नेपाली चेलीलाई बेलायतको राजपरिवारबाट सम्मान
लण्डन : बेलायतस्थित नेपाली युवती कञ्चन अमात्य बेलायतको राजपरिवारबाट प्रतिष्ठित सम्मान पाएकी छन् ।
बेलायत राजपरिवारले आम नागरिकलाई प्रशंसनीय मानवीय कर्म तथा सामाजिक गतिविधि गरेवापत दिने ‘द लिगेसी अवार्ड‘ कञ्चनलाई दिएको हो । युके, क्यानडा, मलेसिया, नाइजेरिया, तान्जानिया र भारतका अन्य १९ विभिन्न देशका नागरिकले पनि कञ्चनसँगै यो सम्मान पाएका छन् ।
राजकुमार विलियम लगायत राजपरिवारका सदस्यले उनीहरुलाई अवार्ड हस्तान्तरण गरेका थिए । अमात्य सहित २० जनाको कामबाट आफ्नो समुदायको लागि सेवा गर्न युवा पुस्तालाई प्रेरणा मिलेको भन्दै प्रशंसा गरिएको छ । कञ्चन यसअघि डियाना अवार्डबाट पनि सम्मानित भएकी थिइन् ।
बेलायतको राजपरिवारबाट यस्तो अवार्ड पाउने कञ्चन पहिलो नेपाली महिला हुन् । कञ्चनकी आमा कृष्णा अमात्यले सम्मान ग्रहण गर्दै यसबाट गौरवान्वित भएको प्रतिक्रिया दिएकी थिइन् ।