रुपन्देहीका सात तहमा आवगमन बन्द
भैरहवा : भारतीय सीमासगँ जोडिएको रुपन्देहीका सात स्थानीय तहमा आवगमन बन्द गर्ने निर्णय गरिएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको जिल्ला सुरक्षा समिती र सीमा क्षेत्रका स्थानीय तहका अध्यक्षहरुको बैठकले यस्तो निर्णय गरेको हो।
जिल्लाको हुलाकी राजमार्ग देखि दक्षिण तर्फका स्थानीय तहका क्षेत्रहरुमा जेठ ५ गते सम्म आवगमन बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासान कार्यालय रुपन्देहीका सूचना अधिकृत जनक थापाले जानकारी दिए।
‘हुलाकी राजमार्ग देखि दक्षिण तर्फका सबै क्षेत्रहरुमा अब विना स्विकृती आवतजावत गर्न पाईदैन’ उनले अन्नपूर्णसगँ भने, ‘संक्रमणको नियन्त्रणका लागि अगामी बैठकहरुबाट थप रणनीति तय हुनेछ।’
हुलाकी राजमार्गदेखि दक्षिण तर्फ जिल्लाको रोहिणी गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, मायादेवी गाउँपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका पर्दछन्। यी सबै भारतसगँ जोडिएका स्थानीय तह हुन्।
रुपन्देहीमा पुष्टि भएका १६ जना सबै संक्रमित सीमावर्ती मर्चवार र लुम्बिनी क्षेत्रकै हुन्। सबै संक्रमित भारतबाट राति लुकेर मुलुकमा भित्रिएका हुन्। अझै भित्रिने क्रम जारी छ।
सीमावर्ती क्षेत्रमा संक्रमण देखिने थालेपछि संक्रमणलाई फैलिन नदिनका सीमावर्ती क्षेत्रमा आवतजावतमा रोक लगाइएको सूचना अधिकृत थापाले बताए।
यसका साथसाथै जिल्लामा रहेका सबै स्थानीय तहले एक हजार क्षमता बेडको क्वारेन्टाइन बनाउने, स्बाब संकलनलाई तिव्रता दिने, अपुग स्वास्थ्य साम्रगी माग गर्ने लगायत निर्णय भएको उनले सुनाए।