेका प्रहरी जवान खड्काको रहस्यमय हत्या भएको धेरैको अनुमान छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सुर्खेतको चिंगाड गाउँपालिका तत्कालिन रानीवास गाविस-५ घर भएका जवान खड्का पेस्तोलसहित राती ड्यूटी बसेका थिए ।
हतियारसहित ड्यूटी बसेका उनी कतिखेर फरार भए भन्नेबारे एकिन छैन । 'उनको ड्यूटी राती २ बजेदेखि बिहान ६ बजेसम्म रहेछ । तर उनी कतिखेर कहाँ गए भन्नेबारे तत्काल प्रहरी चौकीलाई थाहा भएन,' जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर गोपाल रायमाझीले भने, 'पछि हेर्दा उनी ड्यूटीमा नभएपछि खोजी गर्दा प्रहरी चौकीदेखि डेढ किलोमिटर टाढा जंगलमा उनको मृत अवस्थामा भेटिए।'
घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी उपरीक्षक दिल्लीराज पन्त, प्रहरी अनुसन्धान अधिकृत भरत शाहसहितको टोली घटनास्थल गएर अनुसन्धान गरिरहेको रायमाझीले जानकारी दिए । उक्त प्रहरी चौकी सिम्ता गाउँपालिका-३ मा पर्दछ ।